वैदेशिक रोजगारीमा मलेसिया गएकाको व्यथा – सरकार ! कतिन्जेल हामी तड्पिएर बाँच्नु ?

 बैजनाथ मण्डल प्रकाशित मिति : २०७४ कार्तिक २२ बुधबार , २,१०६ पटक हेरिएको

क्वालालम्पुर । नेपालमा रोजगारीको अभावमा दैनिक दुई हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारका लागि विदेशिने गरेका छन् । यो अवस्थामा विदेशमा रहेका राजदूतावासले नेपाली श्रमिकलाई सटाउनुको सट्टा उल्टै दलाली गरिरहेका छन् भन्ने सुन्दा दुःख लाग्नु स्वभाविकै हो ।

मलेसियामा रहेको नेपाली राजदूतावास पनि श्रमिकहरुको पक्षमा भन्दा स्थानीय उच्चस्तरका दलाल र म्यानपावर व्यवसायीको अखडा स्थलको रुपमा रहेको पाउँदा दुःख लागेको छ । 

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्ने म जस्ता लाखौं श्रमिकहरुले मलेसिया जानुभन्दा पहिले नेपालमा रहेको म्यानपावर व्यवसायीहरुले देखाएको सपना, आय श्रोतको लालच अनुरुप नपाएपछि आफ्नो पीडा दर्शाउन दैनिक हजारौं नेपाली श्रमिकहरु मलेसियाको क्वालालाम्पुरस्थित नेपाली राजदूतावासको कार्यालयमा पुग्ने गर्दछौंं । 

तर पनि श्रम सहचारि, राजदूतावासका कर्मचारीहरुबाट कुनै पनि सहयोग नपाउने गरेको समाचार बारम्बार आइरहेको सुनेको थिएँ । 

नेपालमा भने बमोजिमको काम, तलब र सुविधा नपाएपछि विदेशको ठाउँमा आफ्नो संरक्षक अथवा घर सम्झी नेपाली राजदूतावासमा आफ्नो पीडा र दुःख, ब्यथा ब्यक्त गर्न आउँदा राजदूतावासका कर्मचारीहरु केही थाहा नपाए जसो गरि बसेका हुँदा रहेछन् ।
  
मलेसियास्थित रोजगारदाता कम्पनीले हामीलाई समयमै तलब नदिएको, बिरामी हुँदा मेडिकल नगरेको, यद्यपि काम मात्र गराउने तलब माग्दा कुटपिट माात्र गर्ने गरेको गुनासो लिएर राजदूतावासमा जाँदा श्रम सहचारी बाबुलाल रेग्मीले, तिमीहरु काम गर्न आएका हौ, काम गर्दै गर्नु भनी उल्टै अपूर्ण जवाफ दिएर पठाएका छन् र हाम्रो कुनै सुनुवाई भएको छैन ।
  
अब के गर्नु कम्पनीमा जाउँ तलब दिंदैन, घर जाउँ भन्दा पैसा छैन घर फर्कनलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइदिनुहोस् भन्दा सबै भन्दा पहिले मलेसीयन कम्पनी हरफारासीलाई आरएम ११८०।– बुझाएको रसिद लिएर आउनुहोस् अनिमात्र हामीले ट्राभल डकुमेन्ट दिन्छौ नत्र दिदैनौ भनी बिनोद सरको आदेश हो भनेर रावश्वको बिल काट्न नमिल्ने रबि भट्ट सरले बताउनुभयो । अनि मैले भने आफ्नो देश जानलाई मलेसिया कम्पनीलाई किन बुझाउनु, नेपाली राजदुतावास नेपाल सरकारको कार्यालय हो की, स्थानीय दलालहरुको अफिस ?

प्रतिउत्तरमा उहाँले भन्नुभयो, धेरै कुरा गर्ने हैन, माथि ९ तलामा गएर कुरा गर्नु ।  तल सेक्यूरिटि गार्ड थियो, ९ तलामा जाने बाटो सोध्दै पुगें, प्रशासकीय अधिृकत प्रेमराज गौतम सरलाई भेटें । 

सर हामी नेपाल फर्कन आएको धेरै दुःख पायौं । उहाँले रिसाएर भन्नु भयो, हामीले हिजो नै सूचना प्रकाशित गरेका छौ, नेपाल जानलाई हरफासीको अफिसमा जानु । म रणभुल्ल परें । फेरी भनें सर हामी नेपाली राजदूतावास आएको न्यायको लागि !

प्रतिउत्तरमा प्रेम सर भन्नेले तपाईहरु डिसिएम साव कहाँ जानुस भन्नुभयो । उफ् कस्तो हाम्रो भाग्य , घर जग्गा धितो राखेर ऋण गरेर आफ्नो पैसाले आफैलाई बेचेर सात समुन्द्र पारी आयौं । 

अब आफ्नो ज्यानको सुरक्षाको लागि स्वदेश फर्कन पनि आफ्नो नेपाली राजदूतावासको कर्मचारीबाट पनि कुनै सहयोग भएन । 

एकैछिनपछि छोटो हदमा तालु खुईले ब्यक्ति आफ्नो कोठा भित्र पस्नुभयो अनि प्रेम सरले भन्नुभयो वहाँ नै हो डिसिएम भनेको ! सबै कुरा वहाँलाई नै बताउनुहोस् ।
 
हामीले आफ्नो सबै महाभारत वहाँ डिसिएमलाई सुनायौं तर १२ बर्ष रावण पढायो सीता कस्को जोइ भन्ने उखान सावित भयो । 

श्रम सहचारि बाबुलाल रेग्मीदेखि अधिृकत बिनोद मुखिया र प्रशासकिय अधिकृत प्रेमराज गौतमले भनेको रामायाण हामीलाई सुनाएपश्चात हामीलाई न्याय दिन सक्ने ब्यक्तिहरुबाट कुनै न्याय नपाइने छर्लङ्ग भयो । 

त्यसपश्चात स्वदेश फर्कर्ने भन्दा दुतावासले पनि सहयोग गरेन काम गरौ भने पनि काम गरेवाफत कुनै तलब नदिने भएकोले हामी अवैद्यानिक भएर हिडिरहेका छौ । 

तसर्थ बिन्ति गर्दछौं । हे नेपाल सरकार ! कतिन्जेल हामी यसरी बेसाहार भएर बाँच्नु ? 

(राजविराज–८, सप्तरी
हालः सेलांगर मलेसिया)

नयाँ