arrow

भक्तपुरमा वाम झमेला, एमाले–माओवादीको छुट्टाछुट्टै भेला

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
uml-maobadi-flag.jpg

भक्तपुर । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साइनो भक्तपुरमा भने झमेलामा परिणत भएको छ । 

गठबन्धनका दलहरुले छुट्टाछुट्टै भेला गरेपछि फुट नजिक पुगेको स्रोतले बताएको छ । 

उम्मेदवारका बारेमा विवाद भएपछि शनिबार एमाले र माओवादी केन्द्रले जिल्लामा छुट्टाछुटै भेला गरेका हुन् । 

भक्तपुरका एक एमालेका नेताले भने, ‘माओवादीसंग मिल्नुपर्ने आधारै छैनन्, फुट त स्वभाविकै हो ।’

भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभातर्फ (क) मा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी परेपछि विवाद चुलिएको हो ।

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक देवीप्रसाद ढकालको उम्मेदवारी परेको छ भने एमालेका एमाले जिल्ला सचिव हरिशरण लामिछानेको पनि उम्मेदवारी परेको छ ।
 
शनिबार सूर्यविनायकमा एमाले समर्थित युवा संघ नेपाल र अनेरास्ववियू भक्तपुरले आयोजना गरेको संयुक्त विस्तारित भेलामा यस क्षेत्रको उम्मेदवारको रुपमा लामिछानेलाई अगाडि सार्दै प्रचारमा जुटेको थियो । 

शनिबार नै माओवादी केन्द्रले पनि सूर्यविनायकमै कार्यकर्ता भेला गरेर भक्तपुरमा वाम एकतामा संकट आएको र एमालेले उम्मेदवारी फिर्ता नलिए वाम एकता तोडेर अगाडि बढ्ने गरी तयारी भएको बताइएको छ । 

एमाले र माओवादी केन्द्रका नेताहरु आफू सुहाउँदो परिभाषा गर्दै प्रचारमा जुटेका छन् । 

आइतबार उम्मेदवारी फिर्ता गर्ने दिन हो । तर फिर्ता गर्ने सम्भावना कतैबाट पनि नभएको स्रोत बताउँछ । 

गठबन्धन जोगाउन उच्च तहसम्मै कुरो पुगे पनि दुवै पार्टीका हेडक्वार्टरबाट उम्मेदवारीमा डटिरहन हरियो झण्डा देखाइएको बुझिएको छ । 

चुनावका लागि भक्तपुरको बालकोट (एमाले अध्यक्ष केपी ओलीको निवास) बाट भएको एकताको प्रयास त्यहीं भक्तपुरमै तोडिने अवस्थामा पुगेपछि प्रतिपक्षी दलहरुलाई भने हाइसन्चो हुँदै गएको छ । 

प्रदेशसभाको एकमात्र उम्मेदवारको विषय भए पनि भक्तपुरका दुवै क्षेत्रमा यसको असर फैलिने निश्चित जस्तै भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ