arrow

गुराँसको राजधानीमा गुराँस फँडानी तीव्र

logo
प्रकाश धौलाकोटी
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
ma_ta_laliguras.jpeg

तेह्रथुम । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् । 

जनसंख्या बृद्धिसँगै वर्षेनी यस्ता गतिविधि बढेर गइरहेको भएपनि यसतर्फ कसैको ध्यान जान सकेको छैन् । वन संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गर्न वाध्य छन् । दशैँ तिहारजस्ता चाडपर्व र जाडो महिना नजिकिएपछि इन्धनको जोहो गर्न स्थानीयवासीले दाउराका लागि धमाधम रुख काट्न थालेका छन् । खाना पकाउन र आगो ताप्नका लागि सरकारले स्थानीयवासीलाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने गुफा बजारका होटल व्यवसायी हरि खनालको भनाइ छ । यहाँ बसोवास गर्ने सर्वसाधारणको इन्धनको मुख्य स्रोत नै गुराँसको दाउरा हो । 

टिएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् । ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँसै नासिने अवस्थामा पुगेको छ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ । 

तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र वनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको संगमस्थलका रुपमा समेत चिनिन्छ । यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीन वटै जिल्लाका वन कार्यालय, सरोकारवाला र स्थानीयवासीको हो । तर गुराँसे वन फँडानी भएर गुराँस नै मासिने खतरा भइरहँदासमेत तीन वटै जिल्लाका वन कार्यालयले प्रभावकारी कदम चाल्न सकेका छैनन् । तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले गुराँस वन क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए । 

टिएमजे क्षेत्रलाई सरकारीस्तरबाट यी तीन वटै जिल्लाका वन कार्यालयले रेखदेख गर्ने जिम्मा पाएका भए पनि संरक्षण प्रयास प्रभावकारी हुन सकेको छैन । टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तुलगायतको संरक्षण गर्न स्थानीयस्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । तर समिति पनि अहिले निष्क्रिय छ । सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपथ्र्यो, समितिका संयोजक लक्ष्मण तिवारी भन्छन, “ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीयवासीलाई संरक्षणमा लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।” पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्यांक छ । तिनका लागि पकाइने खाद्यान्नका लागि इन्धनको प्रमुख स्रोत दाउरा नै हो । बाहै्र महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्नसमेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो कलर बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ । 

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ । गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । समुद्री सतहबाट १७ सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका साविकका २५ वटा गाविसमा फैलिएको छ । यहाँका उच्च भागमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघुजस्ता साना ठूला बस्ती छन् । संरक्षित क्षेत्रका रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङ्नाम, सोल्मा, जिरीखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला, सभापोखरी गाउँ पर्छन् । 

१८ हजार ७८३ घरधुरीका एक लाख तीन हजार ४६५ जना बस्ने गरेको जिल्ला वन कार्यालय तेह्रथुमको तथ्यांक छ । संरक्षित क्षेत्रको क्षेत्रफल ५८ हजार २३२ हेक्टर छ । विश्वमा ७०० भन्दा बढी गुराँसका प्रजाति पाइन्छन् । तीमध्येको लालीगुराँस फूललाई २०१२ सालदेखि सरकारले राष्ट्रिय फूलका रुपमा घोषणा गरेको छ । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुरलगायत जडीबुटीसमेत पाइने गरेका छन् । तर ती जडीबुटीको संरक्षण र संवद्र्धन हुन सकेको छैन । वनमा उत्पादन हुने यी जडीबुटी कसले टिप्छ ? कहिले र कता लैजान्छ ? थाहा नै नपाइने गरेको गुफाबजारका व्यवसायी खनालले बताए । “वन कार्यालयले यसतर्फ ध्यान दिएका छैनन्, मूल्यवान् जडीबुटी चाहिँ कसले टिप्छ ? थाहै हुन्नँ”, उनले भने । 

अहिले यो क्षेत्रमा चिराइतोको व्यावसायिक खेतीसमेत भइरहेको छ । बाँकी जडीबुटीको व्यवसायिक खेतीको उच्च सम्भावना भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटाभन्दा बढी पोखरी छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरीलगायत पोखरी चर्चित छन् । टिएमजेका सिमसार र पहाडलाई मुहान बनाएर यी जिल्लाका लम्बू, पिंगुवा, खोरुङ्गा, ताङ्माया, कोया, सोबुवा, नेरुवा, मैवा, सभा, हेवा, पिलुवालगायत खोला बगिरहेका छन् । यो क्षेत्रको संरक्षण गर्न ६९ वटा सामुदायिक वन समूह क्रियाशील छन् । तीमध्ये ५८ वटा तेह्रथुममा, आठ वटा संखुवासभामा र तीन वटा ताप्लेजुङ जिल्लामा छन् । संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन गतवर्ष सामुदायिक वन समूह सञ्जाल गठनको प्रयास भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ