arrow

नेपालका कम्युनिष्टहरु अब आफै पतन हुन्छन् : काँग्रेस नेता खाँण

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
Deepan.jpg

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति नेपाली कांग्रेसका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु अब आफै पतन हुने दावी गरेका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले सो कुरा बताएका हुन् ।
 
उनले नेपाली जनता सधैभरी लोकतान्त्रिक शासन पद्धति,शान्ति र विकासको पक्षमा रहेको बताउदै भने,“ निरंकुश राणा शासन ढल्यो, पञ्चायत टिकेन, राजतन्त्र गयो, प्रचण्ड र ओली  नामका दुइजना कम्युनिष्ट नेता मिल्दैमा नेपालमा कम्युनिज्म आउदैन लोकतन्त्रका लागि निरङकुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरङ्कुशता स्वीकार गर्नै सक्दैनन ।”
 
नेता खाँणले अधिनायकवादीहरुलाई आफ्नो सत्ता अकण्टक रहने भ्रम रहने उल्लेख गर्दै भने, “पूर्वी जर्मनीमा जसरी युवाहरुले कम्युनिष्टहरुले लगाएको पर्खाल तोडे, त्यसरी नै नेपाली युवाले निरंकुश र अधिनायकवादको मार्गमा जान अग्रसर नेपालका कम्युनिष्टहरुको महत्वकांक्षाको पर्खाल चकनाचूर पारिदिनु पर्दछ।”
 
उनले कम्युनिष्ट नेताहरुले उठाएको खोक्रो राष्ट्रवादलाई पनि उदांगो पार्नु आवश्यक भएको उल्लेख गरे । उनले भने,“ हामी भौलोगिक, सांस्कृतिक, जातिय र धार्मिक विविधतायुक्त यो देशलाई सबैको साझा देशको रुपमा विकास गर्ने संकल्प लिएर हिडेका छौ । तर कम्युनिष्ट मध्येको ठूलो दलका अध्यक्षले देशको ठूलो हिस्सामा बस्ने नेपालीलाई भड्काउने काम गरेका छन् । ”
 
“मुलुकमा विखण्डनको विउ रोप्न खोज्ने सि के राउत र एमाले अध्यक्ष ओली एकै सिक्काका दुई पाटा हुन, कोही पनि भ्रममा नपरे हुन्छ ” नेता खाँणले भने।
 
नेता खाँणले प्रतिप्रश्न गरे, “हिमाल, तराइ र पहाड मिलेर बनेको मुलुकमा एक भागमा बस्नेले अर्कोलाई गाली गर्ने, एक जातिले अर्को जातिलाई गालि गर्ने एक धर्म र संस्कृतिका अनुगामीले अर्को धर्म र संस्कृतिका अनुगामीलाई गाली गर्दा राष्ट्रियता बलियो हुन्छ कि एकर्काको बीचमा सुहार्द सम्बन्ध कायम राख्दा राष्ट्रियता बलियो हुन्छ ?"
 
उनले हरेक नेपालीले देशको माया गरेको बताउदै सीमा क्षेत्रका बासिन्दाले विभिन्न कष्ट सहेर पनि देशको सीमाको रक्षा गरेको बताए । उनले भने,“मधेशवासी लगायत अन्य भूभागमा बस्ने नेपालीलाई गाली गर्नु राष्ट्र कमजोर पार्नु हो । राष्ट्रलाई खण्डित गरेर नेपालको राष्ट्रियताको रक्षा हुन सक्दैन । राष्ट्रियहित र एकता सबल बनाउन सबै भाग र प्रदेश एकावद्ध भएर बस्नुपर्छ ।”
 
उनले नेपाली कांग्रेस पहाड र तराइको पुल भएको पनि उल्लेख गरे। कम्युनिष्ट नेताहरुको कथनी र करणीको अन्तर औल्याउदै उनले भने, “प्रयोगशाला भन्ने पुस्तकका लेखकले २०६९ सालमा ओलीले गोप्य रुपमा होटल एभरेष्टको कुन रुममा कुन समयमा कति घण्टा भेट गरे भनेर किटानीसाथ लेखेका छन् । अनि उनै राष्ट्रवादी हुने ?”
 
कार्यक्रममा नेता खाँणले भने,“कम्युनिष्ट पार्टीका कुन कुन नेताले कुन कुन एजेन्सीबाट कस कसको पैसा खाएका छन हामीसंग रेकर्ड छ ।” विदेशीको खोल ओढेर, माक्र्सवादको खोल ओढेर नेपालका कम्युनिष्टहरुले  नयाँ पुस्तालाई आकर्षण गर्न नसक्ने पनि उनले स्पष्ट पारे।
 
“मदन भण्डारीले ल्याएको बहुदलिय जनवादलाई नेपाली जनताले स्वीकार गरेका हुन । नेकपा माओवादी पनि संसदीय  व्यवस्थामा आएपछि जनताले स्वीकार गरेका हुन ” उनले भने,“अहिले दुवै दलहरु कम्युनिष्ट अधिनायकवादको सपना देखिरहेका छन, लोकतान्त्रिक पद्धति र मौलिक स्वतन्त्रता उपभोग गरिहेका नेपालीलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।”
 
उनले नेपाली कांग्रेसले सम्पूर्ण देशवासीको लागि अनुकूल हुने गरी उद्योग, व्यापार, शिक्षा, पूर्वाधार र आर्थिक विकास सम्बन्धी नीति ल्याएको उल्लेख गर्दै भने,“ हाम्रो पाटीले आफै व्यवसाय गरेको छैन, कम्युनिष्टहरुले खोलेका छन । उनीहरु सत्तामा आएमा आफ्ना संस्था र व्यवसाय बचाउने काम गर्छन । त्यतिवेला स्वतन्त्र व्यवसायीले के गर्ने रु   निजी लगानीकर्ताको अवस्था के होला ?”
 
नेता खाँणले पहिले एमालेको तर्फबाट सांसद बनिसक्नुभएका नेपालका प्रसिद्ध उद्योगी तथा व्यापारी विनोद चौधरीको नेपाली कांग्रेस प्रवेशले पनि मुलुकमा वामपन्थीको वर्चश्व उद्योगी,व्यापारी र आफ्नो व्यवसाय गरिखाने व्यवसायीहरुले अस्वीकार गरेको प्रमाणको रुपमा व्याख्या गरेका थिए  ।
 
मुलुक प्रगतिको पथमा गैरहेको बताउदै नेता खाँणले भने,“संसारभरी विलय भैसकेको नीति नेपालका कम्युनिष्टहरु धिपधिप बाली राख्न चाहन्छन ।”
 
नेका नेता खाँणले नेपाली कांग्रेसले लोकतन्त्रको स्थापना र विकासका साथै देशको पूर्वाधार,सामाजिक सेवा र आर्थिक विकासको क्षेत्रमा गरेका कामहरु गर्व गर्न लायक भएको पनि उल्लेख गरे।
 
२०४६ सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुले लोकतन्त्रको संस्थागत विकास सहित आर्थिक सामाजिक विकासमा पनि अवरोध सिर्जना गरेको आरोप लगाउदै भने,“कम्युनिष्टहरुलाई सुधार्ने नाममा यो मुलुकले धेरै मूल्य चुकाएको छ तर कम्युनिष्टहरुको अवस्था देखिहाल्नुभयो, अझै अधिनायकवादको सपना देखिरहेका छन् ।”
 
उनले मंसिर १० र २१ गते हुने संघीय र प्रादेशिक संसदको निर्वाचन लोकतन्त्रवादी गठवन्धनलाई बहुमतमा पुर्‍याउन देशको प्राज्ञिक जगत पनि उत्तिकै सक्रिय रुपले सहभागी हुन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ