arrow

‘हात्ती मेरो साथी’ हैन ‘हात्ती मेरो शत्रु’ 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
Elephant-1-750x500.jpeg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर शनिबार राति जंगली हात्तीको बथानले भत्काएको छ । 

हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पुर्याएको छ । 

घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खातमुनि लुकेर ज्यान जोगाएको बताए । 

हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उनले बताए । 

घर भत्काएर अन्न र लताकपडामा नोक्सानी गरेपछि दुवै परिवारको विजोग भएको छ । स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताए । 

राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले ३ बजेपछि मात्रै धपाउन सकेका थिए । 

रातभर होहल्ला गर्दा, आगो बालेर तर्साउँदा र साइरन बजाउँदासमेत नभागेपछि तीन वटा हवाई फायर गरेपछि मात्र हात्तीको बथान पुनः निकुञ्जतर्फ लागेको छ टिकुराम डगौराले भने, “हात्तीकै कारण रातभर जाग्राम बस्नुपरेको छ ।” 

उनका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो । यस अघि नगरपालिकाकै गर्जमुनीका स्थानीय बासिन्दाको घर हात्तीको बथानले भत्काएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ