arrow

प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसले ८० सिट जित्ने दाबी

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
congress-flag.jpg

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले निर्वाचनको प्रचार अभियान प्रारम्भ भएपछि विपक्षी दलहरुको तुलनामा नेपाली कांग्रेसको स्थिति झन सुदृढ हुँदै गएको बताएका छन् । उनले पहिले ८० सीट जित्ने दावी गरिएकोमा त्यसमा केही थपिने स्थिति रहेको बताए । उनले प्रधानमन्त्री तथा पार्टी सभापतिले २५ गते ताप्लेजुङ्गबाट आरम्भ गरेको चुनावी अभियानको निकै राम्रो प्रभाव परेको पनि बताए । “चुनावी परिचालन र सभापतिको भ्रमण पछि जनताको समर्थन बढेर आएको छ ” नेता खाँणले भए ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

संयोजक तथा केन्द्रीय सदस्य खाँणले दिएको जानकारी अनुसार कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज जाने भएका छन् । सोही दिन उनले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन् । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सो दिन उनले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् ।  सोहि दिन प्रधानमन्त्रीले अन्य पार्टीका नेता, कार्यकर्तासँग सम्वाद गर्नेछन् । सो दिन प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले धनगढीमा अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ । 

सो दिन उनीले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ  । ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम छ । 

मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई संबोधन गर्नुहुनेछ । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्न पनि जाने कार्यक्रम रहेको छ तर दिन भने निर्धारित भएको छैन ।

नेता खाँणले प्रधानमन्त्रीको प्रचार अभियानले स्थानीय जनताका समस्याहरुको संबोधनलाई सहज बनाएको र मतदातासंगको साक्षात्कारले पार्टीप्रतिको विश्वास अभिबृद्धि हुन गएको पनि दावी गरे । उनले संविधानको रक्षा, नागरिक अधिकारको रक्षा, स्थानीय विकास, कृषि प्रविधि र आधुनिकीकरण,धार्मिक स्वतन्त्रता र पर्यटन विकासका बारेमा नेपाली कांग्रेसको धारणा स्पष्ट पार्न ती सभाहरु अत्यन्तै फलदायी भएको जिकीर गरे ।

ताप्लेजुङ्गमा अलैची खेतिको अनुसन्धान र बजार विस्तारको लागि केन्द्र स्थापना गर्ने पाँचथरमा किराँत धार्मिक गुरु फाल्गुणानन्दको तपोभूमिलाई व्यवस्थित तवरले विकास गरी संसारभर कीर्ति फैलाउन विकास समिति गठन गर्न नेपाली कांग्रेसले प्रतिबद्धता व्यक्त गरेको पनि बताए । उनले स्थानीय र  रणनीतिक सडकहरुको स्तरोन्नति, पर्यटकीय र धार्मिक स्थलहरुको संरक्षण र सम्बर्धनका विषयलाई पनि नेपाली कांग्रेसले गम्भीरतापूर्वक समाधान गर्ने वचनबद्धता व्यक्त गरेको पनि बताए ।

पार्टी एकताबद्ध भएर मैदानमा
नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक खाँणले पार्टी अहिले एकताबद्ध भएर चुनावमा होमिएको पनि बताए । उनले पार्टीले निर्वाचन परिचालनका लागि केन्द्रमा आफ्नो संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको र त्यस अन्तरगत प्रचारप्रसार समन्वय उपसमिति, शान्तिसुरक्षा उपसमिति, आर्थिक समृद्धि तथा विकास उपसमिति, मतदाता शिक्षा उपसमिति, राष्ट्र सेवक समन्वय उपसमिति, जनसम्पर्क समन्वय उपसमिति, कलाकर्मी र खेलाडी परिचालन उपसमिति, आचार संहिता अनुगमन उपसमिति लगायत विभिन्न राजनीतिक र प्राविधिक उपसमितिहरु बनाइएको पनि बताए । 

उनले सबै उपसमितिहरुले कार्यादेश अनुरुप जिम्मेवारीपूर्वक काम सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनलाई सुव्यवस्थित ढंगले परिचालन गरेर नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनको पक्षमा बहुमत आउने विश्वास व्यक्त गरे । नेता खाँणले पहिलो चरणको निर्वाचन हुने ३२ वटा जिल्लामा परिचालन समितिका सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिहरुको रुपमा खटाइएको र उनीहरुले जिल्लामा समन्वय कायम गर्दै पार्टीलाई परिचालन गरेर नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन प्रभावकारी भूमिका खेल्नुहुने विश्वास व्यक्त  गरे । उनले भने,“उनीहरुले जिल्ला समिति मातहतका सबै तहलाई गतिशीलताका साथ परिचालन गर्नेछन् । 

नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन महत्वपूर्ण भुमिका खेल्नेछन् ।”केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई स्थानीय मतदान केन्द्रसम्म नै गतिशील बनाएर लोकतन्त्रको पक्षमा क्रियाशील गराउने विश्वास गर्दै भने आधिकारिक भातृ र शुभेच्छुक संस्था बाहेक अन्य व्यवसायिक संगठनहरुको सहयोग र सद्भाव लिन पनि उनहरुको क्रियाशीलता रहनेछ ।
नेता खाँणले नेपाली कांग्रेस अहिले खसेका मतहरु बदर नहोस भनेर गम्भीर भएको पनि उल्लेख गरे । गत स्थानीय निर्वाचनमा झण्डै १ दशमलव ७ प्रतिशत मत बदर भएको थियो । केन्द्रीय प्रतिनिधिहरुलाई लोकतान्त्रिक गठबन्धनका लागि बलियो आधार तयार पार्न अन्य पार्टीका नेताकार्यकर्तासंग सम्बाद गर्ने जिम्मेवारी पनि दिइएको उनले बताए । उनले सञ्चारकर्मीहरुसंगको सम्बन्ध सहज बनाउन जिल्ला जिल्लामा प्रचार समिति र त्यस अन्तरगत मिडिया सेन्टर स्थापना गर्न पनि पत्राचार भैसकेको पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ