arrow

मेलम्ची खानेपानीः सुरुङ खन्न १२ सय मिटर बाँकी 

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
melamchi.jpeg

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । 

हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।

आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ । दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने ।

लार्के र यांग्रीको डिपिआर अन्तिम चरणमा 
मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुनेछ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

डिपिआर पास भएलगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटाको भनाइ छ ।

उनका अनुसार लार्के र यांग्रीको पानी राजधानी ल्याउन ११ किमि सुरुङ खन्नुपर्छ । ‘लार्के र यांग्री खानेपानी आयोजनाका डिपिआर दुई महिनामा सकिनेछ । त्यसलगत्तै सुरुङ निर्माणका लागि टेन्डर आह्वान हुनेछ । यसै आर्थिक वर्षभित्र काम सुरु गर्ने लक्ष्य छ,’ उनले भने ।

लार्के र यांग्रीको डिपिआर स्पेनिस परामर्शदाता इपिसाले तयार गर्दै छ । १० महिनादेखि डिपिआर निर्माणमा लागेको इपिसाले दुई महिनाभित्र सबै काम सक्ने जनाएको छ । 

योजनाअनुसार लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं उपत्यका ल्याइनेछ । यसपछि मेलम्ची खानेपानीको सुरुङ भएर दैनिक ५१ करोड लिटर पानी उपत्यका भित्रिनेछ ।

 ९६ प्रतिशत काम पूरा
सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७।५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ । त्यसमध्ये २६।५८४ किमि सुरुङ खनिसकिएको छ । हालसम्म ९६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । 

यसक्रममा करिब २२ अर्ब रुपैयाँ सकिइसकेको छ । आयोजनाका लागि झन्डै २७ अर्ब रुपैयाँ बजेट विनियोजित गरिएको छ । आयोजनाका अनुसार अहिले अम्बाथानको तल्लो भाग, सिन्धुको माथिल्लो भाग र ग्याल्थुमको माथिल्लो र तल्लो दुवै भागबाट सुरुङ खन्ने काम दु्रत रूपमा अघि बढेको छ ।

 ‘सुरुङ खन्न चार प्रतिशत मात्र बाँकी छ, द्रुत रूपमा काम सक्न ठेकेदार कम्पनीले सोहीअनुसार कामदार खटाएको छ । यसले चाँडै आयोजना पूरा हुनेमा आत्मविश्वास जगाएको छ,’ कार्यकारी निर्देशक देवकोटाले भने ।

स्वदेशी र विदेशी व्यवसायीबीचको विवाद साम्य
मेलम्ची खानेपानी आयोजनाको जिम्मा लिएको इटालियन कम्पनी सिएमसी डी राभेना र नेपाली व्यवसायीबीचको विवाद पनि साम्य भएको छ ।

सिएमसीविरुद्ध संघर्ष समिति नै गठन गरेका नेपाली व्यवसायीले काठमाडौंवासीको मेलम्ची सपना छिटोभन्दा छिटो पूरा गर्न इटालियन कम्पनीसँगको सहकार्य र समझदारी जारी रहने जनाएका छन् ।

हाई हिमालय मेगाटेकका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘विवादका रूपमा राखिएका सबै माग हामीले फिर्ता लिएका छौँ । र, सो कम्पनीको अपमान हुने गरी व्यक्त भएका विचारहरूप्रति क्षमाप्रार्थी छौँ ।’ 

मुख्य कम्पनी, नेपाली ठेकेदार र सर्वसाधारण सबै मिलेर यो परियोजना छिटो सक्ने लक्ष्यमा आपूmहरू स्पष्ट रहेको पनि सो कम्पनीले जनाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ