arrow

सुन तस्करीसँगै यसरी सलबलाउँदै छन् आपराधिक समूह

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
88kg-gold.JPG

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । 

प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने कुमार अधिकारी र काभ्रे घर भई शंखमुल बस्ने टीकाबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । 

पेस्तोल बोकेर हिँडेको टोलीको उद्देश्य सुनेपछि पो प्रहरी झसंग भयो– उनीहरू नुवाकोटको कालिका वनमा बसेर रसुवाको केरुङ नाका हुँदै भित्रिएको तस्करीको सुन लुटने योजनामा थिए । 

प्रहरीका अनुसार सुन लुट्नकै लागि यो समूहले ललितपुरको ग्वार्कोबाट एक जनासँग ५० हजार रुपैयाँमा पेस्तोल किनेको थियो । प्रहरीले पेस्तोल बेच्नेलाई भने पक्राउ गरिसकेको छैन । 

प्रहरीका अनुसार यो समूहले पेस्तोल देखाएर आफूलाई प्रहरीका रूपमा प्रस्तुत गर्दै तस्करीमा भित्रिएको सुन लुट्ने योजना बनाएको थियो । 

तस्करीको सुन लुट्नकै लागि बन्दुक बोकेर हिँडेको यो न पहिलो समूह थियो, न अन्तिम नै । प्रहरीका अनुसार केरुङ नाका हुँदै निरन्तर सुन तस्करी हुने थालेपछि तस्करीको सुन लुट्ने योजनामा विभिन्न लुटेरा र आपराधिक समूह सक्रिय हुन थालेका देखिन्छन् । 

महानगरीय अपराध महाशाखाले २३ असोजमा पनि बन्दुकसहित यस्तै एक समूह पक्राउ गरेको थियो । म्हैपीबाट रिभल्वर र गोलीसहित काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङ पक्राउ परेका थिए । 

सिन्धुलीबाट रिभल्वर किनेर काठमाडौं आएको यो समूह पनि बन्दुक देखाएकै भरमा केरुङ नाका हुँदै काठमाडौं भित्रिने सुन लुट्ने योजनामा रसुवा जाँदै थियो । 

त्यसो त तस्करीको सुन ओसार्ने भरियाका रूपमा खटिएका रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामाको १६ असोजमा सुन लुकाएको आरोपमा हत्या नै भयो । 

दाहिनेपट्टि ढाडमा छुरा प्रहार गरी भएको हत्यामा सुन तस्करीको जिम्मा पाएका भरियाहरूकै संलग्नता रहेको खुलेको थियो ।

रसुवाको केरुङ नाका सुन तस्करीमा बारम्बार प्रयोग हुन थालेपछि त्यस्तो सुन लुट्ने आपराधिक समूह पनि सक्रिय देखिन थालेको छ । प्रहरी स्रोतका अनुसार सतहमा आएका यी दुई घटनाबाहेक बन्दुकसँग जोडिएका अन्य घटनामा पनि सुन तस्करीको कुनै न कुनै सम्बन्ध भेटिन सक्छ । 

रसुवाको चिलिमेका सचिव रहेको छेवाङ तामाङ भदौ १२ मा काठमाडौं आउँदै दिए । रसुवाबाट काठमाडौं आउँदै गर्दा गल्छीमा एउटा समूहले उनलाई रोक्यो र उनी सवार मोटरसाइकल लुट्यो । 

लुटिएको मोटरसाइकल केही घण्टामै तामाङले फेला पारे । बल्लतल्ल काठमाडौं हिँडेका तामाङ ढुंगेअड्डामा फेरि अर्को समूहको फन्दामा परे । 

उनको मोटरसाइकल फेरि लुटियो । लुटिएको मोटरसाइकलबारे कालिमाटी प्रहरी वृत्तमा उजुरी गर्न आएका तामाङको साधन दुई दिनपछि हलचोकको एउटा कुनामा बेबारिसे अवस्थामा फेला पर्‍यो । 

अनुसन्धानमा संलग्न प्रहरीले बारम्बार मोटरसाइकल लुटिएको यो घटनामा पनि तस्करीको सुन लुट्ने गिरोह संलग्न भएको आशंका गरेको थियो । अनुसन्धानमा तामाङले मोटरसाइकलमा तस्करीको सुन लिएर आएको भन्ने सूचनाका आधारमा गिरोह सक्रिय भएजस्तो देखियो । 

महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी संगठित तस्करीसँगसँगै जहिले पनि स–साना आपराधिक समूह सक्रिय हुने इतिहास रहेको बताउँछन् । 

सुन तस्करी बढेसँगै तस्करीको सुन लुट्न केही समूह सक्रिय रहेको घटनाक्रमले पनि देखाउँछ । लोहनीले भने, ‘अवैध तस्करी नियन्त्रण गर्न सकिएन भने यस्ता स–साना समूह सतहमा आउने खतरा सधैं रहन्छ ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ