arrow

सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक

logo
अजितकुमार झा 
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
sunsari.png

इनरुवा । सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरु व्यस्त भएका हुन् । 

यहाँ नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त भएको पाइएको छ । 

सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेशसभा तर्फ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका जिल्ला सभापति राजीव कोइरालाले सदरमुकाम इनरुवा क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । 

कोइरालाले बिहानैदेखि इनरुवा क्षेत्रका विभिन्न वडामा घरदैलो तथा भोट माग्ने कार्यक्रम गरेका हुन् ।  

नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कोइराला र उम्मेदवारी दर्ता हुनुभन्दा एक दिन अगाडिसम्म पार्टीको उपसभापति रहेका रामप्रसाद मेहता नै आमने सामने भएपछि यो क्षेत्र चुनावी चर्चाको शिखरमा पुगेको हो । 

त्यही कुरालाई मध्यनजर गरेर काँग्रेसका उम्मेदवार कोइरालासहित काँग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त बनेको युवा नेता सन्तोष शर्माले जानकारी दिए । 

कोइरालाको घरदैलो कार्यक्रममा सयौं कार्यकर्ता तथा जिल्ला नेताको साथ रहेको छ । उता काँग्रेस त्यागेर एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका रामप्रसाद मेहताले पनि इनरुवा–९ बबियामा छलफल तथा अन्तरक्रिया र घरदैलो कार्यक्रम गरेका छन् ।  

स्थानीय एमाले नेता हबिब मन्सुरीको घरमा बबिया क्षेत्रका नेता कार्यकर्तालाई डाकेर मेहतालाई जिताउन अपिल गरिएको बताइएको छ । 

उता संघीय समाजवादी फोरम नेपालका उम्मेदवार नारायण यादवले समेत प्रचारप्रसार तथा घरदैलोलाई निरन्तरता दिएका छन् । 

यादवले फोरम नेपालको क्षेत्र सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (ख) पकड क्षेत्र भएकाले कोइराला र मेहताभन्दा आफू अब्बल रहेको भन्दै घरदैलोलाई निरन्तरता दिएको युवा नेता अभिनन्द यादवले जानकारी दिए । 

सुनसरी—२ मा थारुहरुको मत निर्णायक 

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा थारु समुदायको मत निर्णायक हुने देखिएको छ । यस क्षेत्रमा थारु मतदाता मात्रै १८ हजारभन्दा बढी रहेकाले थारु समुदायको मत निर्णायक हुने देखिएको हो । 

चुनावी प्रचारप्रसार घरदैलो कार्यक्रम तीव्र पारिएको बेला यो क्षेत्रमा थारुहरुको मत निर्णायक देखिएको उम्मेदवारले बताएका छन् । यस क्षेत्रबाट संघीय समाजवादी फोरमबाट एक मात्र थारु समुदायका उम्मेदवार तेजनारायण चौधरीको उम्मेदवारी रहेको र थारु समुदायले स्थानीय तहको निर्वाचनमा इटहरी र रामधुनीमा देखाएको सहानुभूति कायम रहे चौधरीले जित्न सक्ने थारु अगुवा तथा बुद्धिजीवीले बताएका छन् । 

चौधरी यो क्षेत्रबाट उम्मेदवार रहेकामध्ये सबैभन्दा बढी शिक्षित, अधिकार र पहिचानको मिसन, भिजन भएको, विकास निर्माणको खाका भएको उम्मेदवार भएकाले जित्ने थारु कानून व्यवसायीहरुले तर्क गरेका छन् । 

यो क्षेत्रमा मेहता समुदायको पनि मतले पनि त्यतिकै महत्व राखेको देखिएको छ । यहाँ मेहता समुदायबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा सीताराम मेहता र राजपाबाट मुन्नादेवी मेहतासहितका दुईजना प्रभावशाली नेता उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

मेहता समुदायको एकतामा कुनै कमजोरी नभए काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीताराम मेहता र प्रदेशसभाका एमाले उम्मेदवार रामप्रसाद मेहताले जित्ने मेहता समुदायका बुद्धिजीवीको ठम्याइरहेको छ । 

तर वाम गठबन्धनका सुनसरी—२ प्रतिनिधिसभा उम्मेदवार डम्बर सुवेदी (हिमाल) ले मेहता समुदायको मत विभाजन हुँदा जित्ने आधार रहेको एमाले— माओवादी केन्द्र गठबन्धनको दाबी रहेको छ । 

हिमाल विकास प्रेमी भएको र साविकमा काँग्रेसका कारण इनरुवादेखि दक्षिणी क्षेत्रको विकास नभएकाले वाम गठबन्धनकै जित हुने स्थानीय लेखराज दंगालको तर्क छ । 

यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ