arrow

एमाओवादीभित्र मन्त्री बन्न तछाँडमछाँड, अझै टुंगो लागेन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1697383930.jpeg

काठमाडौं । मन्त्री छान्न एमाओवादीको बैठक तीन दिनदेखि लगातार बसे पनि शुक्रबार बेलुकासम्म पार्टीले निर्णय लिन सकेको छैन।
 
अन्नपूर्ण पोष्टमा रेवती सापकोटा लेख्छन–मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएपछि सिफारिस गर्न सकस भएको छ। 'मन्त्री बन्नका लागि पार्टीभित्र तछाँडमछाँडको स्थिति छ, एक पोलिट्‍ब्यूरो सदस्यले भने। मन्त्री छान्नका लागि बुधबारदेखि पार्टीको निरन्तर बैठक बसिरहेको छ।

आधिकारिक निर्णय गर्न बाँकी रहे पनि  एमाओवादीले पार्टी सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग निश्‍चित भएको छ। रायमाझीलाई एउटा महत्वपूर्ण मन्त्रालय दिएर उपप्रधानमन्त्रीमा सिफारिस गर्ने तयारी छ।

स्रोतका अनुसार पटकपटक एउटै अनुहार दोहो्‍याउनु हुँदैन भन्दै भित्र तथा बाहिरबाट आलोचना भएपछि  गृह तथा उपप्रधानमन्त्रीका रुपमा प्रस्तावित कृष्णबहादुर महरा पछि हटेका छन् । महराको सट्टा अब रायमाझीले एमाओवादीबाट सरकारमा नेतृत्व गर्ने निश्चित भएको छ । तर उनको मन्त्रालय अझै टुंगो लागेको छैन ।
 
त्यसैगरी एमाओवादीबाट मन्त्री बन्ने सूचीमा गिरीराज मणी पोखरेल, अग्नी सापकोटा, शक्तिबहादुर बस्नेत, गणेशमान पुन, रेखा शर्मा, उमेश यादव छन्। गृह मन्त्रालय बस्नेत वा सापकोटामध्ये एकजनलाई दिनेबारेमा छलफल भइरहेको स्रोतले बतायो ।

सभामुखजस्तो महत्वपूर्ण संवैधानिक पदभन्दा मन्त्री बन्ने दौडमा पार्टीका नेताहरु सक्रिय भएपछि उपसभामुखबाट राजीनामा दिएकी अनसारी घर्तीले सभामुख बन्ने अवसर पाएकी छिन्। सभामुख पद एमाओवादीका महामन्त्री कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको हो।
 
तर उनले सभामुखभन्दा मन्त्री बन्ने इच्छा गरेपछि गिरीराजमणी पोखरेललाई सभामुख बनाउने तयारी भयो। तर उनले पनि सभामुख बनेर संवैधानिक दायरा तथा मर्यादामा खुम्चिनुभन्दा मन्त्री बन्ने चाहना देखाएपछि घर्तीलाई यो अवसर जुरेको छ।
 
सभामुख पदको अफरलाई अस्वीकार वा अपमान गरेर मन्त्री बन्न खोज्ने दुवैलाई सरकारमा पठाउन नहुने भन्दै युवा नेताहरुले नेतृत्वसमक्ष लबिङ गरेका छन्। पार्टीले यसअघि नै हरिबोल गजुरेललाई कृषिमन्त्रीका रुपमा सरकारमा सहभागी गराइसकेको छ।
 
एमाओवादीको भागमा गृह, स्थानीय, वाणिज्य तथा आपूर्ति, वन, कृषि मन्त्रालय परेका छन्। शिक्षा र स्वास्थ्यमध्ये एक र पर्यटन तथा ऊर्जा मन्त्रालयमध्ये एक पाउनुपर्ने दाबी एमाओवादीले गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ