arrow

सर्वसाधारणका लागि पहिलो पटक खुल्यो नेपाल प्रहरी अस्पताल 

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
nepal-police-hospital.jpeg

काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आइतबारदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरे । 

उनले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल खुल्ला गरिएको बताए ।

सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी उनीहरुका आफन्त, आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिन उनले आग्रह गरे ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले दिउँसो १ देखि ३ बजेसम्म ओपिडी सेवा सर्वसाधारणका लागि दिइने बताए । 

उनले अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्याथोलोजी, ल्याब, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिए ।

प्रहरी अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को पर्चा काट्नुपर्छ । 

औषधि, भर्ना हुने बिरामीका लागि खाना कसरी के गर्ने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टुंगो लगाउने बताइएको छ ।

तत्कालका लागि आठ शैय्या आकस्मिक बिरामीका लागि, १०–१० शैय्या महिला पुरुषका लागि र ४ शैय्या शल्यक्रियापछि राख्नका लागि छुट्याइएको छ ।

विस २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरी अस्पताल आम नागरिकका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । 

यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीर परिवारलाई मात्र सेवा दिँदै आएको थियो ।

उक्त अस्पतालमा दैनिक ५०० देखि हजार बिरामीले बहिरङग विभागमा उपचार गराउँदै आएका छन् भने १५० बिरामीले भर्ना भएर उपचार सेवा लिन्छन् । 

अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालहरुमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ