arrow

मोटरसाइकलले ठक्कर दिँदा तीनजनाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
accident.jpeg

दमौली। पृथ्वी राजमार्गको डुम्रे-मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २० वर्षीय निकेष सिंह र सोही ठाउँका मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय सवीन अधिकारी तथा पैदल यात्रु गोरखाको पालुङ्टार नगरपालिका १ च्याङ्लिङ बस्ने ६० वर्षीया नानुमाया राना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

तीनैजनाको उपचारका क्रममा मृत्यु भएको हो  । पैदल यात्रु नानुमायाको डुम्रेको लक्ष्मी अस्पताल, मोटरसाइकल चालक निकेषको पोखराको फिस्टेल अस्पताल र मोटरसाइकल पछाडि सवार सवीनको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तीव्र गतिमा गुडेका कारण सो मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा सो घटना भएको अनुमान प्रहरीले गरेको छ । मोटरसाइकल इप्रका आँबुखैरेनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

पैदल यात्रु नानुमाया र मोटरसाइकलको पछाडि सवार सवीनको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र अर्का मृतक निकेषको शव ल्याउने तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ