arrow

सुनसरीका मरिकलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ

logo
अजितकुमार झा 
प्रकाशित २०७४ कार्तिक १ बुधबार
bambo.jpg

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् । 

जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायले छठ आउन केही दिन बाँकी छँदा उनीहरुलाई बाँसको सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको स्थानीयवासी वीरेन्द्र मरिकले बताए। 

छठ नजिकिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अहिलेदेखि नै आफूहरु बाँसको सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् । गाउँगाउँबाट अहिले नै  १५० देखि २५० सम्ममा बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको स्थानीयवासी गीता मरिकको भनाइ छ । 

छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दनी गर्न नपाएका मरिकलाई यस पर्वको बेलामा राम्रो आम्दानीको अवसर समेत भएकाले उनीहरु व्यस्त हुने गरेका छन् । 

राम्रो आन्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको सामग्री अरु बेला कमैमात्र बिक्री हुने गरेको भएपनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयको भनाइ छ । 

छठपर्व मनाउने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले यतिबेलादेखि नै सामग्री बनाउन मरिक व्यस्त बनेका हुन् । छठमा बाँसका सामग्री पुर्याउनलाई आफूहरु महिना दिन अघिबाट नै काममा व्यस्त बनेको स्थानीयवासी भटाई मरिकले बताए । 

हरिनगरा र भुटहाबाट १५० देखि २५० सम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताए । 

यता भुटाहाका मरिकजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिक समेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ । यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको मांग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा भएपनि चित्त बुझाउन बाध्य भएका छन् । 

उनीहरुले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री नभइ त्यसको विकल्प वा व्यवसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ