arrow

तराई, पहाड र हिमाल सबै ठाउँमा एउटै किसिमले सेना परिचालन हुन्छ : रक्षामन्त्री प्रधान

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
bhimshendas.jpg

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘मधेश, पहाड र हिमाल सबै ठाउँमा एउटै तरिकाले सेना परिचालन हुन्छ, कुनै एक क्षेत्रमा विशेष रुपमा सेना परिचालन गर्ने निर्णय भएको छैन्।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको  चुनावी साक्षात्कारमा कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेसबाट उम्मेद्धवार समेत बनेका रक्षामन्त्री प्रधानले अहिले मुलुकमा अतिवाद र उग्रवादको बीचमा चुनाव हुन गैरहेकोले चुनावको सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने पूर्ववर्ती निर्णय यथावत नै रहेको बताएका हुन् ।

उनले मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने भनेर अहिले कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारे । मन्त्री प्रधानले भने,‘अहिले मधेशमा कुनै संवेदनशीलता देखिएको छैन, सबै ठाउँमा उही हो, मधेश र पहाड दुवै क्षेत्रमा सेना उही रुपमा परिचालन गर्छौं, यो निर्णय पनि अहिले भएको होईन, एक महिना अघि नै भएको निर्णय हो।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरे । उनले थपे,‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस वा जितोस भन्नेमा कुनै चिन्ता छैन, चुनाव हुनु नै हाम्रो जित हो, राष्ट्रको जित हो।’ ०६४ को निर्वाचनमा पनि आफ्नो पार्टीले चुनाव हार्दैछ भन्ने कुरा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई थाहा हुँदाहुँदै पनि मुलुकले जित्ने देखेर चुनाव गरिएको उल्लेख गर्दै आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे ।

माओवादी केन्द्रले चुनावको मुखमा आएर एमालेसँग गठबन्धन गर्नु असुरक्षित महशुस गर्नु नै भएको आरोप लगाउँदै प्रधानले भने,‘अहिले गठबन्धन बन्नुको मुख्य प्रभाव भनेको नै ३ प्रतिशत थ्रेसहोल्ड हो, अर्को कुरा माओवादी केन्द्रले आफूलाई असुरक्षित महशुस गर्यो, र एमलेको सत्ता आशक्तले गर्दा यस्तो भयो।’

अहिले चुनावको मुखमा कांग्रेसभित्र गुटैगुट छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा मन्त्री प्रधानले भने,‘हरेक पार्टीमा गुट छ, अमेरिकाको डमोक्रेटिक पार्टीमा त ओबामा र हिलाी क्लिन्टनहरुको बेग्लाबेग्लै गुट छ।’ यद्धपी उनले उम्मेद्धवारी दर्ताको बेला बागी उम्मेद्धवारी दर्ता भएको घट्नालाई नौलो रुपमा नलिनकोलागि समेत आग्रह गरे । उनले थपे,‘तपाईहरुले गोविन्दराज जोशीको कुरा गर्नुभएको होला, जोशीले रामचन्द्रजीको विरुद्धमा उम्मेद्धवार दिनु गुट होईन, यो त धेरै पहिलेदेखिको व्यक्तिगत टकराव हो, पार्टीगत होईन, यसले केही असर गर्दैन्।’

मन्त्री प्रधानले आफ्नो चुनावी क्षेत्रमा वाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीलाई चुनावी मैदानमा स्वागत रहेको बताएका थिए । उनले थपे,‘झक्कुजीलाई स्वागत छ, आगामी दिनमा समेत यसरी नै चाहार्दै जानुहोला।’ उनले आफूहरुलाई निषेधको राजनीतिमा कुनै रुचि नै नभएको भन्दै सबैलाई स्वच्छ प्रतिष्पर्धामा ल्याउने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए ।

उनले भने,‘हाम्रो पार्टी भनेको सबैसँग सहकार्य गरेर जानुपर्छ भन्ने हो, हुन त हाम्रै पार्टीको नेतवत्ृमा संविधान जारी भयो, चुनाव पनि हाम्रै पालामा भयो, मधेशमा चुनाव भयो, अब पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निश्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न गैरहेका छौं।’

मन्त्री प्रधानले आफ्नो चुनावी एजेण्डा भनेको नै पार्टीले चुनावी घोषणपत्र सार्वजनिक गरिसकेकोले अबको एजेण्डा भनेको नै आर्थिक समृद्धि नै भएको बताए । उनले भने,‘हुन त आजको दिनसम्म हामीले जे जति राजनीतिक उपलब्धिहरु हाँसिल गर्यौं, ती सबै अस्थिरताकाबीचमा हाँसिल गरेका छौं, अब ती सबै उपलब्धिहरु संस्थागत गर्नु र संविधान कार्यान्वयन गर्ने चरणमा हामी छौं, चुनाव सम्पन्न भएपछि मुलुक स्थायित्व र आर्थिक समृद्धितर्फ अघि बढ्छ।’

उनले एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धन वामपन्थी वा कम्युनिष्ट गठबन्धन केही नभएर चुनाव जित्न र सत्ता लिप्साको लागि मात्रै भएको आरोप लगाए । उनले थपे,‘त्यसैले जनतालाई कुन पार्टी ठिक वा बेठिक भन्ने कुरा राम्रोसँग थाहा छ, जनताको मत अब कांग्रेसलाई खस्छ।’ उनले यो चुनावको पक्षधर कांग्रेस भएकोले आफूहरुलाई जनताको उत्साहजनक मत आउने विश्वास दिलाए । त्यस्तै उनले हालै कमलादीमा भएको गोली काण्डको घट्ना आफूहरुको विषय नभएकोले गृहमन्त्रालयले हेरिरहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ