arrow

रहेनन् पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
kirtinidhi_bista.jpg

काठमाडौं ।  पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९१ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।  उनको निधन शनिबार बिहान साढे १० बजे भएको परिवार स्रोतले जनाएको छ । 

बिष्टको जन्म वि.सं १९८३ माघ २ शनिवार भएको हो । उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए । राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनि जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए ।

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री भएका थिए । विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए ।

विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित भएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेका हुन् । विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका साथै सोही पार्टीबाट उनि विसं २०१५ फागुन गते भएको काठमाडौँ–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए ।

उनले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनि पक्राउ परेका थिए । उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए । उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ