arrow

दोधारा चाँदनीमा अहिलेसम्मकै विशाल सभा, लेखकले भने ७ नम्बर प्रदेशबाट औद्योगिक क्रान्ति 

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
ramesh-lekhak-mahakali.jpg

कञ्चनपुर । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री रमेश लेखकले अब ७ नम्बर प्रदेशबाट औद्योगिक क्रान्ति सुरु हुने बताएका छन् । 

नेपाली काँग्रेस कञ्चनपुरले क्षेत्र नम्बर ३ को महाकाली नगरपालिकामा बुधबार भएको विशाल चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले कञ्चनपुरको दोधरा चादनीलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गरेपछि प्रदेश नम्बर ७ बाट देशमा औद्योगिक क्रान्तिको सुरुवात हुने बताएका हुन् । 

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएपछि ५ वर्ष भित्र दोधरा–चाँदनीमा सुख्खा बन्दरगाहलाई भारतका विभिन्न सहरसँग जोडेर देशकै ठूलो बन्दरगाहको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको उनले बताए । 

कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार लेखकले भने,‘ब्रमदेवबाट दार्चुलाको टिंकरसम्म सडक निर्माण गरि चीनलाई समेत जोडेर कञ्चनपुरलाई त्रिदेशिय नाका बनाएपछि औद्योगिक क्रान्ति सुरु हुनेछ । ’ 

भारतको नयाँ दिल्ली लगायतका विभिन्न सहरबाट मानसरोवर जाने पर्यटकहरुकालागि समेत अब बन्ने त्रिदेशिय नाका सबैभन्दा नजिक र सहज हुने भएकाले धार्मिक पर्यटनको पनि कञ्चनपुरमा उत्तिकै संभावना रहेको उनले बताए । 

पहिलेको निर्वाचनताका आफुले बोलेका कुरा निर्वाचित भएपछि पुरा गरेको स्मरण गराउँदै नेता लेखकले दोधरा–चाँदनी जोड्न महाकाली नदीमा झोलुंगे पुल निर्माण, महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण प्रारम्भ, सुदूर पश्चिम विश्वविद्यालय स्थापना, महाकाली बाध निर्माण, स्वास्थ्य केन्द्र निर्माण, विद्यालय तथा क्याम्पस स्थापना, सडक, खानेपानी आयोजना निर्माण जस्ता जनताको प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका काम गरेको बताए । उनले भने, ‘तपाईहरु सोध्नुस् नेपाली कांग्रेसलाई मत दिन दिने ? विकासका एजेण्डामा हामी बहस गर्न तयार छौ। मैले निर्वाचित भएपछि के के गरे मैले तपाईहरुलाई भनिरहनै पर्दैन । ’ विपक्षीहरुले असंभव भनेका विकास निर्माणका कामहरुलाई आफुले गरेर देखाएपछि आत्तिएर उनीहरु झुटको खेती गरिरहेको उनले बताए । उनले भने,‘महाकाली नदीमा झुलुंगे पुल बनाउछु भन्दा पत्याएनन् । पुल बनेपछि पक्की पुल बनाउन सक्छ ? भने । चार लेनको पक्की पुलको पनि प्रधानमन्त्रीले शिलान्यास गरेर ठेक्का भएपछि अब भन्दैछन् ढिलो बन्छ होला । ’
    
 राजनीतिक झगडा समाप्त भएको भन्दै नेता लेखकले अबको वहस विकास र समृद्विका लागि हुनु पर्ने बताए । दोधरा–चाँदनीका जनताले विकास चाहेको बताउदै त्यो विकास नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकाले जनताले नेपाली कांग्रेसलाई जिताउने विश्वास नेता लेखकले व्यक्त गरे । 

दोधरा–चाँदनीमा नेपाली कांग्रेसले गरेको चुनावी सभा अहिलेसम्मकै विशाल आमसभा भएको सहभागीले बताएका छन् । महाकाली नगरपालिका ५ की नन्दा भट्टले भनिन, ‘यति ठूलो आमसभा दोधरा चादनीमा अहिलेसम्म भएको थिएन । विकास गर्ने नेतालाई जनताले माया गर्छन भन्ने प्रमाण हो यो । ’ 

नेपाली कांग्रेसले सोमबारदेखि सुरु गरेको वृहत चुनावी सभा अभियान अन्तरगत बुधबार क्षेत्र नम्बर ३ को हल्दुखाल, मजगाँउ र महाकाली नगरपालिका दोधरा–चाँदनीमा संयुक्त विशाल आमसभा सम्पन्न भएको हो । 

आमसभामा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद र क्षेत्र नम्बर १ का उम्मेदवार दिवानसिंह बिष्ट लगायत प्रदेश सभाका उम्मेदवारले समेत सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ