arrow

यी हुन् टिकट नपाएपनि काँग्रेस जिताउन लागिपरेका नेताहरु 

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
congress-flag.jpg

काठमाडौं । संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्था अन्त्य गर्ने अन्तिम खुड्किलो मानिएको आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको माहोल मुलुकमा चुलिएको छ । सबै पार्टीबाट आसन्न चुनावमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको टुंगो लागिसकेको छ भने उनीहरुका सहयोगीहरु काँधमा जिम्मेवारी र हातमा उम्मेदवारको व्यानर बोकेर घरदैलो अभियानमा निस्किसकेका छन् । टिकट पाउनेहरु यस्तै चुनावी अभियानमा व्यस्त छन् तर टिकट नपाउनेहरुको पीडा भने कम्ति छैन ।

आफ्नो प्रचारप्रसारमा गलाभरी माला लगाएर जानुपर्ने समयमा अरुको प्रचार सामग्री बोकेर हिँड्नुपरेपनि यी उम्मेदवारहरुमा उत्साह भने मरेको देखिँदैन । आफू योग्य हुँदा हुँदै पनि पार्टीले टिकट नदिएका काँग्रेसी नेताहरु पनि केही छन् तर धेरै पनि उत्साहित छन् । किन त ? उनीहरु नै भन्छन् काँग्रेसले सुरु गरेको प्रजातन्त्र यही चुनावले संस्थागत गर्दैछ । काँग्रेसको नेतृत्वमा आएको लोकतन्त्र र गणतन्त्र यही चुनावले संस्थागत गर्दैछ र काँग्रेसको नेतृत्वमा आएको शान्तिप्रक्रिया र संविधान निर्माणको कामले काँग्रेसकै नेतृत्वमा पूर्णता पाउँदैछ भने सानोतिनो विषयमा चित्त दुखाएर किन त्यसै बस्नु ? 

अरु पार्टीको जस्तै काँग्रेसमा पनि यसपाली धेरैले चाहाना राख्दा राख्दै पनि टिकट पाएनन् । चुनावमा आकांक्षी धेरै हुन्छन् तर सिट थोरै हुँदा यस्ता समस्या यसपालि मात्रै नभएर यो सधैंभरीको चुनावी समस्या नै हो । तर, यसपाली जीतको सम्भावना बोकेका पार्टीका प्रभावशाली नेताहरु मनोनयनको सूचीमा नपर्दा उनीहरु र आम कार्यकर्तामा एकखालको खिन्नता त देखिन्छ नै तर उनीहरुमा पनि खिन्नतालाई जिम्मेवारीपनाले थिचेर असन्तुष्टिलाई घरमै राखेर चुनावी प्रचारमा जानुपर्ने बाध्यता आईपरेको छ । 

यसपाली काँग्रेस केन्द्रीय सदस्यहरु धनराज गुरुङ, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, गुरु घिमिरे, कल्याण गुरुङ, सरिता प्रसाईँ, काँग्रेसका पूर्व प्रमुख सचेतक एवं पूर्व मुख्य सचिव शोभाकर पराजुली, नेविसंघ पूर्व महामन्त्री किरण पौडेल, नेविसंघ पूर्व केन्द्रीय महामन्त्री प्रतिमा गौतम, तरुण दलका केन्द्रीय नेता लक्ष्मी खतिवडा, काठमाडौं महानगर इकाईका संस्थापक सभापति प्रगतिमान रञ्जित, नेविसंघकी पूर्वनेतृ एवं लमजुङ काँग्रेसकी नेतृ इन्दिरा तिवारी लगायतले टिकट पाएनन् । जसले गर्दा काँग्रेसको नेतृत्व पंक्ति आम कार्यकर्ता र शुभेक्षुकहरुको आलोचनाको शिकार बन्नु परिरहेको छ । तर, यस विषयमा असन्तुष्टिका भेललाई जिम्मेवारीको पहाडले रोकेर यी नेताहरु पनि काँग्रेसको चुनावी प्रचार अभियानमा दौडिरहेका छन् । 

काँग्रेस नेता धनराज गुरुङ घरायसी कामका कारण सोमबारदेखि मात्रै सक्रिय रुपमा चुनावी अभियानमा लाग्ने भएका छन् । लोकमानसिंह कार्कीको विरोध गर्ने, भ्रष्टाचारीलाई चुनावमा जान प्रतिवन्ध लगाउन लविईङ गर्ने, नाकाबन्दीको विरोध गर्ने जस्ता जनप्रिय काममा संसद्मा आफ्नो धारणा राख्दै आएका गुरुङले  विविध कारणले यसपाली टिकट पाएनन् । तर, उनलाई पार्टीको यो बैगुनलाई चुनावमा निष्कृयता देखाएर प्रतिशोध साध्न मनले मानेन । उनी भन्छन् 'यो महाउत्सव हो यसमा मैले घरमा बसेर आफ्नो निष्कृय बन्ने त कुरै छैन । काँग्रेसलाई पहिलो पार्टी बनाउनको लागि महत्वपूर्ण भूमिका मैले खेल्नै पर्छ । अब कुरा आयो मलाई पार्टीले टिकट नदिएको विषय । यसमा पार्टी नेतृत्वको गम्भीर गल्ती भएकै हो । पार्टीको आन्तरिक विषयमा चुनाव सकिए लगत्तै पार्टीको केन्द्रीय समिति बैठकमा कडा रुपमा प्रस्तुत गरिनेछ । तर, अहिले चुनावको बेला म खासै केही बोल्न चाहँदिन ।' 

त्यस्तै, अर्का नेता कल्याण गुरुङ पनि अहिले चुनाव प्रचारमा व्यस्त छन् । उनी आफूलाई टिकट नदिएकोबारे भन्छन् 'माया गर्नेलाई पो गुनासो गर्नु माया नगर्नेलाई केही गुनासो गर्नुछैन । अब अर्काे कुरा आयो टिकट किन दिईएन भन्ने कुरा त्यो पार्टी सभापति शेर बहादुर देउवासँग सोध्नुस् । तर, हामी चुनावमा खटिएका छौं । पार्टीलाई पहिलो पार्टी बनाउनको लागि हामी टिकट पाएको भए बरु एउटा क्षेत्रमा सीमित भईन्थ्यो होला तर अहिले देशभर प्रचारमा लागिरहेका छौं ।' 

त्यस्तै, नेता पराजुलीले पनि आफ्नो फेसबुक पेजमा नै लेखेका छन् 'काँग्रेस आफ्नो घर हो । हामी सबैले यहाँका सबै असन्तुष्टिहरु यहीँ भित्र पोख्नसकिन्छ अहिलेलाई सबै मिलेर काँग्रेस जिताउन तर्फ लाग्नुपर्छ।'

त्यस्तै, काठमाडौं क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकी प्रतिमा गौतमको नाम समानुपातिक सूचीको अन्तिम तिर राखिएको छ । उनको नाम समानुपातिक सूचीमा समावेश त गरियो । तर, समानुपातिकमा सांसद् नबनाउने गरी बन्द सूचीमा नाम राखिएको उनी बताउँछिन् । तर, पनि उनी समानुपातिकबाट सांसद् बन्नु भन्दा पनि प्रत्यक्ष तर्फ नै चुनाव लड्न चाहन्थिन । उनी भन्छिन् 'म प्रत्यक्ष तर्फ नै चुनाव लड्न थाहन्थेँ । तर समानुपातिक सूचीमा त्यो पनि सांसद् नबन्ने गरी नाम पठाईएको छ । यद्यपि अहिलेको समय भनेको काँग्रेसलाई जिताउने समय हो । हामी लागि परेर पार्टीको पक्षमा माहोल जुटाउन तर्फ केन्द्रीत हुन्छौं ।' तर, पार्टीमा जिम्मेवार बनेर चुनावको बेलामा पार्टीको विपक्षमा कुरा नगर्ने आफूहरुलाई सधैं पछि पारिएको आरोप उनले लगाईन् । बरु पार्टीप्रति गैर जिम्मेवारी बहन गरेर विद्रोह गर्नेहरुसँग नेतृत्व डराउने तर इमान्दाहरुलाई सधैं पछि पारिरहेको आरोप लगाईन् । यद्यपि आफ्नो पहिलो प्राथमिकता आफू केन्द्रीत भन्दा पनि पार्टी केन्द्रीत रहेर चुनावमा पार्टीलाई विजयी गराउनु रहेको उनले बताईन् । 

अर्का नेता प्रगतिमान रञ्जित पनि पार्टीको नेतृत्वप्रति त धेरै असन्तुष्ट छन् । तर उनी पार्टीको असन्तुष्टि पार्टी भित्र नै समाधान हुने बताउँछन् । उनी लोकतान्त्रिक पार्टीमा सबैको चित्त बुझाउन नसकिने भन्दै केही असन्तुष्टिहरु रहेपनि त्यसलाई रोकेर पहिले पार्टीलाई चुनावमा जिताउने र पार्टी भित्र जस्तोखालको विद्रोह गर्न परेपनि चुनाव पछि गर्ने अठोट व्यक्त गर्छन् । उनी पनि एकै छिन पनि विचलित नभई अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । 

लोकप्रिय तरुण नेतृ लक्ष्मी खतिवडाले सुनसरीबाट टिकट पाइनन्। तर उनी पार्टीलाई जिताउन खटिएकी छिन्। यसको हिसाव पछि पार्टीको महाधिवेशनमा लिउला अहिले कम्युनिष्ट गठवन्धनलाई पराजित गर्नु नै आफूहरुको उद्धेश्य हो उनले भनिन । लम्जुङकी इन्दिरा तिवारी पनि पार्टीलाई जिताउन लागिपरेकी छिन। मनमा केहि असन्तुष्टी भएपनि पार्टीको हितको लागिआफू लागिपरेको उनले सुनाइन। 

आफूले टिकट नपाउनुलाई यी नेताहरु अलिकति पार्टी नेतृत्वको दोष र अलिकति लोकतान्त्रिक पद्धतिको नियती सम्झन्छन् । मुलुकमा ठूलाठूला परिवर्तनलाई सम्भव तुल्याएको पार्र्टीबाट प्रतिनिधित्व गर्न धेरैले आकांक्षा राख्ने भन्दै उनीहरु पार्टीको व्यवस्थापनमा देखिएको त्रुटी र केही नेताहरुको नियतीमै देखिएको खोटका कारण आफूहरुले टिकट नपाएको आरोप लगाउँछन् । 

टिकट नपाएर निराश बनेका ती उम्मेदवारहरुसँग कुराकानी गर्दा उनीहरु आफूले टिकट नपाउनुलाई भन्दा पनि पार्टीलाई जिताएर पार्टीको यो प्रवृत्ति अन्त्य गर्नु आवश्यक रहेको तर्क गर्छन्। संक्रमणकाल अन्त्य गरी आर्थिक समृद्धिको दैलो उघार्ने बेलामा अरु पार्टीले चुनाव जिते भने फेरि त्यो पनि सम्भव नरहेको भन्दै जसरी पनि काँग्रेसलाई नै चुनाव जिताउनुपर्छ भन्ने सोच उनीहरुमा भेटिन्छ । नेतृत्वले गरेको कमजोरीमा ईख लिएर यो ऐतिहासिक क्षणमा काँग्रेसलाई असहयोग गर्न जायज नरहेको भन्दै उनीहरु चुनावी अभियानमा लागिसकेको बताउँछन् । 

विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेताको नेतृत्वमा राणा शासनको अन्त्य गरेको काँग्रेसले तिनै सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताको नेतृत्वमा पञ्चायत फालेर २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापित गर्यो । २०६४ सालमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुग्यो, मुलुकमा लोकतन्त्र आयो । तर, त्यसपछि भएको चुनावमा काँग्रेस दोस्रो शक्ति बन्दा मुलुकले संविधान पाउन सकेन । फेरि चुनाव भयो । त्यसबाट जनताले काँग्रेसकै आवश्यकता देखेर काँग्रेसलाई पहिलो बनाए । काँग्रेसकै नेतृत्वमा संविधान पनि जारी भयो ।  

अब संविधान कार्यान्वयनको लागि गर्नुपर्ने चुनावहरु गर्न नसकी सरकार अन्यत्रै अल्झिन थालेपछि काँग्रेसकै नेतृत्वदायी भूमिकामा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा स्थानीय तहको एउटा चुनाव भएपनि बाँकी चुनाव काँग्रेसले गरायो । अब यो चुनावमा पहिलो पार्टी बनेर आर्थिक विकासको लहर फैलाउने बेलामा सामान्य विषयलाई लिएर आफूहरु पार्टीप्रति नकारात्मक नरहेको उनीहरु बताउँछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ