arrow

म्याग्दीका लिडरका रुपमा उदाएका गर्वुजा प्रतिनिधि सभाका लागि चुनावी मैदानमा

logo
राकेश शर्मा,
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
khambir-garbuja-myagdi-congress.jpg

म्याग्दी। प्रसँग १: वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदानअघि काँग्रेस केन्द्रीय कार्यालयबाट खम्बीर गर्बुजालाई फोनमा एउटै प्रश्न सोधिन्थ्यो, कति तहमा जितिन्छ ? गुर्बजाले निर्धक्क भन्थे, ‘यसपटक हामी जिल्लामा पहिलो शक्ति हुन्छौँ, ६ मध्ये चार तह हाम्रो पोल्टामा आउंछ ।’

गर्बुजाको बराबर यहि उत्तरले सानेपामा तरंग फैलिन्थ्यो । त्यसको एउटै कारण थियो, ०६४ र ०७० सालको पराजय । मतदानको ठिक एकदिन अघि गर्बुजाले केन्द्रीय कार्यालयमा टिपाएको रिर्पोटको आधारमा कार्यालय सचिबले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवाले हेरेपछि उनले स्वकिय सचिबलाई तत्काल फोन हान्न लगाए । गर्बुजाले जित सुनिश्चित भएको भन्दै बेनीनगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकाको नामै टिपाइदिए । नभन्दै म्याग्दी काँग्रेसले चार स्थानीय तहमा शानदार जित निकाल्दै लामो समयको निराशालाई उत्साहमा बदल्यो । ७५ जिल्लाध्ये कम्जोर संगठन भएकै जिल्लामा शानदार नतिजा पाएपछि सभापति देउवाले गर्बुजालाई फोनमै भनेका थिए, ‘गुड लक, यु आर दि लिडर’..

प्रसँग २: राज्यपुर्नसंरचनाको चरणमा म्याग्दीमा कति स्थानीय तह बनाउने बहस उत्कर्षमा थियो । दलहरुले फरक–फरक धारणा बनाए, छलफल गरे । अन्ततः ६ स्थानीय तह बनाउने र त्यसको केन्द्र समेत तोक्यो । तर, रघुगंगा गाउँपालिकाको केन्द्रको विवाद मौवाफाँट की पाखापानी भन्ने बिवाद त्यतिबेलो देखि नै सुरु भयो । दलहरुले दुबैलाई केन्द्रमा पठाए र पाखापानी केन्द्र बनेपछि मौवाफाँट क्षेत्र आन्दोलनमा उत्रियो । भलै, मौवाफाँट तोकिएको भएपनि पाखापानी क्षेत्र चुप लागेर बस्ने थिएन । पिप्ले, भगवति, बेगखोलाबासीले निर्वाचन बहिस्कार गर्नुपर्छ नागरिक भेलाबाटै निर्णय गरे । त्यसलाई सदर गर्न निर्वाचनभन्दा केहि दिनअघि मात्रै बसेको सर्बदलीय वैठकमा काँग्रेस सभापति खम्बीर गर्बुजाले निर्वाचनको विकल्प नभएको भन्दै जसरी पनि निर्वाचनमा जाने भन्दै उठेर हिडे । वैठक निस्कर्षबिहीन भयो । 

गाउँपालिका केन्द्रका विषयमा काँग्रेस र सभापति गुर्बजाले घात गरेको भन्दै रघुगंगामा काँग्रेस बिरुद्ध एमाले नेतृत्वमा माओबादी र राप्रपा गरि तीन दलीय मोर्चा बन्यो । तर, निर्वाचन काँग्रेसले दुईतिहाई बढी मत पायो र गर्बुजाले भने जस्तै बहुसंख्यक जनतालाई पायक पर्ने गरि स्याथी रुपमा पाखापानी केन्द्रलाई मौवाफाँट सार्ने निर्णय गर्‍यो ।.. 

प्रसंग ३: विवाद र मोर्चाबन्दीका बीच रघुगंगाको अस्याथी केन्द्र पाखापानीमा मनोनयन दर्ताको समय भयो । पूर्वतयारी बमोजिम एमाले–माओबादी र राप्रपा गठबन्धनबाट खिमबहादुर शाही नेतृत्वमा मनोनयन दर्ताको समय भएपनि काँग्रेस र त्यो मोर्चाबीच अन्तिम छलफल भयो । त्यतिबेलासम्म काँग्रेसबाट गाउँपालिकाको उम्मेद्वार को भन्ने विषय गुपचुप थियो । छलफल अघि बढेपछि विपक्षी मोर्चाले बजार हल्ला जस्तो सभापति खमबीर गर्बुजा नै गाउँपालिका प्रमुख हुने भए आफुहरुको उम्मेदवार फिर्ता गर्ने सहमति जनाए तर, गर्बुजाले भब बहादुर भण्डारीलाई अघि सारे र सहमति अन्तै मोडियो । 

मनोनयनकै दिन अर्को घटना भयो, रघुगंगा ४ दग्नाममा वडाअध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध भए । त्यो वडा फेरि गर्बुजाकै गाउँ थियो । पार्टी उच्च तहका नेताले आफ्नो वडामा चाहेको सदस्य समेत जिताउन नसकेको सन्दर्भमा गर्बुजाले आफ्नो वडामा काँग्रेसका उम्मेद्वारहरुलाई निर्विरोध बनाएपछि उनको राजनीतिक प्रभाव त्यतिबेला सतहमा आयो ।..

यी तीन प्रसंगका पात्र गर्बुजा, २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा एमालेका नवराज शर्मासँग करिब ३५ सय मतले पराजित भएका हुन् । उनी त्यतिबेला पार्टी उपसभापति थिए । अधिवेशनपछि काँग्रेसको नेतृत्वमा उदाएका सभापति गर्बुजाले छोटो समयमै आफ्नो पार्टीलाई जिल्लामा पहिलो शक्ति मात्र बनाएनन् केन्द्रीय राजनीतिमा म्याग्दीलाई सशक्त बनाउँदै लगे । त्यसैको प्रभाव गर्बुजा मंसिर १० गते सम्पन्न हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधीसभा सदस्यका लागि जिल्लाबाट सर्वसम्मत सिफारिश भए । 

‘जिल्लाको समस्या, चुनौती र कसरी विकास गर्न सकिन्छ ? भन्ने बारे मैले राम्रोसँग बुझेको छु’, गर्बुजा भन्छन्, ‘यसपटकको निर्वाचनमा जनताले मलाई विजय गराउनेछन् ।’ गर्बुजाले आफ्नो नेता देउवाबाट पाएको ‘लिडर’ को उपाधी जोगाउन सक्लान् ? यसको छिनोफानो भने लगनको महिना मंसिरमै हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ