arrow

जर्मन राजदूत भन्छन् – शान्तिप्रक्रिया सफल, नेपालले संसारलाई सुनाउनुपर्छ

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
german-ambassador-roland.jpg

काठमाडौं । नेपालका लागि नवनियुक्त जर्मन राजदूत रोलान्ड सेफरले नेपालको शान्तिप्रक्रिया सफल रहेको भन्दै यसको सफलताबारे संसारलाई जानकारी गराउनुपर्ने बताएका छन् । 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत सेफरले मंगलबार कूटनीतिक मामिला हेर्ने पत्रकारसँगको अन्तक्र्रियामा यस्तो बताएका हुन् । 

नेपालले सफल शान्तिप्रक्रिया प्रस्तुत गरेर विश्वसामु नेपालको सकारात्मक छवि निर्माण गर्न जर्मनीले सहयोगी भूमिका निर्वाह गर्नेसमेत उनले बताए ।

‘नेपालको शान्तिप्रक्रियाको महत्वपूर्ण पाटो सम्पन्न भएको छ । कुनै वेला हतियार उठाएको समूह राजनीतिक शक्तिका रूपमा लोकतान्त्रिक पद्धतिमा पूर्ण रूपमा सहभागी भएको उदाहरणलाई आफैँमा अत्यन्त सकारात्मक मान्नुपर्छ,’ राजदूत सेफरले सुनाए, ‘शान्तिप्रक्रियाको यो सफल पाटोका बारेमा नेपालले संसारलाई भन्नुपर्छ । यसले विश्वमा नेपालको छवि परिवर्तन हुनेछ र यसमार्फत अन्तर्राष्ट्रिय लगानी भित्राउने ढोका खुल्नेछ ।’

उनले शान्तिप्रक्रिया मात्र नभएर नेपालले राजनीतिक प्रक्रिया नै सफलतापूर्वक सम्पन्न गरेको व्याख्या गरे । राजतन्त्रबाट गणतन्त्रमा मुलुक प्रवेश गर्नुलाई उनले ठूलो राजनीतिक सफलताका रूपमा व्याख्या गरे । जर्मनी नेपालको सफल शान्तिप्रक्रियाको सहयोगी भएको भन्दै उनले सन्तोष व्यक्त गरे ।

शान्तिप्रक्रियाको सफल पाटो विश्वलाई सुनाउने कार्यमा जर्मनीले सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । कोलम्बिया र नेपालको शान्तिप्रक्रियाको अनुभव आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा जर्मनीले भूमिका निर्वाह गर्ने राजदूत सेफरले बताए । 

जर्मनीले पनि एक्काइसौँ शताब्दीको सुरुवातमा देशको एकीकरण गरेको र लोकतन्त्र संस्थागत गरेर यहाँसम्म आइपुगेको उनको भनाइ थियो ।

राजदूत सेफरले नेपालको शान्तिप्रक्रिया सम्पन्न गर्न संवादकर्ताको भूमिकामा जर्मनीले भूमिका निर्वाह गर्ने र जर्मनीबाट लगानी भिœयाउन प्रयत्न गर्ने पनि बताए । 

त्यसबाहेक जनस्तरको सम्बन्ध विस्तारमा पनि आफ्नो भूमिका रहने उनको भनाइ थियो । ‘जर्मनीमा नेपालका बारेमा गृहयुद्ध, भूकम्प, राजनीतिक अस्थिरताको तस्बिर अझै छ, यो धारणामा परिवर्तन ल्याउन शान्तिप्रक्रियाबारे भन्नैपर्छ,’ उनले सुनाए ।

द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिने काम बाँकी रहेको र यो क्रमिक रूपमा अघि बढ्ने उनको विश्वास थियो । ‘यो एक–दुई हप्तामा सम्पन्न हुँदैन, समय लाग्छ,’ राजदूत सेफरले भने, ‘यो जारी प्रक्रिया हो । चार वर्ष लाग्न सक्छ, चिन्ता गर्नुपर्ने अवस्था म देख्दिनँ ।’

‘धर्मान्तरणमा सामेल छैनौँ’
राजदूत सेफरले जर्मनी तथा युरोपियन युनियन नेपालमा धर्मान्तरणमा संलग्न नभएको जिकिर गरे । उनले केही समूहले त्यस्तो कार्य गरेको र यो क्रिस्चियानिटीको समेत अहितमा रहेको उल्लेख गरे ।

 ‘त्यस्ता मानिसहरू क्रिस्चियन होइनन्, केही समूहले धर्मान्तरणको काम गरिरहेका छन्, हामी यसमा सहमत छैनौँ,’ उनले भने । जर्मनीले एनजिओलाई होइन, सरकारलाई सहयोग गर्ने उनको भनाइ थियो । 

‘हामी मानवअधिकार, लोकतन्त्रका मूल्य–मान्यतालाई समर्थन र उत्प्रेरित गर्छौँ, समावेशीकरणलाई सकारात्मक अवधारणाका रूपमा अघि सारेका छौँ, घुसपैठ गर्ने हिसाबले होइन,’ उनले भने । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ