arrow

कृष्णमन्दिरको पुनःनिर्माण छ महिना सकिने, के-के पार्इन्छ यहाँ ?

logo
गौतमबुद्ध बज्राचार्य,
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
patan-durbar-square.jpg

काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ । पुरातत्व विभागको सहयोगमा एक वर्षअघि जीर्णोद्घार थालिएको तीनतले सो मन्दिर करीब रु ८० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको काठमाडौँ उपत्यका संरक्षण कोषका देशीय निर्देशक रोहित रञ्जितकारले जानकारी दिए । 

मन्दिरको दोस्रो तलामा क्षति पुग्नाका साथै खम्बा पनि सरेका कारण मन्दिरका केही अंशको जीर्णोद्धार थालिएकामा अहिलेसम्म मन्दिरको आधीभन्दा बढी काम सम्पन्न भइसकेको बताइएको छ । ढुङ्गा नै ढुङ्गाको प्रयोग गरी निर्मित उक्त मन्दिर विसं २०७२ को भूकम्पबाट केही खण्ड चर्केको थियो । 

विसं १६९३ मा पाटनका प्रथम राजा सिद्धिनरसिंह मल्लले शिखर शैलीमा निर्माण गरेको २१ गजुर भएको कृष्ण मन्दिरभित्र भगवान् कृष्ण तथा सत्यभामाका मूर्ति र दश अवतार, ‘रामायण’ र ‘महाभारत’का कथासँग सम्बन्धित चित्र तथा मूर्ति र शिवलिङ्ग रहेको विभाग हेरचाह अड्डा पाटनका प्रमुख काजी प्याकुरेलले बताए। उनका अनुसार मन्दिरमा दैनिक नित्यपूजाका साथै कृष्णाष्टमी र वैष्णव धर्मसँग सम्बन्धित एकादशीमा विशेष पूजा हुन्छ । कृष्णाष्टमीका दिन हरेक वर्ष राष्ट्राध्यक्षको उपस्थिति हुने गरेको छ । 

पाटन दरबारको आकर्षण 
सुन्दरी चोकदेखि केशवनारायण चोक हुँदै पाटन संग्रहालयसम्मको मल्ल राजाबाट प्रत्यक्ष शासन चलाइँदै आएको पाटन दरबार स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ । संग्रहालयको रुप दिइएको दरबारमा १८ औँ शताब्दीका चक्रसम्भव र वज्रबाराही, १२औँ देखि १३औँ शताब्दीका पद्यपाणि लोकेश्वर तथा वसुन्धराको मूर्ति, १४ औँ शताब्दीका शाक्यमुनि बुद्ध र पार्वतीको १०८ रुपमध्ये एक मानिएको सिद्धिलक्ष्मीको मूर्ति पर्यटकको आकर्षणको केन्द्र रहेका छन् । त्यस्तै विसं २०३५ तिर फर्पिङमा पाइएको १३ औँ शताब्दीको इन्द्रको मखुण्डो, १७ औँ शताब्दीको हनु भैरवको मखुण्डो, चैत्य, स्वयम्भू स्तूप तथा बोधिसत्व र यमराज प्रमुख छन् । 

राजा सिद्धिनरसिंहकी रानीले चोखो पानी भर्ने गरेको सुन्दरी चोक, मूल चोक तथा तलेजु भवानीको मन्दिरमा पनि स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । राजा योगनरेन्द्र मल्लले “जबसम्म मेरो शिरमा रहेको चरा उडेर जाँदैन, तबसम्म म जीवितै रहेको ठान्नू” भनेको विश्वास गरिएको संग्रहालयका सूचना अधिकारी सुनिल भण्डारीले जानकारी दिनुभयो । त्यसैले उनका लागि खाटमा ओछ्यान लगाएर नजिकै हुक्का पनि राखिने गरिन्थ्यो भनिन्छ । 

हरेक वर्ष असोज महिनादेखि झण्डै तीन महिनासम्म विदेशी पर्यटकको भीड रहने दरबार क्षेत्र र पाटन संग्रहालयमा वार्षिक १० लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको संग्रहालयले जनाएको छ । विकास समिति ऐनअन्तर्गत विसं २०५४ मा स्थापित संग्रहालय यसअघि राष्ट्रिय धातुकला संग्रहालयका रुपमा रहेको थियो । सातौँ शताब्दीदेखि २०औँ शताब्दीसम्मका बहुमूल्य मूर्ति, धातु र मखुण्डो संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । 

विशेष गरी पाटनका मूर्ति तथा कलाकृति बढी भए पनि काठमाडौँ उपत्यकासहित तिब्बत तथा तराई क्षेत्रलगायत देशैभरिका कलाकृति संग्रहालयमा छन् । भूकम्पबाट क्षतिग्रस्त कृष्ण मन्दिरको पुनःनिर्माण भूकम्प गएको एक सातापछि नै प्रारम्भ गरिएको, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, तलेजु मन्दिरको दक्षिणी भाग र सुन्दरी चोकको पूर्वी भागको पनि निर्माण पूरा भएको छ । ती सबै मन्दिरको पुनःनिर्माण कोषले गरिरहेको र उसले नै पुनःनिर्माण गरिरहेको मणिमण्डपको पुनःनिर्माण पनि भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ