arrow

प्रचण्डले बाँदरमुढे घटनालाई ‘भूलबस’ भएको भने

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
pm-puspa-kamal-dahal-2017-1.gif

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको समयमा माडीको बाँदरमुढेमा भएको घटनालाई ‘भूलबस’ भएको भनेका छन् । 

चितवनमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले बाँदरमुढे घटनामा दिवङ्गत भएका व्यक्तिका स्मरणमा उद्यान निर्माण गरिने उल्लेख गरेका छन् । 

 ‘समृद्ध माडी, सम्पन्न माडीबासीको सपना’ शीर्षकमा आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरुङ मार्ग वा आकाशे पुल सडकमध्ये एक निर्माण गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

निकुञ्ज क्षेत्र आठ किलोमिटर रहेको छ । माडीमा नै रिउ खोलाको किनारमा बाटो निर्माण गर्ने र निकुञ्जसँग जोडिएका बस्ती क्षेत्रमा पिसिसी वालसहितको मेस जाली जडान गर्ने जनाइएको छ ।

कृषि तथा वन विज्ञान विद्यालय रामपुरमा हाल थोरै संख्यामा रहेको विद्यार्थी कोटालाई बढाएर अहिलेको भन्दा दशौँ गुणा बढी विद्यार्थीहरु पढ्न सक्ने क्षमतामा विकास गरिने दाहालको प्रतिबद्धता पत्रमा जनाइएको छ । 

कृषि क्रान्तिको प्राविधिक नेतृत्व गर्न सक्षम जनशक्ति विश्वविद्यालयमार्फत निर्माण र परिचालन गरिने प्रतिबद्धतामा उल्लेख छ । सोही विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गरिनेछ ।

प्रतिबद्धतापत्रमा सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, माडी कलेज र सहिद स्मृति कलेजसँगको सहकार्यमा पब्लिक विश्वविद्यालय स्थापना गरिने जनाइएको छ ।

पश्चिम चितवनको शारदानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण गरिने, जिल्लामा अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन उद्यान निर्माण गरिने र चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गर्ने प्रतिबद्धतामा जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज, ताल तलैया, सामुदायिक वन, कृषि तथा जडीबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदमार्ग, साहसिक पर्यटनलगायतको विकास तथा प्रवद्र्धन गर्दै प्रस्तावित रेल, सडक सञ्जाल तथा विमानस्थलको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

देवघाट तथा मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न गुरु योजना तयार गर्ने र देवघाट क्षेत्रको संरक्षण, पुनःनिर्माण, देवघाट धामको प्रवद्र्धन, विद्युतीय शव गृह तथा वृद्धाश्रमको निर्माण गरी त्यसको संरक्षण र विकास गरिने प्रतिबद्धतामा उल्लेख छ । 

मेडिकल सिटीका रुपमा विकसित चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेज बनाइने प्रतिबद्धता उनको छ । 

दाहालले जिल्लाका सातवटै स्थानीय तहको योजनाको स्वामित्व लिई ती योजना लागू गर्न सहयोग र नेतृत्व गर्ने पनि जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ