arrow

न्युयोर्क हमला आइएसले गरेको दावी,आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ:राष्ट्रपति ट्रम्प

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
tramp-aa.jpeg

वासिङ्ट । अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको समाचार छ । 

अमेरिकी एक सञ्चारले सो जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार सो आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी बिहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेका छन् । उनीहरुको प्रकाशन अल नबा नामक साप्ताहिक छापामा सो जानकारी छापिएको थियो । उक्त साप्ताहिकको पछिल्लो संस्करणमा भनिएको छ  हाम्रा एकजना वीर सैनिकले गएको मङ्गलबार अमेरिकाको म्यानहटनमा आक्रमण गरी केहीलाई कारबाही पनि गरेका छन् । 

संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन् । उक्त आक्रमणकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ । हाल उनी प्रहरी अनुसन्धानमा छन् । 

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा नागरिकले ज्यान गुमाएको यो पहिलो पटक हो । न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो । सो आतङ्ककारी हमलापछिको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाएका थिए । 

अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिएको प्रतिक्रियामा उनले सो कुराको प्रतिबद्धता व्यक्त गरेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाएको थिए । 

उनले बुधबार गरेको  ट्वीटमा न्युयोर्कको सो आतङ्ककारीलाई मृत्युदण्डको सजाय दिइनुपर्ने पनि बताएका छन् । उनको यस ट्वीटपछि मानवअधिकारवादीहरुको भने कुनै प्रतिक्रिया आएको छैन । त्यस्तै उनले बुधबार नै सो हमलामा संलग्न व्यक्ति डिभी चिट्ठा प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले सो डिभी प्रणाली पनि खारेज गर्नुपर्ने बताएको थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ