arrow

संविधान दिनुपर्ने कम्युनिष्ट प्रधानमन्त्रीहरुले देश नै कर्मचारीको जिम्मा लगाएः मन्त्री बलायर

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
birbahadur_balayar.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसले बोकेको सिद्धान्त विश्व लोकतन्त्रमा सूचिकृत सिद्धान्त भएको बताएका छन् । 

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लड्दै आएको काँग्रेसको अगुवाइमा निरंकुश राणा हुँदै माओवादी युद्धसमेत शान्तिमा रुपान्तरण भएको स्मरण गराउँदै उनले नेपालका कम्युनिष्टहरुले त संविधान बनाउनुको साटो देशको राज्य व्यवस्था नै कर्मचारीको हातमा सुम्पिएर हिँडेको बताए । 

संविधानसभाको निर्वाचनपछि बनेका देशका चारवटा कम्युनिष्ट प्रधानमन्त्रीले संविधानको साटो संविधानसभाकै अवसान गराएर कर्मचारीलाई देश जिम्मा लगाएको बताए । 

एउटा अप्ठेरोमा फसेको देशलाई निकास दिने काम काँग्रेसले गरेकाले काँग्रेसले १८ महिनामै संविधान बनाएर देखाएको उनले बताए ।

मन्त्री बलायरले काँग्रेसले नै लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने काम गरिरहेकाले अहिले कम्युनिष्टहरु आत्तिएर कृत्रिम गठबन्धन गरेको जिकिर गरे । 

बाम गठबन्धनका नाममा दुईतिहाइ ल्याएर संविधान संशोधन गरेर देशमा एक दलीय प्रणाली लाद्ने दुषित सपना नेपाली कम्युनिष्टहरुले देखेकाले आम नेपाली जनताले फेरि स्वतन्त्रताको लडाइ लड्नुपर्ने अवस्था आउन नदिन आग्रह गरे । 

काठमाडौंमा संचारकर्मीसँगको भेटघाटमा उनले आफू नेपाली काँग्रेसको यही गौरवगाथा बोकेर आसन्न निर्वाचनमा होमिन डोटी जान लागेको बताए । 

उनले कम्युनिष्टहरु प्रचार बढी काम गर्ने भएकाले उनीहरुको हावादारी सपनामा नरुमल्लिएर देशमा लोकतन्त्र, विकास र समृद्धिको मार्ग कोर्ने काँग्रेसलाई जिताउन आग्रहसमेत गरे । 

मन्त्री वलायरले बाम गठबन्धनले लोकतन्त्रलार्इ खतरामा पुर्याएको बताउँदै कम्युनिष्टहरु काम कम र चिल्ला कुरा बढी गर्ने चरित्रका भएको बताए । 

उनले अधिकांश समय यातायात र  पूर्वाधार मन्त्रालय काँग्रेससँग हुँदा पनि काँग्रेसले गरेका कामलाई आफूले गरेको भनेर प्रचार गर्ने गरेको बताए । 

राज्यमा राजनीतिक धुव्रीकरण स्वभाविक भए पनि कुत्सित उद्देश्यले गरिएको अहिलेको बाम एकता देश र जनताका लागि घाती भएको बताए ।

‘अस्तित्वलार्इ धरापमा पारेर संविधानको अस्तित्व मेटाउने र मुलुकमा अधिनायकवाद लाद्ने षड्यन्त्रका साथ यो गठबन्धन भएको हो’, बलायरले ठोकुवा गरे । 

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बलायरले भने, ‘नेताहरुका निहित स्वार्थ छन् तर तिनीहरुका कार्यकर्ता र जनताले रुचाएका छैनन् । अहिले नै बागी उठ्ने, पार्टी त्याग्ने काम भएको छ । जनताले लोकतन्त्रको लागि नै ठूलो बलिदानी दिएकोले लोकतान्त्रिक शक्तिको महत्व जनताले निर्वाचनमा दर्शाउने छन् ।’

मन्त्री बलायरले आफू पनि ग्रामीण जीवनबाट यहाँ पुगेकाले प्रतिकुल समयमा सरकारमा भए पनि जनतालाई सहज र सुलभ हुने कुनै पनि पूर्वाधार विकासमा सम्झौता नगरेको बताए । 

उनले थपे, ‘मेरो राजनीतिक थलो प्रदेश नम्बर सातको डोटी जिल्ला हो । देश र  डोटेली जनताको मर्ममा कहिल्यै पनि आँच आउन दिने छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ