arrow

'ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ'

logo
काठमाडौं ।
प्रकाशित २०७२ भदौ १३ आइतबार

प्रधानमन्त्री सुशील कोइरालाले डा. गोविन्द केसीलाई 'ज्यान सबैभन्दा ठूलो हो' भनेर सम्झाइदिन चिकित्साशस्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीलाई सुझाव दिएका छन्। नागरिक दैनिकमा दीपक दाहाल लेख्छन् -प्रधानमन्त्री निवासअघि धर्ना दिन र ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीमध्ये तीन जनालाई भित्र बोलाएर प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्। प्लेकार्ड बोकेर चर्का नारा लगाइरहेका विद्यार्थीलाई सुरक्षाकर्मीमार्फत भित्र बोलाएका प्रधानमन्त्रीले सरकारले पहिलेभन्दा धेरै काम गरिसकेको दाबी गरेका थिए। सुरुमै भेट्न गएका मध्ये रेजिडेन्ट चिकित्सक डा. नर्मल लामिछानेले डा. केसीको अनशन छ  दिनमा चलिरहेको र यसपटक अघिल्ला पटकभन्दा स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका थिए। 'काम हुँदैछ, उहाँलाई सम्झाइदिनुस्, सबैभन्दा ठूलो कुरा ज्यान हो,' प्रधानमन्त्रीले विद्यार्थीहरुलाई भनेको भेटमा सहभागी अर्का विद्यार्थी सुमन आचार्यले बताए।

लामिछानेले प्रधानमन्त्रीलाई डा. केसीको भनाइ उद्धृत गर्दै सुनाए, 'सरले त तीन करोड नेपालीको ज्यानका लागि मेरो ज्यान केही होइन भन्नुभएको छ। त्यसो भन्दा प्रधानमन्त्री मौन बसेका थिए। त्यसलगत्तै अर्का विद्यार्थी आचार्यले माथेमा प्रतिवेदन कार्यान्वयनबारे कुरा गर्दै मुटु, कलेजो र गिदी निकालेर हड्डीसहितको मान्छेजस्तै मात्रै कार्यान्वयन भएको जवाफ दिएका थिए। विद्यार्थीहरुले माथेमा कार्यदल कोइराला नेतृत्वको सरकारले नै बनाएको र सोही कार्यदलको सिफारिस कार्यान्वयनमा अपांग बनाइएको बताएपछि कोइरालाले कार्यदलका सदस्यलाई आफूले शुक्रबारै भेटिसकेको जवाफ दिएका थिए। विद्यार्थीहरुले डा. केसीको माग माथेमा रिपोर्ट मात्र नभएको र अन्य मागसमेत उत्तिकै महŒवपूर्ण रहेको भन्दै सातौंपटक अनशन बस्न नपर्ने गरी सबै माग पूरा गरिदिन आग्रह गरेका थिए। 'काम हुँदैछ, हुन्छ, फेरि पनि ज्यान ठूलो हो, उहाँलाई पनि सम्झाइदिनुस्,' प्रधानमन्त्रीले विद्यार्थीलाई सम्झाउने भाषामा भने। यसअघि, शुक्रबार भेटका लागि पुगेको माथेमा कार्यदलका सदस्यसँग कोइरालाले कार्यदलका सुझाव अपांग बनाएर कार्ययोजना बनाइएकोबारे आश्चर्य व्यक्त गरेका थिए।

'कसरी कहाँबाट त्यस्तो भएछ, भन्दै उहाँले आश्चर्य व्यक्त, गर्नुभएको थियो,' संयोजक माथेमाले प्रधानमन्त्रीसँगको भेटबारे उल्लेख गर्दै भने। माथेमाले त्यस क्रममा आफूले कार्ययोजनामा नपरेका बुँदासहित ध्यानाकर्षण पत्रसमेत दिएको भन्दै यसलाई छलफल गरेर खबर गर्ने बताएको जानकारी दिए। 'उहाँले हामीसँग डा. केसीबारे पनि चिन्ता जाहेर गर्नुभएको थियो,' माथेमाले भने।

प्रधानमन्त्री कोइरालाले चिकित्सा शिक्षासम्बन्धी कार्यदल र आइओएमका विद्यार्थी भेटेर कार्यदलको प्रतिवेदन कार्यान्वयन भइरहेको बताएयता सरकारी टोली वार्ता र छलफलका लागि पुगेको छैन। डा. केसीले यसपटक सम्झौता भन्दा कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका छन्। कोइराला प्रधानमन्त्री हुँदा डा. केसी अनशनमै थिए। त्यतिबेला कोइरालाले सम्पूर्ण माग पूरा गर्ने प्रतिबद्धता गरे पनि पटकपटक उनी प्रतिबद्धताबाट 'ब्याक' हुँदै आएका छन्। चौथो अनशनको सम्झौता क्रममै नीति नबन्दासम्म रोकेको सम्बन्धन बीचमै खोलेपछि केसी पाँचांैपटक अनशन बसेका थिए। पाँचौं अनशनमा माथेमा कार्यदलको रिपोर्ट कार्यान्वयन प्रतिबद्धता गरे पनि पूरा नगरेपछि केसीले छैटौं अनशन सुरु गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ