arrow

देउवाको पत्रकाे सन्देश : काँग्रेस आर्थिक क्षेत्रको अभिभावक र विकासको अगुवा

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
sherbahadur_patra.jpg

काठमाडौं । मुलुकले धेरै राजनीतिक क्रान्ति झेल्यो, सबै शासन प्रणालीको अनुभव नेपाली जनताहरुले गरिसकेका छन् । तर, मुलुकसधैं किन गरिब छ ? त्यसैले अब मुलुकमा आर्थिक विकासको लहर ल्याउनु पर्छ । यो धेरै राजनीतिक दलको मूल एजेण्डा हो । धेरैको घोषणापत्र यही आर्थिक विकासका स्वप्निल योजनाहरुले पाना भरिए । अब त केही होला कि भन्दैमा झण्डै आधा शतक वित्यो । तर, मुलुक आर्थिक विकासको युगमा पुग्न सकेन । 

देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र पनि आईपुग्यो । बीचमा पञ्चायत र राजाको प्रत्यक्ष शासन पनि चल्यो केही समय तर, अब मुलुक राजनीतिक क्रान्तिको उच्च शिखरमा पुगिसकेको छ । अब नेपालमा राजनीतिक क्रान्तिको आवश्यकता नरहेकोले सबै राजनीतिक दलहरुले आर्थिक विकासको युगमा प्रवशे गर्ने बताईरहँदा प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्ला दिनहरुमा उद्योग व्यवसायीहरुलाई गरेको आह्वानले आर्थिक विकासको युगमा मुलुकलाई देख्न चाहनेहरुमा केही आशाको ज्योति जगाएको छ । 

सोमबार नेपालबाट एकमात्र अर्बपति सूचीमा परेका विनोद चौधरीलाई र मंगलबार विभिन्न निजी क्षेत्रका व्यवसायिक संस्थाका पदातिकारीहरुलाई पत्र पठाएर प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक समेद्धिको अभियानमा गोलबद्ध भएर लाग्न आग्रह गरे । 
 
उनले व्यवसायीहरुलाई पठाएको पत्रमा लामो राजनीतिक संघर्षपछि नेपाल संविधान निर्माण र कार्यान्वयनसँगै नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् । उनले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन पछि मुलुकमा राजनीतिक संक्रमणको विसर्जन हुने र संक्रमण कालको अन्त्यपछि नेपाललाई विकासको नयाँ युगमा प्रवेश गराउनको लागि आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई केही वर्षमा नै आर्थिक विकासमा निर्णयक बाटो तर्फ उन्मुख गराउनु आफूहरुको साझा ध्येय रहेको बताएका छन् । 

उनले व्यवसायीहरुलाई गैर आवाशीय नेपालीले आर्जन गरेको पुँजी, सिप र क्षमतालाई नेपालमा परिचालन गर्ने वातावरण तयार गरेर आर्थिक समृद्धिको बाटोमा समृद्धिको अभियानमा गोलबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।  

नेपाली काँग्रेसको लेटरहेडमा तयार पारेको उक्त पत्रको अर्थ भनेको आर्थिक समृद्धिको अभियान नेपाली काँग्रेसले सुरु गरिसकेको भन्ने बुझिन्छ । यस अघिका हरेक आर्थिक क्रान्तिको नेतृत्व कर्ता नेपाली काँग्रेसले नै आर्थिक समृद्धिको अभियानमा पनि नेतृत्व गरिसकेपछि यो अभियानले पनि सार्थकता पाउनेमा धेरै आशाबादी बन्न सक्ने अवस्था देखिन्छ । 

त्यस्तै, मंगलबार प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुलाई पनि राष्ट्रिय समृद्धिको अभियानमा लाग्न आग्रह गरिएको छ । 

देउवाद्वारा जारी सो विज्ञप्तीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भईसकेपछि राजनीतिक कोर्स एउटा टुंगोमा पुग्ने र मुलुक आर्थिक समृद्धि तर्फ लाग्न र नेपाललाई विकासको युगमा प्रवेश गराउनुपर्ने चुनौती सबैसामु रहेको उल्लेख छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर केही वर्षमा नै आर्थिक विकासमा निर्णयक बाटो तर्फ उन्मुख गराउनु नै लोकतान्त्रिक शक्तिको मुख्य ध्येय रहेको उनले उल्लेख गरेका छन्। 

उनले यसको लागि बजार अर्थतन्त्र र सामाजिक न्यायको छाता बाहिर रहेर आर्थिक समृद्धि सम्भव नरहेको आर्थिक समृद्धिको अभियानमा सबै गोलबद्ध हुनुपर्ने भन्दै उद्योगी व्यवसायीलाई आर्थिक समृद्धिको अभियानमा नेतृत्व लिन आग्रह गरेका हुन् । 

यसले झनै आर्थिक विकासको अभियान काँग्रेसले आफैँबाट सुरु गरिसकेको स्पष्ट हुन्छ । चुनाव पछिको स्थितीमा मुलुकले एउटा गति लिन थालिहाल्ने भएकोले पनि उनले अहिलेदेखि नै व्यवसायीहरुलाई लोकतान्त्रिक छातामा आर्थिक समृद्धिको विरुवा रोप्न आग्रह गरेको काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ