arrow

कृषिमा आधुनिक प्रविधिको फड्को

logo
वासुदेव पौडेल 
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
thresar.jpg

पोखरा । "पाँच वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो" स्थानीयवासी बलबहादुर नेपालीले भने । 

पछिल्ला वर्षमा ट्याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट्याक्टरको प्रयोग गर्न थालेको उनले बताए । कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खोतीका लागि ट्याक्टरको प्रयोग गर्न थालेका छन् । खेतीका साथै धान थन्क्याउनका लागि गत वर्षदेखि थ्रेसरको प्रयोग हुनथालेको अर्का कृषक ऋषिराम अधिकारीले बताए । 

अघिल्ला वर्षसम्म ट्याक्टरले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न ट्याक्टरको प्रयोगमा पनि कमी आइसकेको उनले बताए । धान पराल छुट्याइदिने थ्रेसरको प्रयोगसँगै धान भित्र्याउनका लागि जनशक्ति पनि कम लाग्ने गरेको उनको भनाइ छ । थ्रेसरको प्रयोग गरेबापत प्रतिघण्टा  २ हजार ४०० बुझाउने गरिएको बताउँदै उनले वर्षेनी भित्रिएका कृषिका आधुनिक उपकरणका कारण कृषिप्रतिको अनिच्छा कम हुनसक्ने बताए । 

"आधुनिक उपकरणको प्रयोगले खर्चको कमीका साथै समयको पनि बचत हुने गरेको छ," अधिकारीले भने, "आधुनिक उपकरणको प्रयोगमा कृषकलाई अभिप्रेरित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनु आवश्यक छ ।"कास्कीमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन इकाइ कार्यालयमार्फत कृषक समूहलाई लक्षित केही स्थानमा हाते ट्याक्टर लगायतका कृषि उपकरण वितरण गरिएको कृषि अधिकृत इन्द्रमणि लामिछानेले जानकारी दिए । 

जिल्लाभित्र यस वर्ष धान भित्र्याउने क्रम शुरु भएको जानकारी दिँदै उनले हालसम्म कृषकले १० प्रतिशत धान भित्र्याइसकिएको उल्लेख गरे । "विशेष गरी आलु लगाउने ठाउँमा लगाइएका मनसुली, र अन्य हाइब्रिड जातका धान कृषकले थन्क्याइसकेका छन्," उनले भने, "जेठोबुढो, पहेँले जस्ता जातका धान भने पाक्ने क्रममा रहेको छ ।" 

कास्कीमा पटनेरी, शिशुवा, मालेपाटन, हेमजा, कुँडहर, सार्दीखोला, भलाम, वर्षा, चवादी, छहरालगायतका स्थानमा धान पर्याप्त उत्पादन हुने गर्दछ । विभिन्न उत्पादनशील टारी खेत बाँझा हुनुका साथै पछिल्ला समयमा बढ्दो प्लटिङका कारण खेतीयोग्य जमिन घडेरीमा परिणत बन्दै गएको स्थानीयवासी बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ