arrow

निर्वाचनसम्बन्धमा जंगीअड्डामा छलफल, के के भयो कुरा ?

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
nepali_sena_baithak.jpg

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको विषयमा नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । रक्षामन्त्री भिमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा आयोजित ‘निर्वाचन सुरक्षा सम्बन्धी एक दिने छलफल कार्यक्रम’ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । 

छलफल कार्यक्रममा रक्षामन्त्री प्रधानले विगतमा सम्पन्न विभिन्न निर्वाचनहरुको साथै स्थानीय तहको गत निर्वाचनका विभिन्न चरणमा, सुरक्षा सम्बन्धी जिम्मेवारी अत्यन्त प्रभावकारी रुपमा निर्वाह गर्दै उक्त निर्वाचनहरुलाई सफल पार्न नेपाली सेनाले पु¥याएको योगदान कदरयोग्य रहेको कुरा बताएका थिए । 

सम्बोधनकै क्रममा उनले आगामी मंसिर महिनामा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न कटिबद्ध रहेको कुरा बताउँदै विगतको अनुभव र आफ्नो पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहने कुरामा पूर्णरुपमा विश्वस्त रहेको बताए । 

उनले जङ्गी अड्डाको निर्देशन बमोजिम पृतनापतिहरुले योजनाबद्ध रुपमा फौज परिचालनका साथै सम्बन्धित अन्य निकायहरुसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका थिए । 

यसैबीच, छलफल कार्यक्रमको क्रममा सम्बन्धित विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिहरुले आ–आफ्ना जिम्मेवारी क्षेत्रका निर्वाचन सुरक्षा योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले मन्तव्य व्यक्त गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली सेनालाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्ने सिलसिलामा विभिन्न विभाग र पृतनाहरुले गरेको प्रस्तुतीकरण र अन्तरक्रियाबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरुका लागि सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिए । उनले यसअघि सम्पन्न स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने क्रममा जङ्गी अड्डाबाट दिईएका निर्देशनहरुको साथै हालै जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारी सहित आफ्नो जिम्मेवारीलाई व्यवसायीक तथा उत्कृष्ट ढङ्गबाट पूरा गर्दै आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा पनि कुनै कसर नराखि नेपाली सेनाले शान्तिपूर्ण ढङ्गबाट सु–सम्पन्न गर्ने विश्वास व्यक्त गरेका थिए । 

सम्बोधनकै क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले विगतको निर्वाचन तथा विपद्को समयमा भरपर्दो र विश्वसनीय फौजको छबी राख्न सफल भएको र आसन्न निर्वाचनलगायत आउँदा दिनहरुको चुनौतीहरुलाई सहजताकासाथ लिई व्यवसायिक ढङ्गले सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको छबिलाई उच्च राख्न समेत निर्देशन दिएका थिए ।

सो छलफल कार्यक्रममा निमित्त रक्षासचिव ऋषि राजभण्डारी, सबै पृतनापतिहरु लगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको  थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ