arrow

राजधानीबाट पढाएको पाठ पर्वतका तीन सामुदायिक विद्यालयमा, यसरी भयो संभव

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
community-school.jpeg

फलेवास । एक दशक अघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । 
गाउँ गाउँमा इन्टरनेटको विस्तारसंगै भर्चुअल क्लासबाट अब भने अध्ययन अध्यापनमा परिवर्तन आएको छ । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थाहा पाउन र थप ज्ञान आर्जन गर्न सक्ने भएका छन् । विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले प्रविधिमैत्री कक्षा शुरु गरेसँगै पर्वतमा पनि यस्तो सुविधा भएको हो । 

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् । मन्त्रालयले गत शैक्षिक सत्रदेखि पर्वतका तीन विद्यालयमा 'भर्चुअल' कक्षा सञ्चालन गरेको हो । जिल्लाको मोदी गाउँपालिका ५ स्थित सरस्वती मावि, भुकताङलेस्थित नवज्योति मावि र फलेवास नगरपालिकाको शंकरपोखरीस्थित जनसहयोगी माविमा भर्चुअल क्लास सञ्चालन भइरहेको छ । 

यी विद्यालयमा अहिले केन्द्रका शिक्षकले पढाएको प्रत्यक्ष विद्यार्थीले हेर्न र सुन्न मिल्ने गरी कक्षाको व्यवस्थापन गरेर कक्षा सञ्चालन गरिएको हो । सानो ठिमीस्थित केन्द्रीय कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाइएको हो । ती विद्यालयमा टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरिएको छ । प्रत्यक्षरूपमा टेलिभिजन सेटबाट कक्षा शुरु भएपछि विद्यार्थी समेत उत्साहित भएका छन् । 

गत शैक्षिक सत्रदेखि सञ्चालनमा आएको भर्चुअल क्लासमा टेलिभिजन सेटसहितका उपकरण जडान गरेर अध्यापन गराइँदै आएको र यस माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीले धेरै ज्ञान हासिल गर्न सफल भएको विद्यालयका सम्बद्ध प्रधानाध्यापकले जनाएका छन् । 

जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापाले माविस्तरका शिक्षकको व्यवस्था हुननसकेका विद्यालयमा भर्चुअल क्लास उपयोगी बनेको बताए। उनले शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थी त्यत्तिकै बस्न नपर्ने भन्दै यस्तो सिकाइ उपयोगी हुनेमा जोड दिए । प्रधानाध्यापक थापाले यसलाई थप प्रभावकारी बनाउन प्रविधिक ज्ञानको लागि स्रोत केन्द्रमार्फत शिक्षकलाई तालीम दिन लागिएको जानकारी दिए । 

सानो ठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन शुरु गर्छन् । कक्षा शुरु हुनुअघि नै विद्यार्थी भर्चुअल क्लासमा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् । काठमाडौंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् । 

यसरी पुरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । काठमाडौंमा शिक्षकले पढाएको पाठ, विद्यालयको टेलिभिजनमा हेर्न पाउने भएपछि विद्यार्थीसमेत उत्साहित भई कक्षामा सहभागी हुने गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलले बताए । 

विद्यालयका अनुसार अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयका कक्षा इन्टरनेटमार्फत सञ्चालन हुन लागेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।  रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ