arrow

डेन्जर जोन हेभिवेट चुनावः प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्रीको यो समिकरण

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
KP-oli-Prachanda-Shre-bdr-deuwa.jpeg

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् । 

निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन् । 

यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ । 
प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । 

देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा छन् । भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए ।  

दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो ।  

तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै  छ ।  

यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो ।  अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् ।  

अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा योपटक ‘डेन्जर जोन’मा देखिएका छन् । 

भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ ।  डडेलधुरामा प्रतिनिधिसभामा छ उम्मेदवार प्रतिस्पर्धामा छन् । 
    
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा छन् । 

नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल छन् । 

दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित भएका हुन् । 

 संविधानसभा सदस्यमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नेता नेपालले उक्त क्षेत्र छाडेका थिए । 
 
पहिलो संविधानसभा (२०६४) मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोरेका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित भएका थिए । 

दुई क्षेत्रबाट निर्वाचित नेपालले कानुनी व्यवस्थाअनुसार काठमाडौँ–२ छाडेका थिए ।  

उक्त स्थानमा भएको उपनिर्वाचनमा काँग्रेसका कुइँकेल विजयी भएका थिए ।  स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् ।  

काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 
 
पूर्वप्रधानमन्त्री झलनाथ खनाल विसं २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित भएका थिए । 

योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । 

खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल हुन् । 

लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा छन् भने कट्टेल पहिलो जितको दौडमा छन् । 

यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ ।  प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी छन् । 
  
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवानेता विश्वदीप लिङ्देनसँग पराजय बेहोरेका थिए । २०७० को निर्वाचनमा भने ओली विजयी भए । 
  
तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।  

ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा खगेन्द्र अधिकारी छन् । शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुगेका हुन् । झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन् । 

जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ ।

काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे प्रचण्डका लागि चुनौती हुन् । 
  
सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वाचित भएका थिए ।  

दोस्रो संविधानसभामा रोल्पा छोडेका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताले जनप्रतिनिधि चुने ।  

योपटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुगेका हुन् । 

एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ ।
 
शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए । 

गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बने ।  दोस्रो संविधानसभा निर्वाचनमा उनले दुई क्षेत्र रोजे ।  रूपन्देही–४ का मतदाताले पराजित गर्दा उनी गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भए ।
   
संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गरे ।  अहिले उनी नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन् । 

भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन् । 
  
भट्टराईका लागि श्रेष्ठ कडा चुनौती हुन् । 

एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि छन् । भट्टराईलाई काँग्रेसको बलियो साथ छ ।  

पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ