arrow

सभापति देउवाले ७० व्यवसायीलाई पठाए यस्तो पत्र (पत्रसहित)

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
Sherbahadur_Deuba_214716162-1.jpg

काठमाडौं । चुनाब नजिकिँदै गर्दा नेपाली कांग्रेस व्यवसायी फकाउन सक्रिय भएको छ । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता हुने भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ७० जना उद्योगी-व्यवसायीलाई पत्र पठाएर निर्वाचनमा सहयोग गर्न आह्वान गरेका छन् ।एमाले र माओवादीले गठबन्धन गरी चुनाबमा होमिएपछि लोकतन्त्रबादी शक्तिहरु एक हुनुपर्ने समय आएको भन्दै सभापति देउवाले पत्र पठाएका हुन् ।

‘आर्थिक विकासको मोडल लोकतान्त्रिक शासन पद्दतिका विश्वव्यापी स्थापित मान्यता एवं खुल्ला बजार अर्थतन्त्र र सामाजिक न्यायको छाता बाहिर गएर संभव छैन,’ पत्रमा भनिएको छ, ‘त्यसैले फेरि एकपटक लोकतन्त्रबादी शक्तिहरु एकतावद्ध हुनुपर्ने समय आएको छ ।’ संक्रमणकालको अन्त्यपछि नेपाललाई विकासको नयाँ युगमा प्रबेस गराउनु पर्ने चुनौति भएको र आर्थिक सम्मृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई केही वर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मूख गराउनु सबै लोकतन्त्रबादीहरुको ध्येय भएको पत्रमा उल्लेख छ ।

अहिलेको निर्वाचनले मुलुकमा लोकतन्त्र रहने कि नरहने भन्ने छिनोफानो हुने स्मरण गराउँदै देउवाले लोकतन्त्रमा मात्रै व्यवसायीहरुले निर्धक्क भएर व्यापार-व्यवसाय गर्न पाउने वातावरण पाइन्छ भन्ने आशयको पत्र पठाएका छन् । प्रधानमन्त्री देउवाकाका प्रेस संयोजक गोविन्द परियारले अहिलेसम्म ७० जना उद्योगी व्यवसायीहरुलाई निर्वाचनमा सहयोग गर्न अपिल गर्दै पत्र पठाइएको जानकारी दिए ।

‘बाम गठबन्धनले जित्यो भने मुलुकमा लोकतन्त्र रहँदैन, लोकतन्त्र रहेन भने कुनैपनि उद्योगी-व्यवसायीले स्वतन्त्रतापूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँदैनन्, त्यसैले आर्थिक स्वतन्त्रता र आर्थिक विकासका लागि लोकतन्त्रबादी शक्ति कांग्रेसलाई निर्वाचनमा सहयोग गर्न पत्राचार गरिएको हो,’ उनले भने ।

परियारका अनुसार प्रधानमन्त्री देउवाले ३ सयभन्दा बढी उद्योगी-व्यवसायीलाई सहयोगको अपिल गर्दै पत्र पठाउँदैछन् । ‘अहिलेसम्म ७० जनालाई पत्र पठाइएको छ, चाँडै थप २५० जनाजति व्यवसायीलाई पत्र पठाउने तयारी छ,’ उनले भने ।

पहिलोपत्र चौधरीलाई
कांग्रेसले डलर अर्बपति बिनोद चौधरीलाई यस्तै ब्यहोराको पहिलो पत्र पठाएको थियो । यसअघि एमालेबाट सांसद बनेका चौधरी लोकतन्त्रमा मात्रै आर्थिक सम्मृद्धि हुने भन्दै कांग्रेस पार्टीमै प्रवेस गरेका थिए । चौधरीलाई कांग्रेसले समानुपातिकतर्फको सांसदको उम्मेद्वा मात्रै बनाएर आर्थिक सम्मृद्धि तथा विकास समन्वय उपसमितिको संयोजक पनि बनाइसकेको छ ।
 
व्यवसायीलाई सम्पत्तिको पीर
अर्बौंका मालिक व्यवसायीहरुलाई लोकतन्त्र रहेन भने आफ्नो सम्पत्ति रहन्छ कि रहँदैन भनेर चिन्तासमेत लिन थालेका छन् । बाम गठबन्धनको दुईतिहाई बहुमत आयो भने पुँजीको राष्ट्रियकरण हुन्छ कि भन्ने त्रासले सताएको छ ।

‘बाम गठबन्धको दुईतिहाइ बहुमत आयो भने मुलुक साम्यबादमा जान्छ भन्ने आशंकाले व्यवसाईहरु शशंकित छन्,’ एक व्यवसायीले भने, ‘कम्युनिष्ट नेताहरुले बेलाबेलामा पुँजीपतिको पुँजी राष्ट्रियकरण गर्छौं पनि भनेका छन् ।’ ती व्यवसायीका अनुसार लोकतन्त्रमा मात्रै उद्याम÷व्यवसा फैलिन्छ र आर्थिक सम्मृद्धि प्राप्त हुन्छ ।

‘हिँजो निर्दलीय पञ्चायती व्यवस्थामा पनि उद्योग व्यवसाय त थिए, तर बसै पञ्चेहरुकै थिए,’ उनले थपे, ‘०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भएपछि मात्रै सत्ताधारी दलभन्दा फरक बिचार राख्ने व्यवसायीहरुले पनि स्वतन्त्र ढंगले आफ्नो व्यवसाय सञ्चालन गर्न पाएका हुन् नि ।’


   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ