arrow

उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा दलहरु,काँग्रेसले आजै टुंगो लगाइसक्ने

logo
भीष्मराज ओझा 
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
congress-flag.jpg

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् । 

आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि दलहरुले आजै उम्मेदवार चयन गरिसक्ने गरी गृहकार्यमा जुटेको जनाएका छन् । 

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । 

पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले यही कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिसकेको छ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ । 

नेपाली काँग्रेसले आजै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । केही दिनदेखि निरन्तर बस्दै आएको काँग्रेस केन्द्रीय संसदीय समितिको बैठकले सबै उम्मेदवारको नाम टुंगो लगाउने नेता एनपी साउदले जानकारी दिए । काँग्रेसले यसअघि केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाई सार्वजनिकसमेत गरिसकेको छ । 

भोलि कात्तिक ४ गते भाइटीका भएकाले दलहरु आजै उम्मेदवार टुंगो लगाउने गरी कसरतमा जुटेका हुन् । मुलुकमा यतिखेर प्रमुख सत्तारुढ दल काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी दल नेकपा (एमाले)को नेतृत्वमा वाम गठबन्धन बनाउने कसरतमा अन्य दलसहित गृहकार्य र बहस शुरु भएको छ । यसपटक दलहरुबीच भएका चुनावी गठबन्धनका कारण अन्य दललाई पनि मिलाउनुपर्ने भएकाले उम्मेदवार चयन गर्न सकस भएको हो । 

एमालेले पनि शीघ्र उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवारको टुंगो लगाउने गरी सो पार्टीको नेतृत्वमा गठन भएको वाम गठबन्धनअन्तर्गत एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठक जारी रहेको र सम्भवतः आजै उम्मेदवार टुंगो लगाउने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ । 

त्यसैगरी संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) लगायत दल पनि उम्मेदवार चयन गर्न व्यस्त छन् । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरुले यसअघि असोज २७ गते नै आ–आफ्नो पार्टीको बन्दसूचीको नामावली आयोगमा बुझाइसकेका छन् । 

निर्वाचनको तयारीका लागि आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका आवश्यक व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए । आयोगले समानुपातिक निर्वाचनका लागि आजसम्म एक करोड मतपत्र छापिसकेको जनाएको छ । साथै अन्य निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पुर्याउने, निर्वाचन सचेतना कार्यक्रम जनस्तरसम्म लैजाने, निर्वाचन अधिकृत नियुक्त गर्नेलगायत सम्पूर्ण तयारी भएको आयोगले जनाएको छ । 

संविधानको नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ वटा स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ