arrow

कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी

logo
शुरबहादुर सिंह 
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
karnali-health-academy.jpg

जुम्ला। पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ । 

यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै आएकामा यो वर्षबाट स्वास्थ्य अनुसन्धानलाई अघि बढाइएको बताए । "हामीले कर्णालीको मुगु, जुम्ला र कालिकोटमा सर्वे सम्पन्न गरिसकेका छौं, अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालीन पिछडिएको नौ जिल्लामा स्वास्थ्य सर्वेक्षण थाल्छौं" उपकूलपति वाग्लेले भने । 

प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिन्छ र सोहीअनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । उनले कर्णालीमा विद्यमान रोगको अवस्था, स्वास्थ्यसँग सम्बन्धित आहार, सरकारी स्वास्थ्य संरचनाको सेवा प्रवाहजस्ता महत्वपूर्ण विषय सर्वेक्षणमा आउने बताए। 

प्रतिष्ठानले अस्पतालको सेवाअन्तर्गत १०० श्ययाको अस्पताल सञ्चालन, १७ जना विशेषज्ञ डाक्टरसहित १५० जना जनशक्तिले सेवा र सस्तो दरमा ठूला शल्यक्रिया जुम्लामा गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार गतवर्ष २९ हजार ९३४ जना बिरामीले सेवा लिएकामध्ये दुई हजार ४९१ को ठूलो शल्यक्रिया भएको थियो । त्यसैगरी विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा शुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उनले बताए । उनका अनुसार ऐनले व्यवस्था गरेबमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् । 

अस्पताल निर्देशक धर्मराज गोसाईंले ६ नं. प्रदेशकै उत्कृष्ट सेवा दिइरहेको हिमाली क्षेत्रमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा साझा चिन्तन आवश्यक रहेको औंल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ