arrow

वुद्धिजीवीको आँखामा चुनावी गठबन्धन

logo
प्रकाश सिलवाल 
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
gathabandhan.JPG

काठमाडौं । आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् । 

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनपछि नेपाली काँग्रेस र अन्य दलबाट लोकतान्त्रिक गठबन्धन बनेको हो । दुई गठबन्धनका कारण चुनावी प्रतिस्पर्धा पेचिलो हुनाका साथै रौनक पनि बढेको छ । 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले बहुमत ल्याएमा मुलुकमा अधिनायकवाद आउने वा लोकतन्त्र खतरामा पर्ने लोकतान्त्रिक गठबन्धनका नेताहरूले व्यक्त गरिरहेका छन् । तर बुद्धिजीवीहरूले अहिलेको समयमा नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउने सम्भावना नरहेको औल्याएका छन् । राजनीतिशास्त्रका प्राध्यापक डा लोकराज बरालले भने, "विकसित मुलुकमा पनि यस्ता गठबन्धन हुन्छन्, कतिपय मुलुकमा निर्वाचनपछि पनि हुने गरेका छन् । दलहरू एक्ला एक्लै लड्दा वर्चस्व गुम्ने खतराका कारण गठबन्धन बनाएका हुन् । यसलाई स्वभाविकरूपमा लिनुपर्छ ।"
 
उनले भारत, बेलायत, रुस र जर्मनीमा पनि यस्तो गठबन्धन देखिएको बताउँदै दुवै गठबन्धनले सत्ता प्राप्तिको स्वार्थका लागि यो प्रयास गरेको टिप्पणी गरे । बरालले भने, "नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउँदैन । आएमा अरु नै कारणले आउने हो, त्यो पनि अहिले सम्भव छैन । लोकतान्त्रिक पक्षले वामपन्थीले बहुमत ल्याएमा एकपक्षीयरूपमा राज्य संयन्त्रमा काम गर्ला भन्ने चिन्ता गरेको मात्र हुन सक्छ ।" 

नेपालमा माक्र्स र एगलेल्सको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप-प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ । यी दलको एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकार दिने जनाउँदै आएका छन् । 

मुलुकलाई समृद्ध र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एकता र तालमेलको घोषणा भएको थियो । वाम विश्लेषक एवं स्तम्भकार नरेन्द्रजंग पिटरका विचारमा मुलुकमा वामपन्थीहरूको जनमत भएकाकारण गठबन्धनले आशा र विश्वास जगाएको प्रतिक्रिया दिए । कुनै अधिनायकवादको प्रश्न नउठ्ने भन्दै उहाँले आशंका र आतंक पैदा गरेर समर्थन लिने कोसिस मात्र गरिएको जनाए । 

माक्र्सवादी चिन्तक गोपसीरमण उपाध्याय पनि वामपन्थीहरूबीचको एकताको प्रयास विगत एक दसकदेखिकै शृंखला भएकाले एकाएक आएको जसरी बुझ्न आवश्यक नभएको बताउछन् । उनको विचारमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल अन्ततः पार्टी एकतामै पुगेर टुङ्गिन्छ, एकता नभए त्यसको क्षति मुलुकले व्यहोर्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ