arrow

धेरै हेपिन परेपछि पुनर्वासबासीले भारतीय आलु किन्न छाडे, बने आत्मनिर्भर

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
aalu_kheti.jpg

पुनर्वास । भण्डारण र बजारको चुनौती हुदाँहुदै  पहिलो पटक सामुहिक आलुको व्यावसायिक खेती सुरु गरि पुनर्वासका कृषकहरुले आर्थिक समृद्धिको विकल्पका रुपमा उदाहरणीय पहल सुरु गरेका छन्। सधैंभरी भारतीय उत्पादनमा भरपर्दा भारतले पनि सानातिना विषयमा पनि समस्या सिर्जना गरार्इरहन थालेपछि  पुनर्वास ६ का किसानहरुले सामूहिक रुपमा आफूलार्इ आवश्यक तरकारीहरु आफैं उत्पादन गर्न थालेका हुन् । यहाँ जागृती कृषक समुहमा आबद्ध भएका ३७ जना किसानले पुनर्वासमा पहिलो पटक सामुहिक आलु खेतीको सुरुवात गरेका हुन ।

समूहकै सदस्यको १० कठ्ठा जमिन भाडामा लिर्इ आलु खेतीमा होमिएका पुनर्वासका कृषकहरुले आर्थिक उपार्जनका लागि आलु बालीलाई छनौट गरेका छन् । १० क्विन्टल बीउ लगाई सुरु गरिएको आलु खेती आत्मनिर्भरताको भर पर्दो माध्यम हुने कृषकहरुको ठम्याई रहेको छ । आलु बालीका लागि आबश्यक श्रम आफैले गर्ने निधो गरेका पुनर्वासी कृषकहरुको यो सामुहिक पहल सबैका लागि सिकाई हुने कृषकहरु बताउँछन् ।

जिल्ला कृषि कार्यालय अन्तर्गतको कृषि सेवा केन्द्र त्रिभुवनबस्तीको सहयोगमा सुरु गरिएको आलु खेती आम्दानीको श्रोत बनाउन सकिनेमा कृषकहरु ढुक्क देखिन्छन् । समुहको साधारण सभाले गरेको निर्णय अनुसार आर्थिक उपार्जनका लागि सामुहिक आलु खेती सुरु गरिएको जागृती कृषि समुहका सदस्य भरत बस्नेतले बताए । 

नेपालीले आफ्ना खेतीबारी बाँझै राखेर सीमा पारीका भारतीय कृषि फर्ममा उत्पादन भएको आलुको भरमा रहेका नेपाली उपभोक्तालाई आलुमा आत्मनिर्भर बनाउन सुरुआत गरिएको कृषक बस्नेतले बताए । बजार र लामो समय आलुलाई सुरक्षित भण्डारण गर्न आवश्यक पर्ने शितगृहको अभावमै सुरु गर्दा समस्या उत्पन्न हुने डरले पिरोल्ने गरेको सामुहिक खेतीमा संलग्न कृषकहरु बताउछन् । 

सरोकारवाला निकायले यस क्षेत्र वा पायक पर्ने स्थानमा शीत गृह निर्माणमा पहल भइदिए आलु खेतीले ब्यापकता पाउने कृषक बस्नेतले बताए । केरा, उखु, मौसमी तथा बेमौसमी तरकारी लगायतका बालीहरुको यस अघिदेखि नै व्यावसायिक खेती हुँदै आए पनि आलु खेतीको यो पुनर्वासमा पहिलो सामुहिक व्यावसायिक खेती भएको कृषकहरु बताउछन् । सधैं भारतीय आलुमा निर्भर पुनर्वासी उपभोक्ता अब न्यून मात्रामै भए पनि स्वदेशी उत्पादनको स्वाद चाख्न पाउने भएका छन् ।

यो पटकको उत्पादनले राम्रो बजार पाउन सके आगामी वर्ष उत्पादन वृद्धि गर्ने सोच बनाएको कृषकहरू बताउँछन् । कृषि जन्य उत्पादनमा स्वतस्फुर्त रुपमा लागेका कृषकहरुलाई प्रोत्साहन, अनुदान र शितगृह निर्माणमा सरकार र सरोकारवालाले पहल गरिदिए तरकारी उत्पादनमा पुनर्वास आत्मनिर्भर हुन बेर नलाग्ने कृषकहरुको ठम्याइ रहेको छ ।  

केरा, मौसमी तथा बेमौसमी तरकारी लगायत खाद्यान्न बालीको उत्पादनमा अब्बल रहेको यस क्षेत्रका कृषकहरुलाई प्रोत्साहन गर्न राज्य अग्रसर हुन सके मुलुककै अर्थतन्त्र दह्रो पारी तरकारी उत्पादनमा आत्मनिर्भर बन्न बेर नलाग्ने यहाँका कृषकहरु बताउछन् । भारतीय सीमान्त गाउँका यी कृषकहरुको यो पहल सबैले अनुशरण गर्न सके तरकारी उत्पादनमा आत्म निर्भर बन्न टेवा पुग्ने विज्ञहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ