arrow

वाम गठबन्धनको चुनावी अभियान : धुवाँ धुलोमुक्त काठमाडौँको माग

logo
रमेश लम्साल,
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
bam_gathabandhan.jpg

काठमाडौँ । राजधानीलाई समुन्नत, सुन्दर र शान्त बनाउने लक्ष्यका साथ वाम गठबन्धनले शुक्रबार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडि बढाए । पार्टी एकताको लक्ष्यसहित चुनावी अभियानमा केन्द्रित भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा घरदैलो तथा आन्तरिक भेटघाटका काममा तीव्रता दिएका हुन् । 

‘कम्युनिष्टको नेतृत्वमा समृद्धि, कम्युनिष्टकै नेतृत्वमा प्रगति’ भन्ने नाराका साथ गठबन्धनले चुनावी अभियान तीव्र पारेको नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव तथा काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । काठमाडौँ क्षेत्र नं ५ मा वाम गठबन्धनका साझा उम्मेदवार एवं एमालेका महासचिव ईश्वर पोखरेलले आज काठमाडौँ महानगरपालिका वडा नं २, ४ र ५ मा घरदैलो कार्यक्रम सञ्चालन गरे। 

काठमाडौँ क्षेत्र नं ५ प्रदेश क्षेत्र नं १ का उम्मेदवार नारायण सिलवालसँगै घरदैलोमा रहेका उनले स्थानीयसँग वाम गठन्धनलाई मत माग्दै अघिल्ला दुईवटा निर्वाचनमा जनताले आफूलाई सजाय दिएको र त्यो सजाय स्वयं जनताले पनि पाएको भन्दै यसपटक क्षेत्रको विकास र देशको निकासका लागि अनुरोध गरे । 

उनले आफू काठमाडौँ क्षेत्र नं ५ को विकासमा बढी केन्द्रित रहेको र यस क्षेत्रको सम्पूर्ण भूगोलबारे आफू परिचित रहेको भन्दै वाम गठबन्धनलाई विजयी गराएर स्थिर सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिए । यस्तैगरी, काठमाडौँ क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार राजन भट्टराईले आज चुच्चेपाटी, गोपीकृष्ण हल लगायतका स्थानमा घरदैलो कार्यक्रम गरे । स्थानीयवासीले लामो समयदेखि मेलम्ची खानेपानी आयोजनाले सडक खनेर मर्मत नगर्दा आफूहरु समस्यामा परेको भन्दै तत्काल धुलो नियन्त्रण गर्न उम्मेदवार भट्टराईसँग माग गरेका थिए । 

यस्तै, काठमाडौँ क्षेत्र नं ६ मा गठबन्धनका उम्मेदवार झक्कु सुवेदीले आज गोंगबु र तारकेश्वर नगरपालिकाको वडा नं १, २ र ३ मा घरदैलो, जनभेटघाट कार्यक्रममा सहभागी भए । उनले प्रगति र समृद्धिका लागि वामपन्थी गठबन्धन बनेको भन्दै नेपाली काँग्रेसले अधिनायकवादको हौवा फिँजाएर आफ्नो कमजोरी छोप्ने प्रपञ्च गरेको बताए। काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार रामवीर मानन्धर, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ पनि एकीकृतरुपमा घरदैलो अभियानमा सहभागी भए। क्षेत्र नं ८ को डल्लुमा शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सरिता महर्जनलगायतको उपस्थितिमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गरियो । 

काठमाडौँ क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्य आज कीर्तिपुरको पाँगामा आयोजित उम्मेदवार परिचय तथा प्रशिक्षण कार्यक्रममा सहभागी थिए। कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताको सहभागिता रहेको थियो । उता काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा आज अनामनगर, बुद्धनगरलगायतका स्थानमा घरदैलो तथा भेटघाटमा सहभागी भए । यस्तै, काठमाडौँ क्षेत्र नं १ अन्तर्गत प्रदेश नं १ का उम्मेदवार विष्णुकुमारी भुसाललगायतका नेता तथा कार्यकर्तासमेत घरदैलोमा सहभागी थिए। उता काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपाल आन्तरिक तयारीमा व्यस्त रहेका छन्। यसैबीच, ललितपुर क्षेत्र नं ३ मा पनि सो क्षेत्रका उम्मेदवार पम्फा भुसालले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । 

वाम गठबन्धनकी साझा उम्मेदवार भुसाल आज आन्तरिक तयारीका साथै मंगलबजार क्षेत्रमा घरदैलो गरे। ललितपुरमा चुनाव प्रचारकै लागि एमाले, माओवादी केन्द्र र अन्य वाम शक्तिका बीचमा एक हजार १११ सदस्यीय क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । संयुक्त निर्वाचन परिचालन समिति, ललितपुरले शुक्रबार ललितपुर महानगरका विभिन्न क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेको माओवादी केन्द्रका ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए। 

ललितपुर क्षेत्र नं ३ मा ललितपुर महानगरको वडा नं १, २, ३, ४, १० १८, २०, २१ २२ र २५ गरी १० वटा वडा रहेका छन् । घरदैलोका क्रममा मतदाताले उम्मेदवारलाई स्थिर सरकारको निर्माण, शान्ति सुव्यवस्था, बेरोजगारी समस्याको अन्त्य, धुलो र धुवाँमुक्त शहरको माग गरेका थिए । यस्तै, मतदाताले विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएको भन्दै वाम गठबन्धनले जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्नसमेत ध्यानाकर्षण गराएका थिए । 

मेलम्ची खानेपानी आयोजनाले सडक खनेर अलपत्र पारेका कारण जनजीवन प्रभावित भएको, महँगी बढेकोजस्ता विषयमा समेत मतदाताले उम्मेदवारको ध्यानाकर्षण गराएको घरदैलोमा सहभागी नेता तथा कार्यकर्ताले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ