arrow

कम्युनिष्टले जिते लोकतन्त्र हार्ने, लोकतन्त्र जित्न कांग्रेसले जित्नुपर्छ : देउवा

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
deuba-nepalgunj.jpg

नेपालगञ्ज(बाँके)। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

“नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन” प्रधानमन्त्री देउवाले भने “नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”

प्रधानमन्त्री देउवाले अहिलेको अवस्था चिन्ताजनक भएको पनि उल्लेख गर्दै भने,“तपाईहरु ढुक्क भएर नबस्नुहोला, यो चुनाव कुनैपनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला । ”

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अधिनायकवादलाई परास्त गर्दै आएको उल्लेख गर्दै भने,“२००७ सालको जनक्रान्तिले राणा शासन फाल्यौ, २०४६ सालको आन्दोलनले पञ्चायत फाल्यौ, २०६२-६३ को आन्दोलनले अधिनायकबादी राजतन्त्र फालेर लोकतन्त्र ल्याएको हो , जनताको अधिकारकालागि लड्ने पार्टी कांग्रेस बाहेक अर्को छैन ।”

उनले निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सिंगो पार्टी एकढिक्का भएर लाग्न पनि निर्देशन दिएका थिए ।उनले नेपालगञ्ज मध्यपश्चिमको केन्द्र रहेको र नेपालगञ्जको माहोलको प्रभाव कर्णालीसम्म पर्ने भएकोले बाँके र यससंग जोडिएका बर्दिया,सुर्खेत,दाङ् सबै जिल्लामा नेपाली कांग्रेसलाई बिजयी बनाउन सम्पूर्ण कार्यकर्ता खट्नु पर्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको सीट घटेको र निर्वाचनमा टिकट दिनुपर्ने योग्य आकांक्षीहरु धेरै भएकोले सबैलाई  टिकट दिन नसकिएको बताउदै पार्टीको नेतृत्वमा सरकार बनेपछि योग्यता,क्षमता र दक्षता हेरी सबैलाई जिम्मेवारी दिइने बताउनु भएको थियो ।

प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्वोधन गरेका थिए । प्रधानमन्त्री देउवाले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेका थिए ।

निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री देउवा मंगलबार पश्चिम नेपालको भ्रमणमा निस्किएका हुन् । नेपाली कांग्रेसले सोमबारदेखि क्षेत्रीय स्तरको मिडिया सेन्टर नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक समारोहकाबीच क्षेत्रीय मिडिया सेन्टरको उद्घाटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ