arrow

नेताकै छोरीको विवाह रोकियो, मध्यरातमै जन्ती फर्के, कारण ?

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
Child-marriage.jpeg

सिराहा । बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। 

जन्ती पनि आइसकेका थिए। जब ‘निकाह’ सुरु हुन लाग्यो अनि त्यहाँ पुग्यो प्रहरीको टोली। बेहुलीको उमेर नपुगेका कारण विवाह रोक्न लगायो। हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने ‘स्वयंबर’लाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ।

 सोमबार राति सिरहाको लहान नगरपालिका ६ मा यस्तै भएको हो। स्थानीय सबिला खातुन विवाह गर्न सजिएकी थिइन्। सबिलालाई लिनका लागि भारत मधुवनी जिल्ला पदमा ग्रामबाट मो आशिफ एकवाल जन्ती लिएर आइ पुगेका थिए। 

तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

डिएसपी सुवेदी भन्छन् – ‘बाल विवाह हुन लागेको मलाई सूचना आयो, त्यसपछि विवाहस्थल पुगेर बेहुला र बेहुली पक्षलाई विवाह नगर्न आग्रह गरे, उनीहरुबीच विवाह नगर्ने कुरामा सहमत भयो, त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो।’

बेहुलाले दर्जनौं गाडीमा करिब ३ सय जति जन्ती लिएका आएका थिए – उनले भने। डिएसपी सुवेदीका अनुसार बेहुली बन्न लागेकी सबिला मदरसामा पढ्छिन्। 

उनको उमेर १४ बर्ष हो। बेहुला एकवालको उमेर अन्दाजी २९÷३० बर्षको थियो। उनले भने – ‘केटा र केटीको उमेरमा पनि धेरै अन्तर छ, तरपनि कसरी विवाह गर्न सहमत भएका थिए दुबै पक्ष।’ दुबै पक्षको कुरा सुन्दा चेतनाको अभाव देखिएको उनको भनाइ छ।

विवाह नभएपनि बेहुला पक्षको खर्च भने करिब १० लाखभन्दा माथि भएको स्थानीय बताउँछन्। जन्तीको खाना, विवाहका सामान, घरमा सजाबट र दहेज लगायतमा करिब १० लाखभन्दा बढी खर्च भएको स्थानीयको अनुमान छ। 

तर सबिलाका बुवा मो। ताहिरले करिब २ लाख मात्र खर्च भएको बताएका छन्। उनका अनुसार जन्तीलाई खुवाउन र सजाबट मात्र भएको भयो। विवाहका सामानहरु बर्बाद भएको छ।

सबिलाकी आमा अमिना खातुन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ हुन्। उनी स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाका लागि राप्रपा पार्टीबाट उपमेयरकी उम्मेदवार बनेकी थिइन्। 

तर पराजित भइन्। सबिलाका बुवा मो ताहिर पनि दोस्रो संविधानसभाका चुनावमा सिरहा क्षेत्र नम्बर १ बाट नेपाल लोकतान्त्रिक पार्टीबाट सांसदका उम्मेवार बनेका थिए। उनी जग्गा कारोबार पनि गर्छन्।

मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुबैको उमेर अनिवार्य २० बर्ष पुगिसकेको हुनुपर्ने उल्लेख गरिएको छ। 

पहिले अभिभावकको सहमतिमा १८ बर्षमा विवाह गर्न पाउने कानूनी व्यवस्था थियो। २० बर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी)लाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ