arrow

लिच्छविले सिकाएको पाठ : यस्ता थिए स्वर्ण युगका शासकका प्रजाप्रतिको व्यवहार

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
Kathmandu_Patan_Durbar_Square_in_the_19th_century.jpg

काठमाडौं । किराँतकाल पछि नेपालमा लिच्छविहरुको शासन सुरु भयो । यो काल प्रथमदेखि आठौँ शताब्दीसम्म मानिन्छ । मगधका राजा अजातशुले वैशालीमाथि आक्रमण गरेकाले लिच्छविहरु त्यहाँबाट भागेर नेपाल आए । परिणाम स्वरुप यहाँ लिच्छविकालीन शासन सुरु भयो भन्ने भनाइ छ। लिच्छवि कालको बारेका विस्तृत प्रकाश पार्नु पर्ने प्रमुख सामग्रीहरुमा वंशावली तथा अभिलेखहरु नै महत्वपुर्ण स्रोतहरु हुन् ।यसकालका विशेषगरी देव र लिच्छवि, गुप्त र वर्मा वंशीय राजाहरु भए ।

नेपालमा लिच्छविहरुको शासन स्थापना भएपछि सामाजिक व्यवस्थापनमा आमूल परिवर्तन आयो । लिच्छविहरुले हिन्दु धर्म र दर्शनलाई अँगालेर सोही बमोजिम सामाजिक व्यवस्था कायम गराए । अब समाज हिन्दू संरचनाका आधारमा संगठित हुन थाल्यो । यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्यो । लिच्छवि राजाहरुले लिएको समानता र उदार नीतिको फलस्वरुप विविद जातजातिले फस्टाउने मौका पाए । सामाजिक, धार्मिक, सांस्कृतिक, बौधिक एवम् ज्ञान बिज्ञानका क्षेत्रमा अभूतपूर्व उन्नति भयो । फलस्वरुप नेपालको इतिहासमा लिच्छवि काल स्वर्णयुगको रुपमा मानिएको छ । तत्कालीन राजाहरुले जनहितलाई अत्याधिक महत्व दिएका थिए । लिच्छवि कालमा विकसित सामाजिक तथा राजनीतिक पृष्ठभूमिमा मल्लकालीन संस्कृतिको निर्माण भएको हो ।

लिच्छविकालीन शासन व्यवस्थाका अनेकौँ विशेषताहरु थिए। लोक कल्याणकारी शासन व्यवस्था तथा राजाहरुले लिएको उदार नीति त्यो समयको महत्वपुर्ण विशेषता थियो । त्यस्तै प्रकारले लिच्छवि कालको जनजीवन संगठित थियो । उन्नत आर्थिक अवस्था थियो । यसका साथै विद्याको स्तर पनि उँचो हुनुका साथसाथै कला कौशलको क्षेत्रमा पनि त्यतिकै विकास भएको थियो । यसर्थ नेपालको इतिहासमा लिच्छविकालीन शासन व्यवस्था ज्यादै नै महत्वपुर्ण ऐतिहासिक कालको रुपमा रहेको छ । 

यस समयमा केही महत्वपुर्ण र प्रख्यात राजाहरु भए । तिनीहरुमा जयदेव प्रथाम , हरिदत्त, बृषदेव, धर्मदेव, मानदेव प्रथम, अंशुबर्मा, नरेन्द्रदेव, शिवेव द्धितीय,जयदेव द्धितीय आदि । गोपालराज वंशावलीमा यिनीहरुका बारेमा चर्चा गरिएको छ। लिच्छवि राजाहरु शान्तिप्रिय, धर्मानुरागी, नियममा रहने, विद्या निपुर्ण आदि गुण भएका थिए । अधिकांश लिच्छवि राजाहरुले कुशलतापूर्वक शासन सञ्चालन गरे । कतिपय अभिलेखहरुमा राजाहरुका गुणको पनि चर्चा गरिएको छ । पशुपतिको जयदेव द्वितीयको अभिलेखमा राजा वृषदेवका बारेमा लेखिए अनुसार "जितबाजी गर्ने जयदेव राजादेखी बिचमा बाह्र जना राजालाई छोडेर बौद्ध धर्ममा झुकेका श्री भनी प्रख्यात भएका असल राजा हुनुभयो"  राजा मानदेवका बारेमा केलकोलको अभिलेखमा उल्लेख गरिको पाइन्छ " ...शास्त्रमा कहे अनुसार ... निग्रहमा लागेका, चोखो मन भएका राजा मानदेव दुनियाँलाई बाबुले जस्तै माया गर्नु हुन्छ । 

यी दुई उदाहरणबाट तत्कालीन राजाहरुको जनतालाई हेर्ने दृष्टिकोण प्रस्ट हुन्छ । मानदेव प्रथमको समय लिच्छवि इतिहासमा महत्वपुर्ण मानिन्छ। यिनको समयमा शासन व्यवस्था स्थिर रहयो । तर, त्यसपछि भने विस्तारै शासन व्यवस्थामा अस्थिरता आउन थाल्यो र भारदारहरु शक्तिशाली हुदैँ जान थाले । लिच्छवि शासन व्यवस्था अन्तर्गत भएको स्थानिय प्रशासनको विकास निकै महत्वपूर्ण छ । त्यसवेला पाञ्चली तथा गोष्ठीका माध्यमबाट जनताहरु संगठित थिए। राजनीतिक उद्देश्य परिपूर्तिको लागि पनि शासकहरुले स्थानीय तहमा अधिकार सुम्पदै जाने नीति लिए। 

अंशुबर्माले यसतर्फ केही सुधार गरे र यिनले स्थानिय शासनअधिकार जनतालाई प्रदान गरी स्वयत्त शासनलाई प्रोत्साहन दिए। जनतालाई उनीहरुको क्षमता अनसार नै अधिकार दिएको थियो । यसबाट जनतामाझ अंशुबर्माको प्रसिद्धि बढेको थियो । राजा नरेन्द्रदेवले पनि जनहितका कार्यलाई प्राथमिकता दिएका थिए। उनले पनि स्थानिय शासन अधिकार स्थानिय तहमा दिँदै गए र यिनले पञ्चाली पद्धतिलाई बढावा दिए  किनभने यो नै जनसमस्या निदान गर्ने मुख्य केन्द्र हो भनी महसुस गरेका थिए । पाञ्चालीलाई यिनले गरेनन् बरु यसले गर्न नसकेका काम मात्र आफु गर्थे । यिनले बौद्ध संघलाई पनि अनेकौँ प्रशासनिक र न्यायिक अधिकारहरु प्रदान गरे । 

त्यसैगरी पाशुपत सम्प्रदायको मण्डलीलाई अधिकार दिँदै यसको क्षेत्रभित्र कुनै पनि अधिकरणले पस्न नपाउने भन्ने ब्यवस्था बाँधिदिए । यसरी आवश्यक कार्य मण्डलीले नै गर्न पाउने व्यवस्था मिलाई दिए । यिनको उदार नीतिको कारण जनतासँग ज्यादै सुमधुर सम्बन्ध बनेको थियो । जनतालाई सुखी राख्नु र उनीहरुको आर्थिक बोझ कम गर्नु यिनको उद्देश्य थियो । यसका साथै यिनले जनहितका अन्य धेरै कार्यहरु पनि गरे ।

वास्तवमा राजा र प्रजाबीच आदर्श सम्बन्धको खाका लिच्छवि कालमा नै बनेको थियो । जुन व्यवहारमा समेत लागु भयो । लिच्छवि कालमा शासनमा जनताको सहभागिता बारे चर्चा गर्दा पाञ्चाली र गोष्ठीको चर्चा गर्नु अपरिहार्य छ । यसबाट राजाले यसबारेमा लिएको नीति र जनताको शासनमा सहभागिताको स्वरुप बारे जानकारी प्राप्त गर्न सकिन्छ । वास्तवमा कतिपय लिच्छवि राजाहरु उदार प्रवृर्त्ति भएका कारणले गर्दा नै जनताले स्थानीय शासनअधिकार प्राप्त गरेका हुन् । यसैकारण नेपालको इतिहासमा अरु कालखण्डभन्दा लिच्छविकालीन शासन व्यवस्था पृथक देखा परेको हो ।

स्थानिय शासन सञ्चालन गर्न एवम धार्मिक , शिक्षा, स्वास्थ आदि काम गर्नकै लागि पञ्चाली र गोष्ठीको व्यवस्था गरिएको थियो । पाञ्चाली पनि उच्च स्तर रग्राम गरी दुई प्रकारका थिए । त्यस्तै गोष्ठी पनि पारिवारिक र गुठियारले सञ्चालन गर्ने गोष्ठीमा विभक्त थियो । यस्ता गोष्ठीबाट तोकिएको निश्चित कार्य सम्पन्न हुन्थ्यो । लिच्छवि कालमा ग्राम पञ्चालीको माध्यमबाट जनताले शासनमा सहभागी हुने अवसर पाएका थिए। यो लोक कल्याणकारी शासन द्योतक थियो ।यस्तै प्रकारको प्रणालीका रुपमा मल्ल कालका प्रजापञ्च  र पञ्चसमुच्चयको अवधारणाको विकास भएको थियो । लिच्छवि काल जनकल्याणकारी शासनको युग थियो। यसका लागि अनेकौँ अधिकरणका अधिकारपनि कटौती भएको थियो । 

लिच्छवि कालमा स्थापित पाञ्चाली व्यवस्थाले स्थानिय प्रशासनमा जनताको सहभागितालाई जोड दिएको थियो ।पाञ्चाली शब्दले पञ्चहरुको सिमान भन्ने अर्थलाई  जनाउँदछ । यो व्यव्था अन्तर्गत ग्राम प्रधानले गाँउको मुखियाको भूमिका निर्वाह गर्दथे र आन्तरिक मामिला सञ्चालनमा जिम्मेवार हुन्थे। स्थानीय द्धरेले जनता र माथिल्लो तह बिच सेतुको काम गर्दथे । नेपालका लिच्छविहरुले परम्परादेखि चलेको लिच्छवि गणतन्त्रात्मक परम्परा पुर्ण रुपमा परित्याग गरी मजबुत राजतन्त्र स्थापना गरे । साथै स्वायत्त शासनको अवधारणा पाञ्चालीको माध्यमबाट अगाडि बढाए । ग्राम स्तरको पाञ्चाली स्थानीय प्रशासन सञ्चालन तथा राजकर संकलनमा जिम्मेवार हुन्थे । लिच्छवि प्रशासनिक संगठन अन्तर्गत पुर, तल, द्रंग, कोट्ट, लिंग्वल, अधिकरण, करण आदि व्यवस्थित तहगत संरचना पनि थिए ।

प्रत्येक गाँउमा ग्राम पञ्चालीको स्थापना गरिएको थियो । पञ्चालीका पञ्चालिकहरुले नै ग्राम प्रधानको छनोट गर्दथे ।तिनीहरुको स्थान सम्मान पुर्ण थियो ।पञ्चालीको सम्वन्ध सोझै राजासित हुन्थ्यो ।राट्रिय समस्या आइपरेमा समाधानको लागि आवस्यक निर्णय लिन पञ्चालीको सभा बस्थ्यो । यसरी भेला हुँदा त्यस घरमुलीहरु भेला विमर्श गर्थे । अर्को प्रकारको पाञ्चली सभा स्थायी प्रकारको थियो । जसमा स्थाइ रुपमा तोकिएको सदस्य हुन्थे । छानिएका पञ्चालीहरुको जिम्मेवारी तोकिएको पञ्चाली काम तोकिएको काम गर्ने, आइपरे राट्रिय संकट समाधान गर्न आवस्यक निर्णय लिने र तोकिएको कर संकलन गर्नु थियो । 

पाञ्चालीले प्राप्त गरेको अधिकार अधिकरणहरुको अधिकार झिकेर दिएको हुनाले ती अधिकरणहरुलाई ती क्षेत्र प्रवेश गर्न प्रतिवन्ध गरिएको थियो ।यसरी पञ्चालीहरु अधिकार संपन्न थिए। पाञ्चाली व्यवस्थाको कारण नै लिच्छवि कालमा जनताहरु जागरुक भएका हुन् ।तर यस प्रकारको व्यवस्थाले कालान्तरमा केन्द्र शासन कम्जोर हुँदै जान थाल्यो । यसैको परिणाम स्वरुप स साना राज्यको उदय हुनकामा सघाउ पुग्यो ।

लिच्छवि कालमा जनसहभागिताको अर्को उदाहरण गोष्ठी प्रथा थियो । विशेष रुपमा शिक्षा, स्वास्थ लगायतका क्षेत्रमा कार्य गर्न जनसहभागिता र आपसी सहमतिमा विभिन्न गोष्ठीहरु स्थापना भए । गोष्ठीहरु परिवारले वा गुठियारहरुले संचालन गर्दथे । कामको प्रकृती अनुसार विभिन्न प्रकारका गोष्ठीहरु हुन्थे । त्यस्ता गोष्ठीहरुको प्रमुख कर गोष्ठी,प्रदिप गोष्ठी,पानिय वा प्रणाली, मल्लयुध्ध,बाह्रमण,प्रवहण,वादिव, अर्चा,ध्वज, धुप, इन्द्र, अरोज्यसाला, वैतिरियाशाला गोष्ठी आदि थिए । 

यी गोष्ठीहरुमा स्थानीय समुदायको गुठियाका हैसियतले सकृय सहभागिता हुन्थो । पछि गएर यी गोष्ठीहरु गुठीको नामले जान्न थालियो ।  यसरी लिच्छवि कालको अन्त्य र निनलाई सत्ताच्युत कुन राजवंशले गर्यो भन्ने प्रश्न छ, यसलाई स्पस्ट भन्न सक्ने स्थिति छैन । गोपालराज वंशावलीमा यसभन्दा पूर्वका राजवंशलाई च्युत गर्ने राजवंशका बारेमा चर्चा गरिएको छ । तर लिच्छविहरुलाई कुन वंशले अपवाद गर्यो भन्ने बारेमा गोपालराज वंशावली मौन छ। यसर्थ पनि लिच्छवि वंशका अन्तिम राजा भनि मानिएका जयदेव द्धितीयपछिका देव नामधारी राजाहरु लिच्छवि कालको अन्त्य पछि आएका ती देव वंशी राजाहरु पनि लिच्छविकै वंशज हुन् भन्ने भनाइ इतिहासकार धनवज्र वज्राचार्यको छ । जे होस लिच्छवि सत्ताको अवसान आठौँ शताव्दीमा भयो । तत्पश्चात नेपालमा मध्य कालको सुरुवात भयो भनी ऐतिहासिक काल विभाजन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ