arrow

निर्वाचन अवलोकनमा कूटनीतिक समुदायको चासोमा किन कमी ?

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Ministry-of-Foreign-Affairs-Nepal.jpg.jpeg

काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा चासो देखाएका कूटनीतिक समुदायले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण र अवलोकनमा चासो देखाएका छैनन् । 

अवलोकन तथा पर्यवेक्षण गर्ने क्षेत्र खुलाएर संख्यासहित आवेदन मागिए पनि आइतबारसम्म कसैले पनि आवेदन नदिएका हुन् । निवार्चन आयोगसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले उनीहरूसँग आवेदन मागेको थियो ।

 ‘तर, निर्वाचन हुन दुई साता बाँकी रहँदासमेत उनीहरूले चासो नदेखाउनुले निर्वाचन अवलोकनमा उनीहरू पछि हट्नु जस्तै हो,’ परराष्ट्रका एक अधिकारीले भने । 

निर्वाचनको मिति घोषणा भएलगत्तै १६ दूतावासले अवलोकनको इच्छा व्यक्त गरेका थिए । जान चाहेको स्थानसहित परराष्ट्र मन्त्रालयमा दूतावासबाट आवेदन दिनुपर्ने मापदण्ड राखिएपछि भने उनीहरू पछि हटेको हुन सक्ने अधिकारीले बताए । 

उनीहरूको आवेदन परेपछि मन्त्रालयले आयोगसँग समन्वय गरेर स्थान तय गरिदिने बताएको छ । सुरक्षा र अन्य व्यवस्थासमेत गरिदिनुपर्ने हुनाले समयमा आवेदन आउनुपर्ने हुन्छ । 

उत्तरी छिमेकी चीन र दातृ मुलुक जापानले अवलोकन गर्ने जानकारी मौखिक रूपमा दिएका छन् । आफूले अवलोकन गर्न चाहेको क्षेत्रहरूको नामसहित भने कसैले पनि जानकारी दिएका छैनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘कुन स्थान जाने र कति जना जाने भनेर नाम माग्दासमेत उनीहरू मौन रहनु आश्चर्यजनक छ ।’

दूतावासहरूलाई दिइएको २० दिने सूचनाको म्याद आगामी बिहीबार सकिँदै छ । स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि खुला नगरिए पनि प्रतिनिधिसभा र प्रदेशसभामा आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकका साथै यहाँ रहेका दूतावासका अधिकारीलाई समेत चाहेको स्थानमा जाने अनुमति दिने निर्णय गरेको थियो । 

निर्वाचन पर्यवेक्षण गर्न ४ अन्तर्राष्ट्रिय र ५२ स्वदेशी संस्थाले निर्वाचन आयोगबाट स्वीकृति पाइसकेका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू कार्टर सेन्टर, युरोपेली महासंघ, अनकावा इन्टरनेसनल र एसियन नेटवर्क फर फ्री इलेक्सनले आफ्नो काम नै अघि बढाइसकेका छन् । त्यस्तै अन्य गैरसरकारी स्थानीय संस्थाहरूले पनि पर्यवेक्षणका लागि मतदाता शिक्षाका बारेमा समेत अध्ययन थालेको बताइएको छ । 

नेपालभित्रका गैरसरकारी संस्था तथा निकायबाट ४४ हजार १ सय ४२ ले पर्यवेक्षण गर्ने भएकाले दूतावासले उनीहरूको सूचनालाई नै भरपर्दो मान्न सक्ने भएर नै आफैले अवलोकन गर्न नखोजेको हुन सक्ने अधिकारीहरूले बताए । 

परराष्ट्र मन्त्रालयका उपसचिव डम्बरुबल्लभ पौडेल निर्वाचन पर्यवेक्षकको व्यवस्थापन र कूटनीतिक समन्वयमा खटिएका छन् । कूटनीतिक ‘फोकल पोइन्ट’ रहेका पौडेलले भने, ‘हामीलाई अझै जानकारी नदिनु चासो नराखेको जस्तो हो ।’ 

उनीसँगै अर्का अधिकृत रोशन खनालले पनि कूटनीतिज्ञ र पर्यवेक्षकको चासो मथ्थर गर्ने काम गरिरहेकी छन् ।

‘निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षण गर्न दिने तय गरिएको हो,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘समय अझै भएकाले कूटनीतिक समुदायले केही ढिला गरेका होलान् । चासो देखाएका थिए, आउलान् नि ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ