arrow

बद्री बरबराएपछि स्रष्टा आए होसमा

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
badri_pangeni.jpg

काठमाडौं । आफूलाई एमालेको कार्यकर्ता कलाकार भन्न रुचाउने र समयसमयमा विवादमा आईरहने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी फेरि एक पटक विवादमा आएका छन् । एमालेको भक्ति गर्ने र अरु पार्टीका नेता कार्यकर्ताहरुलाई उग्र पाराले गाली गरेर गीत गाउने पंगेनीले आफ्नो पदीय पर्यादा विपरित काम गर्न थालेपछि प्रतिष्ठानमा आवद्ध भएका तथा आवद्ध नभएका स्रष्टाहरु समेत उनी प्रति सशंकित बन्न थालेका छन् । 

आफूहरुलाई राष्ट्रको गहना भन्दै आएका कलाकारहरु आफ्नो प्रतिष्ठानका अध्यक्षले पदीय मर्यादा विपरित काम गर्नथालेपछि त्यसले आफूहरुको पेशाप्रतिको सम्मान नै कम हुने भन्दै होसमा आएर त्यसको विरोध गर्न थालेका छन् ।

कहिले जुवाको खालबाट पक्राउ पर्ने त कहिले त्यस्तै गैर नैतिक चरित्रका कारण सधैं आलोचनाको पात्र बनिरहेका पंगेनी यो पटक काँग्रेस नेता गगन थापामाथि अनर्गल प्रचार गरेपछि फेरि विवादमा आएका हुन् । उनले एमालेका नेता राजन भट्टराईको समर्थनमा गीत गाउँन जाँदा त्यही क्षेत्रका काँग्रेस उम्मेदवार थापा माथि अनर्गल आरोप लगाउँदै गीत गाएपछि उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको छ । 

यस भन्दा अघि ५ जना अध्यक्षहरु पाईसकेको प्रतिष्ठानमा पंगेनी मात्रै यस्ता अध्यक्ष हुन् जो एमालेका कट्टर कार्यकर्ता बनेर प्रतिष्ठानलाई एमालेको भातृसंस्थाको भान हुनेगरी काम गरिरहेका छन् । यस अघिका प्रतिष्ठानका पूर्व अध्यक्षहरु अघि पछि जतिसुकै पार्टीको कार्यक्रममा सहभागी भएपनि प्रतिष्ठानको अध्यक्ष पदमा बसुन्ज्याल खुलेर पार्टीको पक्षमा लागेका थिएनन् । उनीहरु अहिले पंगेनीले गरेको व्यवहार पनि आम संगीतकर्मी र आम श्रष्टाहरुमाथिको धोका भएको बताउँछन् । 

प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले प्रतिष्ठानको अध्यक्ष पदमा आसिन भएसम्म पंगेनीले एउटा अमुक पार्टीको पक्षमा नलागेको भए नै राम्रो हुने बताए । आफूहरु अध्यक्ष बन्ने समयसम्ममा प्रतिष्ठानमा राजनीति नभित्रिएको भएपनि अहिलेसम्म आईपुग्दा प्रतिष्ठानमा राजनीति छताछुल्ल भएको उनले बताए । उनले सरकारले प्रतिष्ठानका अध्यक्षलाई कुनैपनि सुविधा नदिने भएकोले पनि अध्यक्ष भएको बेलामा पार्टीको लागि गुन लगाउन लागेको हुनसक्ने प्रतिक्रिया दिए । उनले पंगेनीको विवादास्पद गीतको बारेमा भने केही समर्थन र केही आलोचना पनि गरे । प्रतिष्ठानको अध्यक्ष भएकै नाताले पनि कसैले कार्यक्रममा बोलाउँछ र त्यो व्यक्तिको पक्षमा गीत गाईन्छ भने त्यसलाई ठूलो विषय बनाउन नहुने उनको बुझाई छ । यद्यपि कसैमाथि अनर्गल प्रचार गरिनु भने गलत रहेको उनले बताए । 
 
त्यस्तै, प्रतिष्ठानका अर्का पूर्व अध्यक्ष चन्द्र शर्माले बद्री पंगेनी एक्लैले कुनै कार्यक्रममा गएर कस्तो गीत गाउँछन् त्यो कसैलाई पनि चासोको विषयको नभएको तर एउटा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्यक्षको हैसियतमा उनले त्यस्तो नगरेको भए राम्रो हुने प्रतिक्रिया दिए । शर्माले भने व्यक्तिगत जीवनमा बद्री पंगेनी, चन्द्र शर्मा, पशुपति शर्मा र रामजी खाँण जो सुकैले पनि जस्तो सुकै गीत गाउन स्वतन्त्र छन् । त्यसमा कसैले चासो दिईरहनु आवश्यक छैन । तर, लोक दोहोरी प्रतिष्ठानको अध्यक्षको हैसियतमा कसैले पनि कुनै व्यक्तिलाई होच्याउने र कसैलाई उचाल्ने गर्नु हुँदैन । यो विषय के हो आफूले विस्तृत रुपमा बुझ्न नपाएपनि बाहिर आएको जस्तो कुरा चाहिँ प्रतिष्ठानका बहालवाला अध्यक्षको हैसियतमा पंगेनीले नबोलेको भए राम्रो हुने उनको बुझाई थियो ।   

अहिले पंगेनीले गाएको सो विवादास्पद गीतका कारण सामाजिक सञ्जालमा उनको व्यापक विरोध भईरहेको छ । लोक संस्कृतिको जगेर्ना गर्न भनेर ज्योति मगरको गीतको विरोध गर्ने पंगेनीले गगन थापालाई विरोध गर्नुले उनको स्तर देखाएको आरोप सामाजिक सञ्जालमा उनीमाथि लगाउन थालिएको छ । उनलाई केही समय अघि मात्रै प्रहरीले महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ गरेको विषयलाई पनि जोड्दै उनको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ