arrow

पर्वतमा  निर्वाचनको तयारी तीव्र 

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
parbat_district_map.png

फलेवास  । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् । 

आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ । उता प्रहरीले म्यादी प्रहरी छनोट कार्य शुरु गरेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि एक हजार ३०० भन्दा बढीले आवेदन समेत दिएका छन् भने अहिले छनोट कार्य शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालय, पर्वतले यतिवेला मतदानस्थलको व्यवस्थापनका लागि तयारी गरेको छ । आगामी निर्वाचनमा पनि पर्वतमा ७४ वटै मतदानस्थल राखिने तयारी भइरहेको छ । स्थानीय तहको निर्वाचनमा पनि जिल्लाका सातवटै तहमा गरी ७४ वटा मतदानस्थल तोकिएको थियो । 

राजनीतिक दलले उम्मेदवारको नामावली टुंगो लगाएर केन्द्रमा पठाइसकेका छन् भने मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि गाउँ अभियान सञ्चालन गर्ने तयारी समेत गरेका छन् । त्यस्तै, मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकिएको छ । 

पर्वत जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गरिएको छ भने यही कात्तिक ९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । मतदाता शिक्षा कार्यक्रम भने यही कात्तिक २१ गतेदेखि जिल्लाका ६१ वटै वडामा सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। 

पर्वतमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या एकलाख सात हजार ३०० कायम भएको छ । स्थानीय तहको चुनावमा ९९ हजार ६०० जना मतदाता रहेकोमा अहिलेको चुनावमा झण्डै आठ हजार बढी मतदाता कायम भएका हुन् । 

प्रत्येक मतदानस्थलमा एकहजार मतदाता रहने गरी तयारी गरिएको छ र पछिल्लो पटक थपिएका मतदाताका कारण केही स्थलमा एक हजारभन्दा बढी हुने भएकाले त्यसैमा व्यवस्थापन गर्ने वा केही संख्या थप गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । 

स्थानीय तहको जस्तो छुट्टाछुट्टै मतदान अधिकृतको कार्यालय नभई जिल्ला अदालतमै मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहीँबाट सबै व्यवस्थापन गरिने समेत उनले जानकारी दिए । 

आगामी निर्वाचनको सबै मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । मतदाता शिक्षा सामग्रीसमेत आइनसकेको अवस्थामा तिहारपछि सबैजसो तयारीमा जुट्ने भएका छन् । उता सुरक्षा निकायले पनि निर्वाचन केन्द्रित सुरक्षा योजनामा जुटेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ