arrow

भावी प्रधानमन्त्रीमा वाम हानथापः ओलीको दम्भ, ‘मेरो प्रतिस्पर्धी कोही छैन’

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
KP-oli-naya-news.jpeg

झापा । प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी । 

अधिकारी १७ वर्षे अध्यापन पेसा छाडेर झापा ५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए रु भन्छन्, ‘म बौद्धिक व्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’ 


उता ओलीले निर्वाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निवासमा भने, ‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई आफूले नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए ।

कांग्रेस उम्मेदवार अधिकारीले भने ओलीसँग प्रतिस्पर्धा गर्न कुनै अप्ठ्यारो महसुस नगरेको बताए । ‘ओलीसँग डराउनुपर्ने कारण के छ रु’ उनले भने, ‘मलाई जनताको डर छ, कुरा बुझाउन सक्छु कि सक्दिनँ भन्ने ।’ 

उनले यस क्षेत्रलाई अघि बढाउने क्षमता आफूमा रहेको दाबीसमेत गरे । २०७० को संविधानसभा निर्वाचनमा माओवादी नेता गोपाल किरातीलाई पराजित गरेका ओली यसपटक आफैंमा बलिया उम्मेदवार हुन् । 

उनलाई माओवादी र राप्रपाले समर्थन गरेको छ । लामो समय प्राध्यापन पेसामा रहेका अधिकारी एक्लै चुनावी मैदानमा छन् । ओली कहिलकाहीं आफ्नो निर्वाचन क्षेत्रमा आउँछन् । 

नेता, कार्यकर्ता, मतदाता उनलाई भेट्न उनको निवास जान्छन् । अधिकारीचाहिँ अहिलेदेखि नै घरदैलो गरिरहेका छन्, प्रचारप्रसार बढाएका छन् । 

‘अग्रगमनका लागि गठबन्धन’

शुक्रबार बेलुका ओली निवासमा नेता तथा कार्यकर्ताको भीडबीच उनले कान्तिपुरसँग निर्वाचन तालमेलबारे भने, ‘राष्ट्रिय एकता, अग्रगमन, शान्ति र आर्थिक समृद्धिका लागि गठबन्धन बनाएका हौं ।’ 

उनले विगतका आधारमा माओवादीसँग तालमेल नगरेको उल्लेख गर्दै वर्तमान र भविष्यका लागि तालमेल गरेको बताए । ‘आज र भोलिका लागि भएको सहमति हो,’ ओलीको भनाइ छ, ‘विगतमा प्रचण्डजी अर्कै सोच र नीतिमा हुनुहुन्थ्यो ।’

वामपन्थी तालमेलबारे केही शंका भएपनि एमाले र माओवादीबीच पार्टी एकता भइसकेपछि ती मेटिने दाबी ओलीले गरे । तपार्इं–प्रचण्डबीच पद बाँडफाँटबारे गोप्य सहमति भएको हो भन्ने प्रश्न उनले अस्वीकार गरे, ‘केपी ओलीले पद र जिम्मेवारी लेनदेन गर्दैन । देशलाई कसरी अघि बढाउने, स्थिरता कसरी बढाउने कुरा गर्छ । प्रचण्ड र मेराबीच सहमति भएको छैन । देशका लागि म चकटी, भुइँमा बस्न तयार छु ।’ 

‘वैधानिक सत्ताकब्जा हो ?’

एमाले र माओवादी गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर सत्ताकब्जा गरे त्यो लोकतन्त्र हुने दाबी ओलीले गरे । ‘माओवादी एक्लैले पनि जनताको विश्वास जितेर दुई तिहाइ ल्यायो भने त्यो लोकतन्त्र हो,’ उनले भने, ‘कांग्रेस समाप्त भयो भने पनि त्यो लोकतन्त्र हो । एमालेले भोट पाएन भने पनि त्यो लोकतन्त्र हो । कब्जा गरेर होइन, लुटेर होइन, किनेर होइन । जनताको अभिमत जितेर हुने हो ।’

उनले एमाले–माओवादी मिलेर ‘अधिनायकवादी’ व्यवस्था ल्याउन लागेको भन्ने कांग्रेसको आरोपको खण्डन गरे । ‘हामीले नेपालमा आवश्यकताअनुसार संसदीय व्यवस्था ल्याएका हौं । हामी संविधान कार्यान्वयनमा लागेका छौं,’ उनले भने, ‘मैले राष्ट्रपतीय प्रणालीमा जान्छ भनें, त्यो लोकतान्त्रिक प्रणाली हुँदैन भन्दिनँ । अमेरिकामा राष्ट्रपतीय प्रणाली हो । प्रणाली आ–आफ्ना हुन्छन् । हाल हामीले देश र जनताका लागि प्रणाली अपनाएका हौं ।’ 

उनले संविधान सबै मिलेर लेखेको हुनाले अधिनायकवादीको आरोप खण्डन गरे । ‘लोकतान्त्रिक प्रणाली हामीले ल्याएको हो । कपाल यत्तिकै फुलेको होइन । यो संविधान हामीले लेखेको हो,’ उनको आक्रोश थियो, ‘कुनै प्रतिक्रियावादी, दक्षिणपन्थी जनविरोधी शक्तिले लेखेको होइन । कुनै दक्षिणपन्थी शक्ति न्यायाधीश होइन, अरूले बयान लिने, मैले बयान दिने, उसले प्रश्न गर्ने, मैले सफाइ दिनुपर्ने रु’ 

‘प्रधानमन्त्री हुन सक्छु’

ओलीले घुमाउरो भाषामा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार हुनसक्ने संकेत गरे । ‘जनता के भन्छन्, त्यही काम गर्छु । म निर्वाचनमा उम्मेदवार भएको छु,’ उनले भने, ‘मैले गृहमन्त्री, परराष्ट्रमन्त्री भएर देखाएको छु, प्रधानमन्त्री भएर काम गरेर देखाएको छु । मैले के गर्नुपर्छ मेरो कुरा हो । पार्टीको कुरा हो । यो तालमेलसँग सम्बन्धित पक्ष हो ।’

उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गरे । ‘सरकार निर्माणमा कसैको शंका छ र अब रु राम्रो मत, राम्रो सिट आउँछ,’ उनले भने ।

दाहालप्रति विश्वास

हाल एमालेसँग गठबन्धन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्य कति लामो जाला भन्ने प्रश्नमा उनले दाहालप्रति विश्वास बढेको बताए । ‘उहाँ (दाहाल) को विश्वास, अनुभव र परिस्थितिको आवश्यकताबाट पैदा भएको मेरो विश्वास हो । उहाँले अनुभवबाट परिणाम हेर्नुभएको छ,’ उनले घुमाउरो भाषामा सच्चिएको बताए, ‘जनताका मनोभावना सुन्नुभएको छ, देख्नुभएको छ । उहाँका अनुभव परिस्थितिको आवश्यकता हो तालमेल र विश्वास ।’

‘कांग्रेससँग सहकार्य हुनसक्छ’ 

ओलीले कांग्रेसले गलत आरोप लगाएको भन्दै आक्रोश मात्र पोखेनन्, भावी नीति र कार्यक्रमबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग बहस गर्न तयार रहेको चुनौती दिए । ‘म प्रधानमन्त्रीसँग आगामी दिनका नीति निर्माणबारे बहस गर्न तयार छु,’ उनले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्न चाहन्छु । त्यसका लागि मेरो संघर्ष हो ।’

उनले कांग्रेससित सहकार्य गर्ने चाहना भए पनि व्यवहार गलत भएको आरोप लगाए । ‘कांग्रेससित सहकार्य भए हुन्थ्यो, सहकार्य गर्न पाए हुन्थ्यो,’ उनले भने, ‘आधारभूत रूपमा सहकार्य गरेका छौं, एउटै प्रणालीमा निर्वाचनमा भाग लिइरहेका छौं । 

प्रतिस्पर्धा छ ।’ निर्वाचनमा कांग्रेससँग केही स्थानमा मात्र प्रतिस्पर्धा भएको भन्दै कमजोर भएको बताए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ