arrow

पहिलो चरणको चुनाव : ८ भाइको कडा भीडन्तमा खिचिँदैछ साराको ध्यान 

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
first_phase_election1.jpg

काठमाडौं । पहिलो चरणको निर्वाचन आउन अब २२ दिन बाँकी छ । निर्वाचनका धेरै कामहरु पनि सकिईसकेको निर्वाचन आयोगले जनाएको छ । तर, पनि पहिलो चरणको निर्वाचनको त्यति चर्चा हुन सकेको छैन । कारण अरु केही नभएर हेवी वेटेज उम्मेदवार र शीर्ष नेताहरुबीचको प्रतिस्पर्धा नभएको कारणले नै पहिलो चरणको निर्वाचन यसरी छायाँमा परेको विश्लेषण गर्न सकिन्छ । 

तर, पहिलो चरणको निर्वाचनमा पनि रोचक भीडन्त भने नभएकै चाहिँ होईनन् । पहिलो चरणको निर्वाचनमा हुने कूल ३७ निर्वाचन क्षेत्र मध्ये हामीले तय गरे अनुसार कूल ८ निर्वाचन क्षेत्रमा कडा भीडन्त हुँदैछ । यसैले गर्दा पहिलो चरणको निर्वाचन पनि धेरैको चासोको विषय बनेको हो । 

पहिलो चरणको निर्वाचनको सबैभन्दा पहिलो भीडन्त हो डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठको । कुनै समय एउटै पार्टीको समान पदमा रहेर समानान्तर दुई गुट चलाएका यी दुई नेता मध्ये भट्टराईले पार्टी छाडेर नयाँ शक्तिमा गए भने नारायणकाजी माओवादी मै बसे । उनीहरु बाम गठबन्धनमा पनि जोडिने प्रयासमा लागेका हुन् केही दिन त जोडिएकै पनि हुन् ।

तर, पछि कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएका भट्टराईले श्रेष्ठ विरुद्ध नै लड्ने निर्णय गरे र त्यसमा सहयोग गर्यो काँग्रेसले पनि । त्यसो त गठबन्धनमा मूल समस्या भनेको नै गोर्खाको त्यही क्षेत्र थियो । त्यसैले यो क्षेत्रबाट दुबै जनाले जित्नै पर्ने दबाबको महसुस गरेका छन् भने अरुलाई यो दृष्य रोचक बन्दै गएको छ । 

पहिलो चरणको निर्वाचनको दोस्रो रोचक दृश्य हो ओखलढुंगा । यहाँ पहिलेका दुई सांसद्हरु यज्ञराज सुनुवार एमाले र रामहरि खतिवडा काँग्रेसबाट चुनाव लड्दैछन् । उनीहरुको यो भीडन्तलाई धेरैले चासोका साथ हेरेका छन् । दुबै उम्मेदवारहरु लोकप्रिय र दुबै उम्मेदवारहरु जनताले उत्तिकै रुचाएकाहरुको योग्यता र क्ष्मता पनि बराबर छ ।

अध्ययनको स्तर बराबर छ । पार्टीमा हैसियत बराबर छ र उनीहरुको उमेर पनि लगभग बराबर नै छ । त्यसैले यहाँका मतदाताहरु पनि कसलाई मत दिने भन्ने विषयमा एकदमै दोधारमा पर्ने देखिन्छ भने बाहिरबाट हेर्नेहरुलाई पनि कसले जित्ला भनेर छुट्टाउनै मुस्किल पर्ने देखिन्छ । 

त्यस्तै, तेस्रोमा शेरबहादुर तामाङ एमालेका उम्मेदवार र पशुपति शमशेर जबरा राप्रपाका उम्मेदवारबीच पनि कडा प्रतिस्पर्धा रहेको छ । जवराको उम्मेदवारीले मात्रै त धेरैलाई उनी विजयी हुनेमा आशंका गर्न सक्थे । तर, उनको आफ्नो मतदाता माथि काँग्रेसले दिएको साथका कारणले उनीहरुको यो भीडन्त रोचक बन्दै गएको छ । यसमा उनी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका र पुराना नेता भएकोले पनि यहाँ कसले बाजी मार्ला भन्ने बुझ्न समस्या नै रहेको देखिएको छ । 

माओवादी नेता देव गुरुङ र काँग्रेस नेता दिलबहादुर घर्तीबीचको प्रतिस्पर्धा पनि कम्तिको रोचक छैन । उनीहरु लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिँदैछन् । त्यो क्षेत्र यस्तो क्षेत्रको त्यहाँको प्रदेश सभा सदस्यको लागि त एमालेका सचिव पृथ्वी सुब्बा नै उम्मेदवार बनेका छन् । एमालेका सचिवको क्षेत्रबाट बाम गठबन्धनको लागि माओवादीका देव गुरुङले  उम्मेदवारी दिएका छन् भने काँग्रेसका पुराना नेताको रुपमा चिनिने घर्ती पनि त्यहाँका प्रभावशाली नेता हुन् । त्यसैले यहाँको पनि प्रतिस्पर्धा रोचक देखिएको छ । 

अर्काे हो सिन्धुपाल्चोक १ । त्यहाँ पूर्व सञ्चारमन्त्री र अहिलेका सञ्चारमन्त्री चुनावी दौडमा छन् । बाम गठबन्धनबाट माओवादी नेता अग्नी सापकोटा र लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेस नेता मोहन बहादुर बस्नेतको प्रतिस्पर्धा पनि निकै रोचक मानिएको छ । 

त्यस्तै, मनाङमा पनि दुई मुख्य पार्टीका जिल्ला अध्यक्षहरुको कडा प्रतिस्पर्धा हुँदैछ । एमालेका जिल्ला अध्यक्ष पाल्देन गुरुङ र काँग्रेसका जिल्ला सभापति टेकबहादुर गुरुङबीचको प्रतिस्पर्धालाई अझ रोचक बनाउनको लागि जिल्लामा कमजोर रहेको एमालेमा राप्रपा मिसिनुले पनि गराएको छ । राप्रपाले आधिकारिक रुपमा काँग्रेसलाई सहयोग गरेको छ भने राप्रपाका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकोले पनि त्यहाँ भीडन्त रोचक हुन पुगेको हो । 

अर्काे सोलुखुम्बुमा माओवादी नेता हेमकुमार राई र काँग्रेस नेता बलबहादुर केसीको प्रतिस्पर्धा । यो क्षेत्रमा केसीले २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् भने २०६४ बाहेक जित्दै पनि आएका छन् । २०६४ सालमा गोपाल किराँतीले चुनाव जितेको सो क्षेत्रमा यस पाली माओवादी र एमालेको साझा उम्मेदवारको रुपमा राईलाई अगाडि सारिएको छ । त्यसैले पनि यो क्षेत्र पनि रोचक बनेको छ । त्यस्तै, रसुवामा पनि एमाले नेता जनार्दन ढकाल र काँग्रेस नेता मोहन आचार्यबीच पनि कडा प्रतिस्पर्धा हुँने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ