arrow

सी चिन फिङको नयाँ विचारधाराले कस्तो बनाउला चीन ?

logo
अजय अलौकिक,
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
xi-jinping.jpg

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनप्रतिको चासो चीन र चिनियाँ जनतालाई मात्रै नभएर समग्र विश्वलाई छ । हुन त अहिले चीनले चाल्ने जुनसुकै कदम र प्रसङ्ग सम्बन्धमा विश्वले ध्यान दिनुका साथै विभिन्न टीकाटिप्पणी पनि हुँदै आएको छ । त्यस माथि चीन अहिले विश्व अर्थतन्त्रको दोस्रो शक्तिशाली मुलुक अनि विश्व भूमण्डलीकरणको बाटो पछ्याउँदै शुरू गरिएको बेल्ट एण्ड रोड ईनिसिएटिभको माध्यमबाट नयाँ विश्व निर्माणमा चीनको भूमिका रहेकाले पनि विश्वभरी यस महाधिवेशनप्रति चासो हुनु स्वभाविकै हो।

यसै एक हप्ते लामो १९ औँ महाधिवेशन १८ औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय, १८ औँ केन्द्रीय अनुशासन निरीक्षण समितिको कार्य प्रतिवेदन सम्बन्धी निर्णय र "चिनियाँ कम्युनिष्ट पार्टीको विधान(संशोधित प्रस्ताव)" सम्बन्धी निर्णय पारित गरी अक्टुबर २४, मंगलबार पैचिङमा सम्पन्न भएको छ।

साथै बुधबार चिनियाँ कम्युनिष्ट पार्टी १९औं केन्द्रीय समितिको राजनैतिक ब्यूरोका नयाँ सदस्यहरू सार्वजनिक भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा सि चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु नीङ, चाउ ल चि, हान चङलाई केन्द्रीय समितिको राजनैतिक ब्यूरोका स्थायी सदस्यको रूपमा निर्वाचित गरिएको छ।

यसै महाधिवेशनले पार्टी महासचिव सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई पार्टीको विधानमा लेखिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले सी चिन फिङको उक्त प्रतिवेदन पारित गर्नुका साथै प्रतिवेदनलाई चिनियाँ कम्युनिष्ट पार्टी र सम्पूर्ण चिनियाँहरुको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणा पत्र तथा कार्यपत्र निर्देशिका र मार्क्सवाद तथा लेनिनवाद, माउ चतोङ विचारधारा, तङ श्याउ फिङ सिद्धान्त, तीनवटा प्रतिनिधित्व भन्ने महत्वपूर्ण विचारधारा र बैज्ञानिक विकास धारणासँगै मिलेर चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशिका दस्ताबेज भएको ठहर गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवशेनदेखि नै नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा बन्दैआएको थियो र १९‌औं महाधिवशेनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा चीन राष्ट्रको पुन:उत्थानलाई सफल बनाउने निर्देशिका भएको दावीसहित सार्वजनिक गरेका हुन् ।

नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारासँगै नयाँ दृष्टिकोणबाट कम्युनिष्ट पार्टीको शासन गर्ने विधान,समाजवादको निर्माणको विधान,मानव समाजको विकासको विधानलाई गहन पारेको छ। यस विचारधारामा सन् २०२०सम्ममा चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने आधारमा यस शताब्दीको मध्यकालमा चीनलाई सबल,प्रजातान्त्रिक,सभ्य,मेलमिलाप तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउनुपर्ने कुरा प्रस्तुत गरिएको छ।

१९ औँ महाधिवेशनले चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा चीन प्रवेश गरेको कुरालाई निश्चित गरेपछि देशको भावी विकास दिशाका लागि पहिलो पल्ट "आधुनिकीकरण आर्थिक प्रणालीको निर्माण" गर्ने लक्ष्य स्पष्टसँग प्रस्तुत गरेको छ । आपूर्ति व्यवस्था चुस्त पार्ने, सिर्जनशील देशको निर्माणमा तीव्रता दिने, ग्रामीण क्षेत्रको पुन:उत्थान रणनीति अपनाउने, क्षेत्रीय समन्वयात्मक विकास रणनीति लागु गर्ने, समाजवादी बजारमूलक आर्थिक व्यवस्थालाई पूर्णता दिलाउने र चौतर्फी रुपमा खुला हुने नयाँ प्रारुपको निर्माणलाई अघि बढाउने यी ६ वटा विषयबारे त्यस लक्ष्यमा जोड दिइएको छ।

महासचिव सीले प्रस्तुत गरेको प्रतिवेदनमा चीनले निकट भविष्यमा सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने, जनताको अझ उच्च भौतिक तथा सांस्कृतिक स्तर बनाउने मागका साथै प्रजातन्त्र, कानुनी शासन, समानता, न्याय, सुरक्षा र वातावरण आदि क्षेत्रमा अझ बढी ध्यान दिने कुरा समेटिएको छ । चीनमा अहिले रहेका महत्वपूर्ण समस्यामा असन्तुलित र अपूर्ण विकास र यसबाट जनताको आवश्यक्तालाई पूरा गर्न चुनौती थपेको प्रतिवेदनमा उल्लेख छ । चीन दीर्घकालीन समाजवादी बाटोको आरम्भ चरणमा रहेकोले आधारभूत राष्ट्रिय परिस्थिति र विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको अन्तर्राष्ट्रिय स्थानमा परिवर्तन नहुने पनि महासचिव सीले प्रतिवेदनमा औँल्याएका छन् ।

यसै महाधिवेशनमा नयाँ केन्द्रीय समिति तथा केन्द्रीय अनुशासन अनुगमन आयोग निर्वाचित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको विधानका अनुसार,चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन तथा यसबाट निर्वाचित केन्द्रीय समिति चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वदायी संस्था हो। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय समितिले महाधिवेशनको निर्णय प्रस्तावको कार्यान्वयन गर्छ भने चिनियाँ कम्युनिष्ट पार्टीको सम्पूर्ण कार्यको नेतृत्व गर्छ। केन्द्रीय अनुशासन अनुगमन आयोग चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन सम्बन्धी सर्वोच्च संस्था हो।

सी चिन फिङ लगायत २०४ जना केन्द्रीय सदस्य,१७२ जना वैकल्पिक सदस्य र १३३ जना केन्द्रीय अनुशासन अनुगमन आयोगमा निर्वाचित भएका छन्। सी चिन फिङ पुन महासचिवको पदमा निर्वाचित भएका छन् र कम्तिमा अर्को पाँच वर्ष चीनलाई हाँक्ने अधिकार पाएका छन्। पाँच वर्षको सीको नेतृत्वमा चीनमा सुधार र विकास नयाँ चरणमा प्रवेश गरेको थियो। गरिबी निवारण तथा भ्रष्टाचार न्यूनीकरण गर्दै चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराबाट समृद्ध समाज र रमणीय चीनको निर्माणमा अग्रसर हुने नै छ।

विश्व अर्थतन्त्र धरायशी भएका बेला चीनको अर्थतन्त्रले खेलेको महत्वपूर्ण भूमिकाको विश्व साक्षी नै थियो यस महाधिवेशनमा प्रस्तुत प्रतिवेदनबाट आधुनिकीकरण आर्थिक प्रणालीको निर्माणबाट चीनको अर्थतन्त्र स्थिर र दिगो रूपमा अघि बढ्ने स्पष्ट देखिन्छ। १९औं महाधिवेशनले चीनको भावी विकासका लागि गुरु-योजनाको तर्जुमा गरेको मात्र नभई योजनामा रहेका लक्ष्यहरूलाई साकार तुल्याउनका लागि वास्तविक कदम पनि चालेको छ। प्रतिवेदनले दुईवटा शताब्दी लक्ष्य, २०२०सम्म चीनलाई औसत समृद्ध मुलुक बनाउने र जनवादी गणतन्त्रको स्थापनाको शतवार्षिकी मनाउन २०४८ सम्ममा चीनको पुनरोदय गर्ने लक्ष्य लिएको छ।

चीन अझ समृद्ध र सम्पन्न हुने नै छ साथै विश्वका विभिन्न मुलुक पनि यसबाट लाभान्वित हुने छन्। यस महाधिवेशनमा प्रस्तुत गरिएका रणनीतिहरू र गुरु-योजनाहरू तथा लक्ष्यहरूलाई साकार तुल्याउने प्रयास र कदम अरु देशका लागि विकास पहिल्याउने उदाहरण बन्नसक्छन्।

अलौकिक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङमा विदेशी विशेषज्ञको रुपमा कार्यरत छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ