arrow

एमाले नेतृत्वको सरकार बन्ने अवस्था आए ओली प्रधानमन्त्री बन्ने

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
exPM_oli.jpg

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेपालमा दुई वा तीन भन्दा बढी दलहरु आवश्यक नरहेकोले आफूहरुले वामपन्थी गठबन्धन बनाएको स्पष्ट पारेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले जति धेरै दल भयो त्यति नै बढी राजनीतिक अस्थिरता हुने भएकोले आफूहरु राजनीतिक धु्रवीकरण तर्फ लागेको बताएका छन् । 

पोखरेलले एमाले नेतृत्वको सरकार बन्ने अवसर आए त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्ने समेत स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टीले नेतृत्व लिने अवसर आयो भने ओलीजीले नै गर्नुहुन्छ ।’ त्यस्तै उनले ५ नम्बर प्रदेशको राजधानी दाङलाई नै बनाउनुपर्ने बताए । उनले भने, ‘दाङ भुगोल र ऐतिहासिकताको हिसावले पनि उपर्युक्त हो, यद्धपी यसबारेमा प्रदेश सभाले निर्णय गर्छ ।’

उनले अब जनतामा काँग्रेसको नेतृत्वमा आर्थिक समृद्धिको यात्रा गर्ने कि एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनको नेतृत्वमा अघि बढ्ने भन्ने दुई विकल्प बाँकी रहेको बताए । उनले भने, ‘हामी विचार मिल्नेहरु एक ठाउँमा आएका छौं, यद्धपी अहिले नै पार्टी एकताको तहमा भने पुगिसकेको छैन् ।’पोखरेलले वाम गठबन्धनबाट आँत्तिएर काँग्रेसले पनि गठबन्धन बनाउने प्रयास गरेपनि उसको गठबन्धन नीतिमा आधारित नभएको आरोप लगाए । उनले थपे, ‘हाम्रा बीचमा भएको गठबन्धन त नीतिमा आधारित छ, विचारमा आधारित छ, सिद्धान्तमा आधारित छ, वैज्ञानिक छ ।’

उनले वाम गठबन्धनबाट कांग्रेसका शीर्ष नेताहरुमा समेत हलचल भएको बताए । नेता पोखरेलले भने, ‘वामपन्थी मिल्दा कांग्रेसका शीर्ष नेताहरुमा अहिले हलचल पैदा भएको छ ।’ उनले कांग्रेस शीर्ष नेताहरुमा चुनाव हार्ने चिन्ताको हलचल समेत पैदा भएको आरोप लगाए । यद्धपी उनले आफूहरुको गठबन्धनले कांग्रेसलाई निषेध गर्ने खालको नभएको बरु स्वस्थ प्रतिष्पर्धा गरेर नै अघि बढ्ने रहेको सुनाए । 

उनले चुनावी तालमेलमा उम्मेद्धवारी दिँदा एमाले र माओवादी केन्द्रवीच खासै विवाद र असन्तुष्टि नदेखिएको भन्दै यसलाई आफूहरुले ठूलो उपलब्धिको रुपमा लिएको सुनाए । उनले भने, ‘सहजै रुपमा आफ्ना पँक्तीहरुलाई कन्भिन्स गरेर जाने कुरा जो देखियो, यो ठूलो उपलब्धि हो, ३२ वटा जिल्लामा एकाध ठाउँमा विवाद देखिनु सामान्य कुरा हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ