arrow

काँग्रेसले संविधान दियो, अब सम्बृद्धी दिन्छः मन्त्री थापा

काँग्रेसको प्रदेश ४को मिडिया सेन्टर पोखरामा

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
nc-media-center-pokhara.jpg

पोखरा । नेपाली काँग्रेसले मुलुकका सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गरेको छ । आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न र काँग्रेसका चुनावी एजेन्डालाई जनतामाझ पुर्‍याउन सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो ।

काँग्रेस नेता बालकृष्ण खाँडको नेतृत्वमा रहेको प्रचारप्रसार समिति र सोहि समिति अन्तरगत काँग्रेसका युवा नेता गगन थापा नेतृत्वको प्रचार प्रसार समन्वय उपसमितिको मातहतमा मिडिया सेन्टर संचालनमा ल्याईएको हो । नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को मिडिया सेन्टरको प्रमुखको जिम्मेवारी पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई दिएको छ । पराजुली नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

प्रदेश नम्बर ४ मा स्थापना गरिएको मिडिया सेन्टरको उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले निर्वाचनको क्रममा मिडियाको भूमिका अत्याधिक महत्वपूर्ण हुने बताए । उनले यो बेलामा देशलाई नयाँ संविधान दिएको नेपाली काँग्रेसलाई अब सम्बृद्धिका लागि सघाउन मिडियासँग आग्रह समेत गरेका छन् ।

उनले यो समयमा देशलाई जोगाउनका लागि लोकतन्त्रको पक्षमा वकालत गर्न मिडियालाई आग्रह गरे । ‘मिडिया र सामाजिक संजालले धेरै कुरामा अर्थ राख्छन् । र, संसारका ठुला परिवर्तनमा मिडियाको महत्वपुर्ण हात रहन्छ ।’ उनले भने–‘त्यसैले राम्रो कुरालाई मिडियाले सँधै साथ दिन आवश्यक छ ।’

साथै उनले बेलायती प्रधानमन्त्रीको चुनावको उदाहरण दिँदै मिडियामा नेताहरुले पनि प्रचारका लागि लगानी गर्न आवश्यक रहेको सुझाए । ‘मिडियामा गरिने प्रचारले धेरै अर्थ राख्छ । आजकल पुराना र पत्यारलाग्दा भाषणले जनतालाई आकर्षण गर्न सकिन्न ।’ उनले भने ।

त्यस्तै नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले अहिलेको चुनाव जीतहारको चुनाव नभई एउटा क्रान्ति भएको बताए । ‘चुनावमा हार जीतले खासै अर्थ राख्दैन । तर अहिलेको चुनाव एउटा क्रान्ति हो, जनआन्दोलन हो ।’ उनले भने–‘त्यसैले अहिले जित्नैपर्ने स्थिती छ ।’ पुर्वमन्त्री समेत रहेका खड्काले लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन र त्यसको पर्याय नेपाली काँग्रेस भएकोले यो चुनावमा रुख चिन्हलाई कुनै व्यक्ति, नेता वा नेपाली काँग्रेसको मात्र नसम्झी लोकतन्त्रमा आस्था राख्ने सबैको चिन्ह सम्झेर मतदान गर्न आग्रह गरे ।

नेपाली काँग्रेसका कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार शुक्रराज शर्माले अहिले आफुले के दिने भन्दा पनि अरुसँग के लिने भन्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘राजनीति गर्ने मान्छेले भोट मात्र लिने हो । अरु कुरा लिनु हुँदैन । तर यहाँ राजनीतिमा लागेका व्यक्तिहरुले विभिन्न कुरा लिएर भ्रष्टाचार गरेको सुनिनु दुर्भाग्यपूर्ण हो ।’ उनले भने । ४ नम्बर प्रदेशको मिडिया सेन्टरको उद्घाटन कास्कीको पोखरामा हुनुले भविष्यमा काँग्रेसको प्रदेशको कार्यालय पनि पोखरामा हुने पुर्वाधार तयार भएको उनको भनाई थियो ।
 
नेपाली काँग्रेसका युवा नेता तथा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसेले कम्युनिष्टहरुको गठबन्धन हुने चर्चाले नै मुलुकमा लगानीको वातावरण घटेको बताए । उनले सोहि चर्चाका कारण शेयर कारोबारमा गिरावट आएको बताउँदै आसन्न निर्वाचनमा कम्युनिष्टहरुको विजय भएमा मुलुकको आर्थिक स्थिती के होला ? भन्ने प्रश्न गरे । ‘नागरिकलाई नेपाली काँग्रेस मन नपर्न सक्छ तर आफ्नो व्यक्तिगत सम्पत्ति र स्वतन्त्रता सबैलाई प्यारो हुन्छ । यसको संरक्षणका लागि पनि नेपाली काँग्रेसको विकल्प छैन ।’ उनले भने।

नेपाली काँग्रेसका समानुपातिकतर्फका उम्मेदवार एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले ६२÷६३ को जनआन्दोलन पछि नेपाली काँग्रेसले ८ सय ४४ दिन, नेकपा एमालेले १ हजार १ सय २३ दिन र माओबादी केन्द्रले १ हजार १ सय ४३ दिन सरकारको नेतृत्व सम्हालेको बताउँदै छोटो समय नेतृत्व लिएको काँग्रेसले नै संविधान निर्माण गर्न र विकासको आधारशिला तयार गर्न सकेको स्पष्ट पारे । विश्वका ४९ मुलुकमा रहेको कम्युनिष्ट शासन अहिले घटेर पाँचवटा मुलुकमा मात्रै सिमित छ । ‘त्यसैले पनि नेपालमा कम्युनिष्टहरुको भविष्य छैन ।’ उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका सदस्य तेजप्रकाश पण्डितले कम्युनिष्टहरुको छलकपटलाई उदांगो पार्नुपर्ने बताए । उनले यो बेलामा मिडिया आक्रामक रुपमा लाग्नुपर्ने कुरामा जोड दिए । नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले पार्टीको पक्षमा माहौल बढाउन मिडिया सेन्टरले भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस प्रदेश नम्बर ४ का मिडिया सेन्टर सँयोजक गंगाधर पराजुलीले आसन्न निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सृजना गर्ने कुरालाई लोकतन्त्रबादी संचारकर्मीहरुले ध्यान दिने विश्वास व्यक्त गर्दै निर्वाचनका क्रममा कर्मचारीहरुको परिचालन, मतदाताको सुरक्षा र मतगणनाका क्रममा हुने अनियमितता रोक्नका लागि काँग्रेस चनाखो हुनुपर्नेमा जोड दिए । कार्यक्रम संचालन नेपाल प्रेस युनियनका गण्डकी अञ्चल संयोजक टंक अधिकारीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ