arrow

एमाले बिम्बः मनाङेले हक पायो, एमालेले हैसियत गुमायो 

logo
बाबु नेपाली
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
depak_manange.jpg

काठमाडौं । नेकपा एमालेले आफूलाई सबैभन्दा ठूलो राष्ट्रबादी पार्टी भन्छ । उसका नेताहरुको आदर्शका कुरा सुन्दा लाग्छ एमाले बाहेक कुनै पनि दल छैन जसले यो देशलाई माया गर्छ । अर्कातर्फ लाग्छ यही राष्ट्रभक्तिभित्र सबै किसिमका मानिसहरु अटेका छन् । त्यसैले त दीपक मनाङे एमालेबाट उम्मेदवार बनेका छन् । दीपक मनाङे अर्थात् गुण्डा नाइके । उनलाई दिएको उपनाम कर्णप्रिय नभए पनि उनले एमालेको बींडो थाप्छन् । उनी एमालेका बिम्ब हुन् ।
गुण्डा नाइके बन्न सजिलो छैन । सेकेन्ड सेकेन्डमा ज्यान जोखिममा पर्छ । गुण्डाबाटै खतरा, आफ्नाबाटै खतरा, विपक्षीबाटै खतरा अनि सुरक्षाकर्मीबाटै खतरा । यस्तो खतराबीच मनाङेले कुन परिस्थितिमा एमालेका नेताहरुलाई जोगाए होलान् । 

अरुलाई जोगाउन आफू जोगिनुपर्छ । हरपल खतरा मोलेर मनाङेले एमालेका नेताहरु जोगाएका छन् । त्यसैले त मनाङेले यसपटक एमालेको कोटाबाट टिकट पाएका छन् । आफ्नो हक जमाएका छन् । लामो समय पार्टीलाई दिएको योगदानको कदर भएको छ । त्यसैले त मनाङेले एमालेबाट हक पाएको छ । बाहिरबाट हेर्दा राजनीतिक बेइमानी होला । तर राजनीतिक सम्मान भने अवश्य हो । 

फरक यत्ति छ कि नेपाली राजनीति नराम्रोसंग पराजित भएको छ । नेपाली राजनीतिको संस्कार छताछुल्ल भएको छ । भ्रष्टाचारीले निश्चित सजाय पाएपछि उम्मेदवार बन्न पाउनु पर्ने भनी राखिएको प्रस्तावले ठूलै कोकोहोलो मच्यायो । तर यहाँ प्रत्यक्ष भ्रष्टाचारीलाई नै संरक्षण गर्ने र गुण्डागिरीबाटै ठेक्कापट्टा हत्याउने, सुसासन लत्याउने र समाजलाई त्रसित बनाउने व्यक्ति उम्मेदवार हुँदा एमाले नेताहरुको शीर उच्चो हुनु पर्ने ? 

बोलीको भरमा दंग पार्ने, बोलीकै भरमा राष्ट्रवादको नारा लगाउने, नाकाबन्दी लाग्दा नेपालीलाई नै कष्ट दिने अनि त्यसको मौका पारेर आयल निगमबाट सहुलियतमा तेल संगसंगै साल्ट ट्रेडिङबाट अनधिकृत तरिकाले एसटीसी ग्याँसको डिपो कार्यकर्तालाई बाँड्ने एमालेको चरित्र छताछुल्ल हुन बाँकी छ र ? 
केपी ओली प्रधानमन्त्री भएका बेलामा हामी छिमेकीसंग झुक्दैनौं भनेर उर्लने अनि कुटनीतिक पहल गर्न हैसियत भने नराख्ने प्रवृत्तिले के मुलुकको दीर्घकालीन समाधान गर्न सक्यो ? 

गुण्डागिरी प्रवृत्तिले राजनीति गर्दै आएको एमालेको हैसियत कहिल्यै माथि उठ्ला ? चिल्ला कुरा गरेर दंग पार्दैमा मुलुकको विकास सम्भव छ ? आफूलाई मुलुक सम्हाल्ने पार्टी भएको दावी गर्न के यही तरिकाले सुहाउला ? तसर्थ, यहाँ एमालेले आफ्नो हैसियत देखाएको छ ।

मनाङेको उम्मेदवारीले एमालेको भित्री कुरो अझ बढी खुलेको छ । सीधै उम्मेदवार बनाउँदा विरोध हुन्छ भन्ने डरले स्वतन्त्र उम्मेदवारी दिन लगाउने अनि आफ्नो आधिकारिक उम्मेदवारलाई खाण्डा लामालाई उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाउने केपी ओलीको असली चरित्र पनि राजनीतिक वृत्तमा देखिनु भोलिका दिनका लागि गम्भीर विषय हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ