सूर्य सुवेदी, एक आत्मीय सम्झना

मोहन सिटौला, प्रकाशित मिति : २०७४ कार्तिक २७ सोमबार , १,९३५ पटक हेरिएको
सूर्य प्रसाद सुवेदी

हार्दिक श्रद्धाञ्जली सुर्यज्यू ! जीवित अवस्थामा सम्बन्धित सवैलाई सुख, समृद्धि र शान्ति मिलोस् भन्ने पवित्र भावनाले कार्य गर्ने तपाईंको भौतिक शरीरलाई निर्देश गर्ने तपाईंको साँच्चिकै महान् र पवित्र आत्मालाई सदा शान्ति मिलोस् भनी भावुक मनले प्रार्थना गर्दछु। अत्यन्त दुखित हुनु भएकी प्रतिभा माईज्यू र वावुहरु लगायत समस्त परिवारजनहरुमा हार्दिक सम्वेदना व्यक्त गर्दछु। वहाँ सम्बन्धी थप कुरा तुरुन्तै केही पछि पेस गर्ने छु। अहिले पुन हार्दिक श्रद्धाञ्जली र  हामीबाट विछोडिएको आत्मालाई अनन्त शान्ति मिली रहोस् भन्ने प्रार्थना गर्दछु।

मोहन सिटौलाआफन्त भन्नु र विछोड भन्नु यस्तै रहेछ — अवश्यम्भावी तर अनिश्चित ! मलाई नितान्त एक्लोजस्तो अनुभव भैरहेछ। मेरा धेरै असल दौंतरी र साथीहरुले छोडेर गएको सिङ्गो र गहीरो कहालीलाग्दो भ्वाङ्ग र भड्खारो मेरा अगाडि नजीकै म देख्दै छु। अनि जन्मदेखि मृत्युसम्मका अगणित पच्याङ र पाटाहरु हेर्न खोज्दा साथै दुःख र संघर्षका बगर र खण्डहरहरू देख्दा ज्यादै अट्टहास अनुभव भैरहेछ मलाई ! यस अवस्थामा सुख, सफलता र प्रशंसाका प्रहरहरू पर पछाडि परेका छन् !

जीवित अवस्थामा प्रत्येक व्यक्तिको हजारौं हज्जारसित सम्पर्क भइरहेको हुन्छ। जब मृत्युले विछोडको घण्टी बजाउँछ अनि ती सम्बन्धहरुको आफन्तिको भाव र तज्जन्य घनिष्ठताको वास्तविक स्तर एवम् रुपको स्वत मूल्याङ्ककन हुँदो रहेछ क्यारे ! सवै मृत्युहरू पीडादायी हुन्छन् अवश्यै। तर सवै मृत्युहरुबाट सामाजिक र त्यो भन्दा माथिको स्तरमा के कति क्षति भयो भन्ने कुराचाहिं व्यक्तिव्यक्तिमा फरक हुने गर्दो रहेछ ! हो, महान् जीवनले मृत्युलाई पनि महान् बनाउँछ तर चिर परिचित अचम्म के रहेछ भने त्यस्तो महान् मृत्यु स्वयंले स्वयंलाई मानव पुरुषार्थको कार्यक्षेत्रका माध्यमले आर्फैलाई पराजित गराई सो भौतिक दुनियाँबाट विदावारी भएको व्यक्तिलाई मृत्युञ्जयी नै बनाउँदो रहेछ भन्ने सिद्ध हुन्छ ! हो, मृत्यु सृष्टिको सत्य हो।

तर एक बोध—अबोध रहस्य के पनि हो क्यार भने सृष्टिको एक अकाट्य सत्य स्वयं मृत्यु पनि सृष्टिको कल्याणकारी उध्र्वमुखी विकासका लागि सेवा, त्याग, तपस्या, वलीदानजस्ता पुरुषार्थहरुलाई प्रोत्साहन दिन तिनै पुरुषार्थहरुबाट विजित हुन चाहन्छ। अब यहाँ सिर्जनशील गणितको रमाइलो के उत्तर निस्किन्छ भने जन्म र जीवन उध्र्वमुखी विकासका लागि हुन् र मृत्यु तिनीहरुको रखवारी हो र प्रकारान्तरमा सहयोगी पनि। कुराको नीचोड केहो भने मृत्युञ्जयी हुने पुरस्कार प्राप्त गर्न कसले चाहँदैन र ? अनि सोही मूताविकको कामको पनि त ख्याल गर्नु पर्‍यो नि!

म यहाँ विस्मित भएको छु र रनभुल्ल पनि। यसरी अनायास म ‘अमलेख’ हुँदै बहकिंदै गइरहेको छु आफ्नै तानामा। जीवनक्रमका हाम्रा दैनन्दिनी र तिनले बनाएका गोरेटाहरुमा प्रत्येक व्यक्ति र त्यसको परिवेसका वर्तमानहरुले तिनकै भविष्यहरुको सांकेतिक किसिमका आशावादी धून बजाई रहेका हुन्छन् भन्ने लाग्छ। यस्ता ‘नसुनिएका’ धूनहरु कवि जोहन कीट्स्हरुले सुन्छन् अनि ‘पागल’ देवकोटाहरुले मात्र देख्दारहेछन्। सर्वसाधारण ‘म’ हरु चाहिं ‘या निशा.......’ का परिभाषामा रहन्छन् नै। असाधारणहरु पनि सोही परिभाषाको अकौ पाटोमा रहन्छन्। 

हाम्रो नेपाल पूर्वाञ्चलका पहाडी इलाकामा नयाँ पुराना पींढीमा धेरै उच्चस्तरका समाजसेवी, विकासका कारक व्यक्तिहरू जन्मिएर परलोक जानु भन्दा पहिले उनीहरू जहाँजहाँ रहे वा पुगे अथवा त्यहीं रहेर पनि सामाजिक सेवाका र अन्य उच्च कार्यले व्यक्तित्वको स्तर प्राप्त गरेर आफ्नो मृत्युलाई महान् बनाएका छन्। जन्मिएर जीवनक्रमले महान् मृत्यु वरण गर्ने त्यस्ता व्यक्ति जन्माउने वा बनाउने जिल्लाहरुमा तेरथुम पनि प्रमुख एक हो। आफ्नो जिल्लामा जन्मिएर आफ्नो जिल्लाको लागि र आपूm अन्यत्र गएका अवस्थामा पनि सोही सोही ठाउँबाट आफ्नो सामाजिक परिवेसलाई वा आफ्नो समुदायलाई र आफ्नो जन्म जिल्लालाई उच्चाइतिर लैजाने धेरथोर वा ठोस भूमिका खेल्नेहरुको यस्तो उच्च मूल्याङ्कन हुनु वा गरिनु आवश्यक हुन्छ। सूर्य सुवेदीज्यूलाई हाम्रो पहाडीया आधुनिक युगका दोस्रो पीढीका एक शान्तिप्रिय, विकाशवादी विशिष्ट व्यक्तित्वको रुपमा म पहिचान गर्न चाहन्छु।  

हाम्रो चुहान्डाँडामा विकशित भैरहेका संघसंस्थाको सञ्चालन प्रकृयालाई व्यापक समाजमूलक बनाएर खुलस्त जानकारिमा प्रस्तुत गर्ने कि गोप्य र एक समूहाधिकारमा सीमित बनाउने भन्ने बारेको शुरुको सानो मतभदले केही समयमा समस्त आठराई मात्र होइन पूर्वाञ्चलमा नै हलचल ल्याएर केन्द्रमा पनि प्रशस्त कुरा पुगेको थियो। त्यस मतभेदमा शान्ति, समन्वय र मित्रता कायम गर्न त्यो २०२८-२९ का समयका एक होनहार शिक्षित युवा सूर्यसुवेदीले आफ्नो गाउँ सावलाबाट केही सुवेदी बन्धूहरु सहित आएर हामी सवैका बीचमा ठूलो सकारात्मक भूमिका खेलेको तथ्य यहाँ ससम्मान स्मरणीय छ।

त्यसछिका लामा समयमा म सपरिवार पोखरा र काठमार्डौ बस्दा हामी झन् अत्यन्त मित्रमय भयौं। एकाअर्कामा हाम्रा ‘हजुर’ भन्ने सम्बोधन हुन्थे तथापि यो श्रद्धाञ्जली लेखन एक संस्मरणात्मक साहित्यिक निबन्ध जस्तो हुन गएकाले यसका नायकलाई साहित्यिक स्तरमा नै मायामयी र ससम्मान ‘उनी , तिमी’ ले सम्वोधन गरिएको छ।

त्रिवि केन्द्रीय अंग्रेजीविभाग कीर्तिपुरमा बारम्बार भैरहने मिटिङ्कमा भागलिन र अन्य घरायशी कामले पनि म विसं को ३०-३६ तिर पोखराबाट आउँदा र काठमाडौंमा बस्न थालेपछिका लामा समयमा पनि उनी श्री ५को सरकारमा उच्च पदस्थ हाकीम हुँदा म उनको क्वार्टरमा प्रशस्त बसेको छु। पारवाहनको कचडा, धुलोमूलो , समयाभाव आदि कारणले म काठमाडौंमा ज्यादा भेटघाट गर्न सक्दिन थें। त्यसो हुँदा कहिले कहिले चाहिं आएका बेलामा सूर्यसुवेदीज्यूलाई जानकारी मैले दिन नसक्दा ज्यादै गुनासो गर्थे उनी। एक दुई चो्टि त म आएको थाहा पाएर आफैं कुराकानी गर्न आएका र उनकोमा रात बस्न बोलाएका थिए।

यसरी उनी अकस्मात आउँदा वा मलाई बोलाउँदा म निकै लज्जितजस्तो.तर आंतरिक प्रीतिपूर्ण भएको अनुभव गर्थेंं। बासै बस्ने समय नभए पनि एक छाकमात्र खाना वा एक कप मात्र चियामा भए पनि मसित यसै आपस्तिका लामालामा कुरा गर्न उनी मन पराउँथे। अन्यत्र जान त्यति नसक्ने म सकेसम्म उनीसित चाहिं भेटघाट र कुराकानी गर्न ज्यादै मन पथ्र्यों मलाई पनि। त्यो बाहेक प्रज्ञाप्रतिष्ठान र अन्यान्य ठाउँमा हुने कार्यक्रमहरुमा पनि हामी एकाअर्कामा फोन गरेर भेट्ने सल्लाह गथ्र्यौं। यसरी भेट गरेका कुराहरुले एकाअर्कामा हामीलाई धेरै जानकारी र पृष्ठपोषण भैरहन्थ्यो। ज्ञानेस्वरको उनको घरमा पनि म निकै पटक गएको, बसेको छु।

स्वयम् एक विद्धान् लेखक, साहित्यकार, अन्तर्वार्ताकार, संयमित पत्रकार, गहन चिन्तक, समाजसेवी सूर्य सुवेदी एक सरल स्वभाव, ज्यादै मिलनसार अनि भाषा, साहित्य, संस्कृति, पत्रकारिता एवम् देशविदेश सम्बन्धी प्रशस्त मौलिक र नयाँ नयाँ सूझबूझ राख्ने र चिन्तनमूलक योगदान दिने एक विद्वान् व्यक्ति थिए। आफ्नो जन्मजिल्ला, देश र जनताप्रतिका उनका उदार र उच्च परिकल्पना तथा योजनाहरु ज्यादै सुन्दर र लाभदायक लाग्थे मलाई। तेरथुम त तेरथुम भैगो आफ्नो जन्म जिल्ला। विश्व चिन्तन र अन्य  विविध विषयमा गहन ज्ञान त उनको आफ्नो क्षेत्र भैगो। तर काठमाडौका वहुविध परिवारसित राम्रो सम्बन्ध र उनीहरु सम्बन्धी उनलाई प्रशस्त जानकरी पनि थियो। 

आाफ्ना जिल्लाका पुराना समयदेखिका मेरा अब्बल दौंतरी—मित्रहरुका समूहमा सदा हँसमुख, खुलस्त र प्रशन्न देखिने उनी मेरा मनमा सदा प्रगाढ र उज्याला रुपमा रहीहन्थे। त्यसमा पनि उनी विहानै ०५ बजेतिरै हिंड्ने बानी भएका हुनाले ०६बजेतिरै हाम्रो चाबेल घरमा यदाकदा वा प्रशस्तै आउने हुँदा हाम्रा भलाकुसारी र अन्य विविध विषयमा चिन्तनमुलक कुरा भैरहन्थे। मेरी श्रीमती उनकी अतिप्रिय भाञ्जी भएर मात्रै होइन, यो उनको मप्रतिको ज्यादै पुरानो मित्रताको विशेष सद्भाव र ममतामयताले पनि हुने गरेको थियो। मैले उनीबाट प्रशस्त सरसल्लाह, प्रेरणा र तथ्यगत उदार प्रशंसा पाउने गर्थें। विविध विषयमा हाम्रा खुलस्त छलफल भैरहन्थे अनि कुनै सहमतिमा हामी जहिले पनि पुग्ने गथ्र्यौं। नेपालमा नै बसेर कुनै जिम्मेबारिको काम गर्नु पर्छ भन्ने मलाई उनको बारम्बार सल्लाह र प्रष्ट सूझाव भैरहन्थ्यो र आपसी बातचितमा मैले त्यो कुरा नामञ्जुर गर्नु पर्ने ठाउँ नै हुँदैनथ्यो। तथापि मेरो मूलतः स्वास्थगत समस्याले भएको कठिनाई उनमा अवगत गराउँदै रहन्थें।  

उनी अतिनै गुणग्राही, न्याय र शान्तिप्रीय अनि विकासप्रेमी मात्र होइन त्यस्ताकुरा कार्यान्वित गर्नको लागि एक सक्रीय कार्यकारी पनि थिए। भाई खगेन्द्र सिटौला (तेरथुमको भूपू सभापति) ले पनि उनका विकासमुलक कार्यका विषयमा सच्चा र उच्च मूल्याङ्कन गरेको कुरालाई समर्थन गर्दै उनका ती प्रशंसनीय कामकुराहरु यहाँ त्यति नदोहो¥याए पनि म विशिष्ट सम्मान चाहि अवश्य गर्न चाहन्छु। 

आफ्नो परिवार र जन्मस्थानको उच्च गौरव मान्ने उनीलाई निकै पहिलेका धेरै वर्षसम्म एक प्रकारको वेचैनी थियो। बारम्बार उनी भन्थे, आफ्नो गाउँठाउँमा केही न केही सहयोग तथा पितासरह आफ्ना पूज्य ठूलदाई ( हामी सवै र अरुहरू पनि धेरै वहाँलाई ठूलदाई नै भन्थ्यौं), विद्वान् व्यक्ति, स्थापित एवम् प्रतिष्ठित कवि पुन्य सुवेदीज्यूका कविता आदि सिर्जना र संकलनहरुसहितको एक स्मृतिअङ्क  छपाउने र तेरथुममा केही सामाजिक सेवा वा विकासका केही कार्य गर्ने मनसाय व्यक्त गरिरहन्थे उनी र व्यग्र रहिरहन्थे। ती सम्बन्धी कुरामा मसित पनि निकै चोटी वातचित भएको थियो। 

केही वर्ष पछि उनले सो स्मृतिअङ्कको दुई प्रति मलाई उपल्ब्ध गर्दा म साँच्चि नै द्रविभूत भएको थिएँ र हर्षोल्लासले हार्दिक अभिवादन गर्दै वधाई ज्ञापन गरेको थिएँ। अनि भाई खगेन्द्रले उल्लेख गरेजस्तो तेरथुमका पहाडी धेरै खोलाहरू र तमोर नदीमा नै झोलुङ्गे पूल हाल्ने सफल भूमिका खेलेर पहाडी जनजीवनको आवागमनमा धेरै सरलीकरण भएको अनि पुस्तकालय खोली जनताको चेतनामा निकै विकाश भएकोमा उनी धेरै सन्तोष देखिएका थिए। यी दुवै कार्य लगायत उनका विविध लेखन, प्रकाशन र चिन्तनहरू धेरै महत्वपूर्ण स्तरका कीर्ति हुन्। उनको यस्तो वहुमुखी र शालीन व्यक्तित्यको राम्रो अनुशीलन  र उच्चमूल्याङ्कन हुनु पर्छ। अप्रकाशित कुनै उनका लेखनहरु पककै होलान्, तिनको संस्थागत प्रकाशन हुनुपर्छ। सम्बन्धित  त्रिविवि विभागले उनका प्रकाशित कृतिहरुको विधागत अध्ययन मूल्याङ्कन गराउनु आश्यक देख्दछु।

विसं २०७३ को हिउँदमा म अमेरिकाबाट काठमाडौ.आएका बेलामा मेरो कविताको एउटा पुस्तक दिनलाई एकदिन मैले फोन गरेर भेट्ने इच्छा प्रकट गरें। नेपाल आएको बेलाको आफ्नो समयको सदुपयोग अरुहरू बढी जरुरी काममा उपयोग गर्नु नै बेस होला, बरु म नै भोली विहानै बाहिर हिंड्न निस्किंदा त्यतै पसँला नि भने्न कुरा भयो। नभन्दै उनी आफैं आएर आफ्नो एउटा ज्यादै उपयोगी पुस्तक —सिर्जना र दृष्टिकोण —मलाई ल्याइदिएको रहेछ , मैले पनि मेरो पुस्तक दिएँ। केही बेर चिया खाएर बस्यौं। कुराका प्रसङ्गमा मलाई सम्वोधन गर्दै केही गम्भीर भएर एउटा छोटो मन्तव्य जस्तो बोलेका थिए : ’लोभ, पाप, स्वार्थ र महत्वाकांक्षाले जीवनमा विविध किसिमका समस्या र चुनौतिहरू आउँछन् वा ल्याउँछन् मानिसलाई। न्याय—अन्याय, सत्य—असत्य जे पनि हुन्छ त्यो। तर हामीले आफ्नो सत्य र नैतिकता नछोडीकनै साहसपूर्वक सामना गर्नु पर्छ र धैर्य लिनु पर्छ। समयले आफै सही निर्णय दिन्छ। यस्तो कार्यमा हाम्रा महान् शास्त्रहरुले सहयोग पुर्‍याउँछन्।’ यो बोध र अभिव्यक्ति उनको अकाट्य महान् वाणी नै लाग्छ मलाई। 

हाम्रो घरबाट त्यसदिन जानु भन्दा पहिले एकरात वहाँकोमा बस्न जाने हामीलाई आग्रह गर्नुभयो। मैले हामी दक्षीणकाली, चन्द्रागिरि आदि इत्यादि जाने रहर र भाञ्जी अनि मैले पनि एक दुई पटक अस्पतालमा जानु पर्ने कामले गर्दा निकै व्यस्त हुनु पर्ने कुरा बताएँ र यी सवै सकेर आउँला भन्यौ। यस्तैमा विदावारी भयौं। एउटा सरल, शान्त, खुलस्त, शालीन, चिन्तशील र वहुमुखी व्यक्तिसित म केही परसम्म बातमार्दै गएँ र स्वाभीमानी अनि कल्याणकारी आत्मा बोकेको एक सर्वसाधारण मानव शरीर तलसम्म बाटामा हिंडेको हार्दिक सम्मान र प्रेमले हेरिरहें।

एकरात उनकोमा जाने कोशीस गर्दागर्दै नभ्याएर यसै उसै म अमेरिका फिरें। केही पछि उनी विरामी भएको सुने र फोन सम्पर्कमा कुरा हुन सकेन। उनलाई मेरो पछिल्लो पुस्तक सिद्धिसुधा पनि उपलब्ध गराएको कुरा चाहिं भाई खगेन्द्र र प्रिय सालो भरत प्रसाईंबाट थाहा भयो। ज्यादै सन्तोष लागेको थियो। तर विधिको विधानमा हाम्रो अन्तिम भेट त्यही रहेछ भन्ने म मूरख मनुवालाई के थाहा! विसं को २०७४ साल कर्तिक ०५ गते आइतबार राति १० बजे चावेल स्थित ओम अस्पतालमा उनको असामयिक निधन भए पछि म धेरैधेरै हाम्रा आफन्तहरू झैं गहनरुपमा सम्वेदित भएको छु। जिल्ला, देश, हामी आफन्ति र विविध सहकर्मीहरू लगायत मानवीय चिन्तनसंस्कृतिले ठूलो क्षति र पीडा सहनु परेको अवस्था छ।

यो धरतीमा एउटा व्यङ्ग्य निरन्तर घुमीरहन्छ भन्नुजस्तो मेरो मनमा आईरहेछ। धेरैजसो दिलदार र कर्मठ व्यक्तिहरू लामो समयसम्म रहन पाउँदैनन् यहाँ कि कसो हो ! यसो गम खाँदा मेरो मनमा एउटा लामो नामावली नै तयार हुन्छ — प्रतिभाशाली , समाजसेवी , कर्मठ र दिलदार व्यक्तिहरुको जो अल्पायुमै दिवङ्गत भएका छन् साँच्चि नै ! यो के कस्तो विज्ञान वा ‘नियमित आकस्मिकता’ हो? अल विदा सूर्य सुवेदी ज्यू ! तपाईंका मीठा र चिन्तनपूर्ण शब्दहरू हृदयले सुन्दै अनि आत्माले गुन्दै साथमा लिएर आफ्नो जीवनपथमा चल्दै रहुँला ! 

............................रुनु बाहेक लोकमा
मर्नेको निम्ति मर्नेले अरु के गर्न सक्दछ ?
नेपाली नाट्यसम्राट सम 
....आँशू सिवाय रसिलो अरु आउँदैन
महाकवि देवकोटा

नयाँ