arrow

 नारायणगढ-मुग्लिन सडकमा सवारी रोक्दै काम गर्दै गरिने

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
muglin--road.jpg.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आइतबारदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ । 

सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९:३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार झण्डै ३० घनमिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि शनिबार रातिदेखि एकतर्फी मात्र सवारी सञ्चालनमा आएका छन् । 

दिनभरको सवारी चापका कारण आइतबारदेखि भित्तो काट्ने काम कठिन भएको उनले बताए । सो ढुंगा फोरेर दुईतर्फी सवारी आवागमन गराइएपछि मात्र भित्तो काट्ने काम शुरु गरिने बताइएको छ । 

आइतबार दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि सवारी रोक्दै भित्तो काट्दै गरिने उनले बताए । वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । 

गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । 
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । सोअनुसार बिहान ७ देखि ८:३० बजेसम्म, बिहान ११ देखि मध्याह्न १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ