arrow

कतार भ्रमण अस्वीकार गरेर युएईको भ्रमण आफै किन मिलाईन् राष्ट्रपतिले ?

जब राजदूत बाेलाएर अाफै भ्रमणकाे निम्ताे दिन लगाइयाे

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Bidhya-Devi-Bhandari.jpg.jpeg

काठमाडौं । विवादै विवादबीच राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा जाँदै छिन् । राष्ट्रपति कार्यालयका १८ सहित २५ जनाको जम्बो टोली लिएर राष्ट्रपति भण्डारी सोमबार अपरान्ह साढे ४ बजे युएई भ्रमणमा निस्कन लागेकी हुन् ।  

कतारले भ्रमणका लागि दिएको निम्तो अस्वीकार गर्दै राष्ट्रपति भण्डारीले आफ्नै पहलमा युएईका राजदूतमार्फत भ्रमणको निम्तोका लागि आग्रह गर्नु भएको उच्च स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भवनमै नेपालका लागि युएईका राजदूत सइद हमीद–अल नाकी लाई बोलाएर भ्रमणको निम्तोका लागि अनुरोध गरेको बताइएको छ । यसअघि कतारले राष्ट्रपति भण्डारीलाई भारत भ्रमण अघिनै निम्तो दिएको थियो । कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले नाकाबन्दी लगाएका कारण राष्ट्रपति भण्डारीले विवाद नओस् भन्नका लागि करता भ्रमण रद्द गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयले भ्रमण नगर्न सुझाव दिएपनि राष्ट्रपतिले आफ्नै इच्छामा युएईको भ्रमण गर्ने निधो गरिन् ।  खाडी राष्ट्रमा लेबनान र युएईबीच कुटनीतिक सम्बन्ध विच्छेद भएपछि उत्पन्न परिस्थितिका कारण परराष्ट्रमन्त्रीको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले नै राष्ट्रपतिलाई भ्रमण स्थगन गर्न अनुरोध गरे । यद्यपि, त्यो सुझाव राष्ट्रपतिले ग्रहण गरिनन् ।  

मूलूक निर्वाचनको संघारमा रहेको र युएईमा रहेका नेपालीहरुका लागि सरकारी स्तरबाट विशेष व्यवस्था अवलम्बन गरीनुपर्ने अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
 
राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स युएईको अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमण गर्न लागेकी छन् ।  

मंगलबार राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुवई इमिरेटको पनि भ्रमण गर्ने छिन् ।  
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले  जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् ।

राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् । राष्ट्रपति भण्डारी कात्तिक ३० गते स्वदेश फर्किने कार्यक्रम छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ